close

दशैं विदामा निःशुल्क पढ्नुहोस् यी १० नेपाली ई-बुक

टेकपाना टेकपाना

कात्तिक ७, २०८० ९:५३

दशैं विदामा निःशुल्क पढ्नुहोस् यी १० नेपाली ई-बुक

काठमाडौं । ‍पठन संस्कृतिमा ई-बुक अर्थात् डिजिटल पुस्तक नयाँ विधिमा पर्छ । तर पछिल्लो समय सहजता, शुल्क आदिका कारण ई-बुक नयाँ रोजाइ बन्दै गइरहेको छ । यदि तपाईंले यो चाडबाढमा भौतिक पुस्तक किन्न पाउनु भएन वा समय भएन भने ई-बुकलाई विकल्प बनाउन सक्नुहुन्छ । हुन त नेपालमा ई-बुक पाउने त्यस्तो राम्रो विकल्प छैनन् । तर ई-पुस्तकालय, थुप्रै डट कम आदिले यस क्षेत्रमा काम भने गरिरहेका छन् । यदि तपाईंले हालै आएका पुस्तकहरू ई बुकम रुपमा पढ्नु छ भने थुप्रै डट कममा जान सक्नुहुन्छ । त्यहाँ भौतिक पुस्तकको तुलनामा केही कम शुल्कमा ई बुक खरिद गर्न पाइन्छ । आज भने हामी तपाईंलाई नि: शुल्क पढ्न पाइने दश वटा ईबुकबारे जानकारी दिँदै छौं ।

१. राष्ट्रकवि माधव घिमिरे (जीवनी)

राष्ट्र प्रेमलाई बडो कलात्मक तरिकाले साहित्यमा उतारेर व्याकुल बनाउने कविको जीवन कसलाई पढ्न मन नहोला ! २०६१ सालमा गण्डकी सामाजिक गुठीले बजारमा ल्याएको हो भने यो पुस्तक डा. शैलेन्दुप्रकाश नेपालले लेखेका हुन् । किताबमा राष्ट्रकवि घिमिरेको बाल्यकाल, शिक्षा, जीवनका आरोहअवरोह, उनको व्यक्तित्व आदिबारे चर्चा गरिएको छ । समग्रमा राष्ट्रकवि माधव घिमिरेलाई बुझ्न पढ्नै पर्ने एउटा पुस्तक  हो यो ।  डिजिटल माध्यममार्फत यो पुस्तक पढ्न यहाँ क्लिक गर्नुहोस् ।  

२. चम्पा (उपन्यास)

महाकवि लक्ष्मीप्रसाद देवकोटा मुलत: कविता र निबन्धले चिनिएका छन् । तर महाकवि देवकोटाले साहित्यका धेरै विधामा कलम चलाएका छन् । त्यस्तै चम्पा उनले लेखेको उपन्यास हो । जुन कतिपयलाई थाहा नहुन सक्छ । महाकवि देवकोटाले उपन्यासमा १२ वर्षीया चम्पाको जीवनलाई वर्णन गरेका छन् । उपन्यासमा चम्पाले रमाकान्तसँग विवाह गरेकी छिन् । तर आत्मनिर्भर भएर घरमा बस्न नसकेर उनी भाग्छिन् ।  त्यसपछिको कथा  उपन्यासमा बढेको छ ।  डिजिटल माध्यममार्फत यो पुस्तक पढ्न यहाँ क्लिक गर्नुहोस् ।

३. रमाइला गाउँखाने कथा (लोक साहित्य)

नेपाली भाषाको मौलिकता गाउँ खाने कथा हुन् । तर आजभोलि धेरैले यसलाई बिर्सँदै गइरहेका छन् । फुर्सदिलो समयमा गाउँघरतिर खेल रूपमा गाउँ खाने कथा खेलिन्छ । यो पुस्तकमा गाउँ खाने कथाहरू संग्रह गरिएको छ । अहिलेको समयमा तपाईंले पुराना त्यस्ता कथा पढ्न चाहनु हुन्छ भने यो पुस्तक उपयोगी हुन सक्छ । डिजिटल माध्यममार्फत यो पुस्तक पढ्न यहाँ क्लिक गर्नुहोस् ।  

४. चार गजलकार उत्कृष्ट गजल (गजल) 

नेपाली गजल मन पराउने अनुरागीका लागि यो एउटा खुराक हुन सक्छ । किनकी यसमा नेपाली गजलमा योगदान पुर्‍याउने महत्वपूर्ण गजलकार मनु ब्राजाकी, बूँद राना, रवि प्राञ्जल र ललिजन रावलका गजल संग्रह गरिएको छ । बीएन पुस्तक संसारले यो पुस्तकलाई बजारमा २०६८ सालमा ल्याएको थियो।  डिजिटल माध्यममार्फत यो पुस्तक पढ्न यहाँ क्लिक गर्नुहोस् ।

५. घुम्ने मेचमाथि अन्धो मान्छे (कविता)

