close

दशैंमा ईभी लिएर जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् एनईएका चार्जिङ स्टेसनमा चार्ज गर्ने तरिका

टेकपाना टेकपाना

कात्तिक १, २०८० १२:३२

दशैंमा ईभी लिएर जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् एनईएका चार्जिङ स्टेसनमा चार्ज गर्ने तरिका

काठमाडौं । पेट्रोलियम पदार्थमा भइरहेको लगातारको मूल्य वृद्धि र प्रविधिको विकासले गर्दा विद्युतीय गाडीप्रति आम मानिसहरूको आकर्षण बढ्दो छ । पछिल्ला केही वर्षमा आईसी इन्जिन भएका गाडी छोडेर विद्युतीय गाडीमा स्थानान्तरण हुनेहरूको सङ्ख्या थुप्रै छ ।

यदि तपाईंले पनि भर्खरै विद्युतीय गाडी लिनु भएको छ भने सम्भवतः नियमित रूपमा घरकै एसी चार्जर प्रयोग गरिरहनु भएको होला । अर्को कुरा विद्युतीय गाडी लामो यात्रामा लैजाने मेसो पनि नजुरेको हुन सक्छ ।

यस्तोमा डीसी चार्जिङ स्टेसन उपलब्ध रहेका स्थान र त्यसलाई प्रयोग गर्ने तरिका थाहा नहुनु स्वाभाविक नै हो । त्यसैले आज हामी दशैं बिदामा आफ्नो ईभी लिएर लामो दूरीको यात्रामा निस्किन चाहनेहरूको सहजताका लागि यो सामग्री तयार पार्दै छौं ।

कहाँ-कहाँ छन् चार्जिङ स्टेसन ? 

विभिन्न विद्युतीय सवारी साधन कम्पनीहरूले देशका अनेक स्थानमा आ-आफ्नै चार्जिङ स्टेसन बनाएका छन् । यद्यपि नेपाल विद्युत् प्राधिकरणले सञ्चालनमा ल्याएका चार्जिङ स्टेसन सबैभन्दा महत्त्वपूर्ण छन्  ।

प्राधिकरण अन्तर्गत देशभर विभिन्न स्थानमा ५१ ओटा चार्जिङ स्टेसन सञ्चालनमा छन् ।  जहाँ सीसीएस र जीबीटी स्ट्यान्डर्डका चार्जरहरू राखिएका छन् । साथै प्रत्येक चार्जिङ स्टेसनमा ७ किलोवाट आवरको एसी चार्जर समेत पाउन सकिन्छ ।
 

क्र. सं.

चार्जर रहेका स्थान

सङ्ख्या

१.

बिर्तामोड बसपार्क, झापा

२.

दमक चार्जिङ केन्द्र, झापा

३.

विराटनगर बसपार्क, मोरङ

४.

इनरुवा बसपार्क, सुनसरी

५.

बेलका चार्जिङ केन्द्र, उदयपुर

६.

प्रहरी कल्याण कोष पेट्रोल पम्प, कदमाहा, सप्तरी

७.

हरिवन रिफ्रेश सेन्टर, सर्लाही

८.

इलाका प्रहरी कार्यालय, निजगढ, बारा

९.

हेटौँडा चार्जिङ सेन्टर, रातमाटे, मकवानपुर

१०.

पारस बसपार्क, चितवन

११.

मुग्लिन पुल, चितवन

१२.

इलाका प्रहरी कार्यालय, खानीखोला, धादिङ

१३.

साझा सेवा, बल्खु काठमाडौं

१४.

साझा यातायात, ललितपुर

१५.

साझा सेवा, बनेपा

१६.

नेपाल पुलिस क्लब, काठमाडौं

१७.

नेपाल विद्युत् प्राधिकरण, काठमाडौं

१८.

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, बुटवल, रूपन्देही

१९.

इलाका प्रहरी कार्यालय बर्दघाट, नवलपरासी

२०.

भैरहवा बसपार्क रूपन्देही

२१.

इलाका प्रहरी कार्यालय, गोरुसिङ्गे, कपिलवस्तु

२२.

लमही नयाँ बसपार्क, दाङ

२३.

नेपाल एपीएफ स्कुल, कोहलपुर, बाँके

२४.

सशस्त्र प्रहरी बल, वैद्यनाथ वाहिनी, कैलाली

२५.

नयाँ बसपार्क, सुर्खेत

२६.

पर्यटक बसपार्क, पोखरा, कास्की

२७.

लेकसाइड कास्की

२८.

बसपार्क र हावा घर, नुवाकोट

२९.

सिन्धुलीगढी बसपार्क, सिन्धुली

३०.

