काठमाडौं । तुलनात्मक रुपमा दशैंमा अलि लामो छुट्टि हुन्छ । फुर्सद हुन्छ । आफन्त, साथीभाइ र परिवारसँग बस्ने, रमाइलो गर्ने त छँदै छ । त्यसबाहेक यसमा खाली समय पनि धेरै हुन्छ । त्यो समयमा तपाईं या चलचित्र हेर्न सक्नुहुन्छ या कुनै राम्रो पुस्तक हेर्न सक्नुहुन्छ । आज भने हामी यो चाडवाडको समयमा हुने खाली समयमा हेर्नै पर्नै नेपाली १० चलचित्रबारे जानकारी दिँदै छौं:
१. नुमाफुङ (२००१)
सन् २००१ मा प्रदर्शनीमा आएको यो चलचित्र लिम्बु समुदायको कथामा आधारित छ । नविन सुब्बा निर्देशित यस चलचित्रले लिम्बु समुदायको संस्कृति र परम्परालाई चित्रण गर्दछ । यो चलचित्र तेह्रौँ फिनिस आदिवासी चलचित्र महोत्सवमा समेत प्रदर्शन गरिएको थियो । चस चलचित्रले दुईवटा अन्तर्राष्ट्रिय अवार्ड समेत जितेको छ ।
सन् २००३ मा बंगलादेशको ढाकामा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा रनर अप र फ्रान्समा भएको बिजुल अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभलमा अडियन्स च्वाइस अवार्ड जितेको छ ।
चलचित्रमा एउटा गाउँले नेपाली किशोरी नुमा (अनुपमा सुब्बा)को संघर्षलाई देखाइएको छ । जुन नेपालका अन्य धेरै किशोरीहरूको कथा हो । आफ्नो व्यक्तिगत आकांक्षा र सांस्कृतिक रीतिरिवाजहरूमा कसरी एउटा किशोरी रुमलिन्छे भन्ने कथा यसमा देखाइएको छ । यो चलचित्रलाई धेरै चलचित्र समीक्षकहरूले उत्कृष्ट नेपाली चलचित्र भएको बताएका छन् ।
चलचित्रमा अनुपमा सुब्बा, निवाहङ्मा लिम्बु, प्रेम सुब्बा, आलोक नेम्वाङ र रमेश सिंहकको मुख्य भूमिका रहेको छ । लिम्बु समुदायको कथा बुझ्न यो चलचित्रले पक्कै सहयोग गर्छ । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।
२. हरि (२०१८)
व्यावसायिक रूपमा सफल हुन नसके पनि कलात्मक पक्षहरूको कारण यो चलचित्र उत्कृष्ट भएको बताउने समीक्षकहरूले संख्या धेरै छ । चलचित्रले एउटा कट्टर धार्मिक र अन्धविश्वासी अधवैसे पुरुषको कथा भन्छ ।
विपिन कार्की अभिनित यो चलचित्र साइकेडेलिक थ्रिलर विधामा पर्छ । चलचित्रमा हरि भनेर बढी बोलाइने विष्णु हरि (विपिन कार्की) छन्, उनले आफ्ना बुबा, हजुरबुबा र पार्वती भनेर चिनिने आमाले राखेका सबै नियमहरू एकएक पालना गर्ने गर्छ ।
तर एक दिन आकाशमा उडिरहेको एउटा चराले अचानक उसको शरीर दिशा गरिदिन्छ । त्यसपछि त्यो वरदान हो कि अभिशापको भनेर थाहा पाउन उ लागि पर्छ । त्यस क्रममा उसले भोगेको घटनाहरूमा नै चलचित्रको कथा बगेको छ ।
सन् २०१८ मा प्रदर्शनमा आएको चलचित्रलाई प्रतिक गुरुङ र सफल केसीले निर्देशन छन् । त्यस्तै कमल मणि नेपाल, सुनिता ठाकुर रथिन्ले ल्हामो आदि कलाकारको अभिनय रहेको छ । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।
३. झोला (२०१३)
लेखक कृष्ण धरावासीको झोला नामको उपन्यासमा आधारित भएर यो चलचित्र बनाइएको छ । मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्नु पर्ने सती प्रथाको कथा नै चलचित्रको मेरुदण्ड हो । चलचित्रलाई यादव कुमार भट्टराईले निर्देशन गरेका छ्न् । यस चलचित्रलाई ८७ औँ एकेडेमी पुरस्कारको लागि पठाइएको थियो ।
