close

दशैंमा बसको अनलाइन टिकेट पाउनै मुस्किल

टेकपाना टेकपाना

कात्तिक २, २०८० २१:०

दशैंमा बसको अनलाइन टिकेट पाउनै मुस्किल

 

काठमाडौं । दशैंको समयमा राजधानीबाट देशका विभिन्न स्थानमा जानेहरू टिकेट लिन बस काउन्टरमा लामा लामा लाम लाग्न बाध्य छन् । विकल्प ठानिएका सीमित अनलाइन माध्यममा टिकेट उपलब्ध नहुँदा बस काउन्टरको सास्ती खेप्न विवश हुनु परेको छ । 

बस सेवाले केही वर्षयता बस टिकेटिङ प्रणालीलाई अनलाइनमा उपलब्ध गराउने प्रयास गरिरहेको छ । तर, उक्त प्लेटफर्मबाट चाडपर्वका समयमा पनि लामो दुरीका बस टिकेट पाउनै सकस छ । 

पश्चिम धनगढी, लुम्बिनी, नेपालगन्ज, भुरिगाउँ, सुर्खेत, पूर्वमा झापा, बिराटनगर, इलाम जस्ता ठाउँका लागि त अनलाइनमा दशैं अघि कुनै पनि सिट उपलब्ध छैनन् । कतिपयमा सिट उपलब्ध भए पनि अन्तिमतिरका मात्र छन् । 

तर भौतिक रूपमा टिकेट काउन्टरमा भने यातायात व्यवसायीले यात्रुलाई टिकेट मिलाइदिने गरेका छन् ।  

अनलाइन र अफलाइनमा टिकेट वितरणका छुट्टाछुट्टै तरिका छन् । अनलाइन बस टिकेटिङ प्लेटफर्म बस सेवाका सीईओ पीआर खनालका अनुसार कतिपय समितिले पूर्ण रूपमा बस सेवाको प्रविधि अपनाएका छन् । 

जसले गर्दा प्रायः सबै टिकेट अनलाइनमा आधारित छन् । तर, कोही टिकेट लिन काउन्टरमा पुगेका छन् भने पनि ती काउन्टरका कर्मचारीले उनीहरूबाट रकम लिएर बस सेवाबाटै टिकेट काटिदिन्छन् । 

“त्यस्तोमा कोटा माग्नु पर्दैन,” उनी भन्छन्, “केही समितिका काउन्टरमा टिकेट म्यानुअल्ली काट्ने प्रचलन छ । त्यस्तोमा उनीहरूले अनलाइनका लागि कोटा छुट्याएका हुन्छन् । कोटा अनुसार सिट उपलब्ध हुने गाडीमा पहिले अन्य सिट प्याक भएको देखिन्छ । कोटाका सिट मात्र खाली हुन्छन् ।”

यसैगरी केही समितिले अनलाइन र अफलाइनका लागि छुट्टाछुट्टै गाडी छुट्याएका हुन्छन् । जसले गर्दा अनलाइन टिकेट बुकिङ गर्नेहरू सबै एउटै गाडीमा हुन्छन् भने अर्को गाडीमा बस काउन्टरमै पुगेर टिकेट काट्नेहरू हुने खनालको भनाई छ । 

अनलाइनमा टिकेट काट्न सजिलो भए पनि पाउन किन गाह्रो ? 

अनलाइनबाट बसको टिकेट पाउनै मुस्किल, पाए पनि प्रायः अन्तिममा सिटहरू मात्र बाँकी रहेको देखिन्छ । यस्तोमा धेरैलाई समितिले अनलाइनमा पछाडिका मात्र सिट उपलब्ध गराउने हो कि भन्ने लाग्नु स्वभाविक नै हो । 

खनाल भन्छन्, “बसको कोटा छुट्याउने बेला एउटा छेउतर्फका छुट्याएको हुन्छ । अगाडिका प्रायः सिट पहिल्यै बुक हुँदा बाँकी रहने भनेकै प‍छाडिका सिट हुन् । त्यसैले कोटा छुट्याउँदा पछाडिको मात्र छुट्याउँछ कि भन्ने भ्रम गलत हो ।”

जति कोटा तोकिएको हुन्छ, त्यो प्याक भइसकेपछि यात्रुको चाप बढी छ भने अर्को गाडी तयार पार्ने व्यवस्था रहेको समेत खनाल बताउँछन् । “धेरै प्रयोगकर्ताले एउटै रुटको गाडी खोजिरहेका छन् र गाडी भेटिएन भने हामी डेटा विश्लेषण गरी जहाँ माग बढी छ, त्यो रुटमा गाडी तयार पारेर यात्रुलाई नोटिफिकेसन पठाउँछौं,” उनी भन्छन्, “तत्कालै भौतिक गाडी जस्तो अनलाइनमा गाडी तयार पार्न नसक्दा यात्रुलाई गाडी पाउन गाह्रो भइरहेको हुनसक्छ ।”

अनलाइनभन्दा काउन्टरमा गएर टिकेट लिंदा प्रायः यात्रुले टिकेटको मूल्य घटाउन वा बार्गेनिङ गर्न सक्छन् । त्यही सुविधा अनलाइनमा नहुँदा पनि यात्रुहरू अनलाइन टिकेट लिन सकिने प्रणालीतिर आकर्षित नभएका हुन् कि भन्ने जस्तो पनि देखिन्छ । यो विषयमा खनाल भने सबै ठाउँमा सिस्टमले कन्ट्रोल गर्दा  अनलाइन र अफलाइन टिकेटिङ सिस्टमले समान ढङ्गले काम गर्न सक्ने बताउँछन् । 

पछिल्लो अध्यावधिक: कात्तिक २, २०८० २१:०