खुर्कोट रिफ्रेश सेन्टर, सिन्धुली

३१.

इलाका प्रहरी कार्यालय, बर्दिवास, महोत्तरी

३२.

सशस्त्र प्रहरी बल, शैलेश्वरी, कञ्चनपुर

 

जम्मा

५१


प्राधिकरणको चार्जिङ स्टेसनमा कसरी गर्ने चार्ज ?

‘म्यानलेस’ अर्थात् मानवरहित प्राधिकरणका चार्जर तपाईं आफैंले गाडीमा जोड्नुपर्ने हुन्छ । त्यस बाहेक चार्ज गर्ने प्रक्रिया समेत तपाईंले थाहा पाउन जरुरी हुन्छ । किन कि चार्जर भएका ठाउँमा तपाईंलाई सघाउने कोही पनि नहुन सक्छ । 

  • सबैभन्दा पहिला आईफोनका लागि यहाँ क्लिक अथवा एन्ड्रोइडका लागि यहाँ क्लिक गरी एनईए चार्ज नामक एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुहोस् । ‘नेक्स्ट’ गर्दै ‘गेट स्टार्टेड’ लेखिएको बटनमा थिच्नुहोस् । एपको होम पेजमा पुगिसकेपछि तपाईंले त्यहाँ एनईए चार्जर रहेका सम्पूर्ण स्थान र त्यहाँसम्म पुग्ने गुगल नेभिगेसन समेत प्राप्त गर्न सक्नु हुन्छ । 

  • त्यसपछि एप खोल्नुहोस् र खाता खोल्न तल दायाँ कुनामा रहेको अकाउन्ट आइकनमा जानुहोस् । 

  • अब माथि ‘क्लिक हेयर टु साइन इन’ लेखिएको स्थानमा थिचेर त्यहाँ भित्र रहेको ‘साइन अप’ मा दबाउनुहोस् र आफ्नो ईमेल, मोबाइल नम्बर राखेर भेरिफिकेसनका लागि ‘सेन्ड ओटीपी’ मा थिच्नुहोस् । 

  • प्राप्त ओटीपी कोड राखेपछि नयाँ पासवर्ड तयार पार्नुहोस् र ‘टर्म्स एण्ड कन्डिसन’ मा टिक लगाएर ‘नेक्स्ट’ बटन थिच्नुहोस् ।  

  • त्यसपछि आफ्नो युजरनेम, नाम, जन्ममिति लगायतका विवरण राखेर साइनअप गर्नुहोस् । 

  • अकाउन्ट खोलिसकेपछि अब तपाईंले आफ्नो एनईए चार्जर एप टपअप गर्नुपर्न हुन्छ र उक्त टपअप रकमबाटै तपाईंको गाडीले खपत गरेको चार्जको बिल काटिने गर्छ । 

  • टपअप गर्न तल पुछारमा दायाँतर्फबाट दोस्रो विकल्पको रूपमा रहेको भौचरमा थिच्नुहोस् र टु चार्जभित्र जानुहोस् । 

  • अब त्यहाँ तल टप-अप लेखिएको स्थानमा थिच्नु भयो भने ईसेवा र खल्ती डिजिटल वालेटबाट टपअप गर्ने विकल्प देखा पर्छ । 

  • त्यहाँ रिचार्ज ब्यालेन्स अन्तर्गत टपअप गर्न चाहेको रकम रकम उल्लेख गर्नुहोस् र ईसेवा वा खल्ती मध्ये जुन वालेट प्रयोग गर्न चाहनु हुन्छ, त्यसलाई छानेर अन्तिममा रहेको टप-अप बटन थिच्नु होस् र अर्को पेजमा गएर ‘ओके’ बटनमा दबाउनु होस् । 

  • यति गरिसकेपछि तपाईंको कारोबारको विवरण भरिएर आउँछ, त्यहाँ आफ्नो वालेटको आईडी तथा पासवर्ड राखेर लगइन गर्नुहोस् र एनईए चार्जर एप टपअप गर्नुहोस् । 

  • अब प्राधिकरणको चार्जर झिकेर आफ्नो गाडीमा जोड्नुहोस् । 

  • राम्रोसँग कनेक्ट भइसकेपछि चार्जरको स्क्रिनमा एउटा क्यूआर कोड देखा पर्छ । एनईए चार्जर एपमा तल बीच भागमा रहेको स्क्यानर खोलेर स्क्यान गर्नुहोस् । 

  • यति गरेपछि तपाईंको गाडी चार्ज हुन थाल्छ र त्यसमा लागेको शुल्क अघि टपअप गरेको ब्यालेन्सबाट आफैं काटिंदै जान्छ ।  

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८० १२:५२