साथै आफ्नो भूमिकाको लागि अभिनेत्री गरिमा पन्तले सन् २०१४ मा सार्क चलचित्र फेस्टिबलमा सर्वोत्कृष्ट अभिनेत्रीको जितेकी थिइन् । चलचित्रमा नायिका पन्तसँगै देशभक्त कटुवाल, सुजल नेपाल, लक्ष्मी गिरी लगायतको अभिनय रहेको छ । नेपालीको ऐतिहासिक प्रथाबारे बुझ्न यस चलचित्रले सहयोग गर्छ । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।
४. दास ढुङ्गा (२०१०)
नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’का तात्कालिन महासचिव मदन भण्डारीको रहस्यमय मृत्युको सत्य घटनामा आधारित भएर दास ढुङ्गा बनाइएको छ । चलचित्रमा २०५० जेठ ३ मा चितवनको दासढुंगामा भएको जिप दुर्घटनासम्बन्धी कथा समेटिएको छ । यो चलचित्र सोही घटनासम्बन्धी विभिन्न आयोगले सन् १९९३-५-१७ को अवधिमा पेस गरेको प्रतिवेदनमा आधारित छ ।
मनोज पण्डित निर्देशित चलचित्रमा सौगात मल्ल, अनुप बराल, संचिता लुइँटेल, दयाहाङ राई, विश्व बस्नेत लगायतको अभिनय रहेको छ । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।
५. कागबेनी (२००८)
कागबेनी सन् २००८ को नेपाली चलचित्र हो । बेलायती लेखक डब्ल्यू.डब्ल्यू. जेकब्सको छोटो कथा ‘द मोन्कीज प्वा’मा आधारित रहेर बनाइएको छ । यस चलचित्रले नेपाली चलचित्रलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरेको बताइन्छ । त्यस्तै सफल हुने पहिलो नन् कर्मशल चलचित्र पनि मानिन्छ । साथै चलचित्रको सिनेम्याटोग्राफीलाई पनि निकै प्रशंसा गर्ने गरिन्छ ।
वर्षौं नभेटेका साथीहरू कृष्ण (निमा रुम्बा) र रमेश (सौगात मल्ल) को भेट पछि केके हुन्छ भन्ने कुरा नै चलचित्रमा देखाइएको छ । पत्रकार भूषण दाहाल निर्देशित ‘कागबेनी’ एउटा होरर चलचित्र हो । चलचित्रमा दिया मास्के, पूजा गुरुङ, विवेक गुरुङ, हनिफ मोहम्मद आदिको अभिनय रहेको छ । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।
६. बलिदान (१९९७)
‘गाउँ गाउँबाट उठ…’ यो गीत पक्कै सुन्नु भएको होला । यही गीत संलग्न चलचित्र हो, बलिदान । पञ्चायत व्यवस्था विरुद्ध लडेका व्यक्तिहरूको कथा यस चलचित्रले भनेको छ ।
तुलसी घिमिरेद्वारा निर्देशित यो चलचित्र चलचित्रमा सन् १९९७ मा प्रदर्शनमा आएको थियो । तर नेपालको कम्युनिष्ट आन्दोलन देखाएको भन्दै राजा ज्ञानेन्द्रको सरकारले यो चलचित्रलाई सन् २००५ मा प्रतिबन्ध समेत लगाएको थियो। लोकतन्त्र पुनर्बहाली गर्दाको समय बुझ्न यो चलचित्र पक्कै सहयोगी हुन्छ ।
चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाह, अञ्जली लामा, शान्ति मास्केको अभिनय रहेको छ । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।
७. आदिकवित भानुभक्त (१९९९)
नेपालको आदिकवि भानुभक्तको जीवनीमा आधारित भएर यस चलचित्र बनाइएको छ । यादव खरेलद्वारा निर्देशित यस चलचित्रमा बाल्यकाल, किशोर र युवावस्थाको भानुभक्त देखाइएको छ । भानुभक्तको साहित्यिक यात्राको बारेमा बुझ्न, त्यस समयको अवस्था बुझ्न यो चलचित्रले निकै सहयोग गर्छ । चलचित्रमा दिलिप रायमाझीले भानुभक्तको भूमिका निभाएका छन् । यो उनको पहिलो चलचित्र पनि हो । उनी बाहेक कमलमणि दीक्षित, गोपाल नेपाल, बिक्की शाह, सुवर्ण श्रेष्ठ र अनिता सिलवालले चलचित्रमा भूमिका निभाएका छन् । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।
८. बधशाला (२०१३)
लेखक जीतमान बस्नेतको ‘अँध्यारा २५६ दिनहरु’ नामक पुस्तकमा आधारित रहेर यस चलचित्र बनाइएको छ । यो चलचित्रले १० वर्षे माओवादी शसस्त्र जनयुद्धताकाको कथा देखाएको छ ।
त्यस समय नेपाली सेनाले माओवादीका नाममा जनतालाई कसरी दुःख दिएको थियो भन्ने पक्ष उजागर गरिएको छ । चलचित्रलाई केही समयका लागि नेपालमा प्रतिबन्ध समेत लगाइएको थियो । तर, निर्माताहरूले केही दृश्य हटाए पनि भने प्रदर्शनको लागि अनुमति दिइएको थियो । मनोज पण्डितले निर्देशित यो चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अनुप बराल, अर्पण थापा लगायतले अभिनय गरेका छन् । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।
९. तान्द्रो (२०१६)
माओवादीले शसस्त्र आन्दोलन चलाइरहेको समयमा साँस्कृतिक कार्यक्रम पनि गर्थ्यो । उसले त्यस्तै खालको कार्यक्रम २०६० चैत २८ गते लमजुङको छैलुङ गाउँमा गरिरहेको थियो । तर उनीहरूलाई सरकार पक्षका सुरक्षा फौजले आक्रमण गर्यो । आक्रमणमा उक्त टोलीका नेता गंगाबहादुर लामालाई घुँडामा गोली लाग्यो ।
त्यसपछि उनले पाँच दिनसम्म सोही गाउँमा छटपटाउन परेको थियो । ‘तान्द्रो’ मा त्यही घटना देखाइएको छ । साम्तेन भुटियाले निर्देशन गरेको यो चलचित्र उनै लामाले लेखेको पुस्तक ‘स्मृतिका दोभारु’मा आधारित छ ।
यो चलचित्र ढाकामा १९औँ अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभलमा छनोट भएको थियो । चलचित्रमा चलचित्रमा दयाहाङ राई, मणिराम पोखरेल, रामबाबु गुरुङ, बुद्धि तामाङ आदिको अभिनय हेर्न पाइन्छ । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।
१०. मुकुण्डो (२०००)
यस चलचित्रले एउटा दम्पतीको कथा भन्छ । आफ्नो बच्चा गुमाएपछि उनीहरू आध्यात्म तिर ढल्कन्छन् । त्यसपछि उनीहरूले के के गर्छन्? के के हुन्छ? चलचित्र यिनै कुराहरूको वरीपरी रहेको छ ।
‘मुकुण्डो’लाई ७३ औँ एकेडेमी अवार्डमा (ओस्कर) मा नेपालबाट पठाइएको थियो । साथै सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भ्यानकुभर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, गोटेबोर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, फ्राइबोर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जस्ता धेरै प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रदर्शन भएको थियो ।
समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाएको यस चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, रतन सुवेदी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।