नेपाली कविताको क्षेत्रमा यो पुस्तक निकै महत्त्वपूर्ण मानिन्छ । यस पुस्तकमा सङ्ग्रहित कविता अहिले पनि उत्तिकै शक्तिशाली र सान्दर्भिक छन् । कविता पढ्न रुचाउने व्यक्तिले यो छुटाउनै नहुने पुस्तक हो । गद्य कविताका प्रख्यात नेपाली कवि भूपि शेरचनद्वारा लिखित यो पुस्तकलाई साझा प्रकाशनले बजारमा ल्याएको थियो । त्यस्तै वि.सं. २०२५ सालमा मदन पुरस्कार समेत प्राप्त गरेको थियो । डिजिटल माध्यममार्फत यो पुस्तक पढ्न यहाँ क्लिक गर्नुहोस् ।

६. समाज परिवर्तनमा संस्कृतिकर्मी (गैर-आख्यान)

गैर-आख्यान यस पुस्तकमा समाज परिवर्तनको लागि संस्कृतिकर्मीको भूमिकाबारे लेखिएको छ । डा. विजय सुब्बाद्वारा लेखिएको यस पुस्तकले नेपालको सांस्कृतिक आन्दोलनहरू समेत केलाएको छ । समग्रमा समाज परिवर्तनमा सक्रिय संस्कृतिकर्मीहरूको इतिहास पनि हो कृति । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको यो पुस्तक संस्कृतिकर्मीबारे अध्ययन गर्न एउटा स्रोत हुन सक्छ । डिजिटल माध्यममार्फत यो पुस्तक पढ्न यहाँ क्लिक गर्नुहोस् । 

७. मुकुन्द इन्दिरा (नाटक)

 नेपालका नाट्य सम्राट बालकृष्ण समले थुप्रै नाटकहरू लेखेका छन् ।  ती मध्ये प्रमुख हो,  मुकुन्द इन्दिरा । थुप्रै पटक सफल मञ्चन भइसकेको यस नाटकमा नेपाली सामाजिक मनोवैज्ञानिकता देखाइएको छ । वि.सं. १९९४ सालमा पहिलो पटक प्रकाशन भएको नाटकमा पाँच अङ्क र अठार दृश्य छन् ।  डिजिटल माध्यममार्फत यो पुस्तक पढ्न यहाँ क्लिक गर्नुहोस् ।

८. प्रलेसको संक्षिप्त इतिहास (इतिहास) 

नेपाली साहित्यमा प्रगतिवादी धारलाई माथि उकास्न प्रगतिशील लेखक संङ्घ (प्रलेस) को ठूलो भूमिका छ । त्यही सङ्घको योगदानलाई समेटर यो पुस्तक लेखिएको छ । पुस्तकमा प्रगतिशीलता र प्रगतिवाद, नेपाली साहित्यमा सङ्गठित लेखनको परम्परा, प्रगतिशील सिर्जनामा संस्थागत थालनी लगायतका विषय छन् । विष्णु प्रभातले लेखेको यो पुस्तक विवेश सिर्जनशील प्रकाशनले बजारमा ल्याएको हो । डिजिटल माध्यममार्फत यो पुस्तक पढ्न यहाँ क्लिक गर्नुहोस् । 

९. विश्वका दर्शन र कला साहित्यिक वादहरू (दर्शन)

प्रगतिवादी कवि/कथाकार परशुराम कोइरालाले लेखेको यो पुस्तक दर्शनमा रुचि राख्नेका लागि एउटा खुराक हुन सक्छ । लेखकले यस पुस्तकमा दर्शनको इतिहास. समाज र दर्शनको अन्तर सम्बन्ध, दर्शन विभाजनका आधारभुत प्रश्न साथै संसारमा प्रमुख दर्शनहरूबारे लेखिएको छ । आरोहन पब्लिकेसनले यो पुस्तक २०६५ मा बजारमा ल्याएको हो ।  डिजिटल माध्यममार्फत यो पुस्तक पढ्न यहाँ क्लिक गर्नुहोस् । 

१०. जीवन वृत्त (कथा)

नेपाली साहित्यवृतका उत्कृष्ट कथाकारको बनाउन सफल विश्वम्भर चञ्चलद्वारा लेखिएको ‘जीवन वृत’, कथा संग्रह हो । यस सङ्ग्रहमा २४ ओटा कथाहरू छन् । स्वयं लेखकको भने यो दोस्रो पुस्तक हो । कथा सङ्ग्रहमा मिठो भाषा, छिटो छरितो शैली पढ्न पाइन्छ । विशेषत: प्रत्यक्ष जीवनमा गरिएका कटु अनुभवहरू कथामा उतारिएका छन् । साझा प्रकाशनले २०४० मा प्रकाशन गरेको यो पुस्तक डिजिटल माध्यममार्फत पढ्न यहाँ क्लिक गर्नुहोस् ।  

पछिल्लो अध्यावधिक: कात्तिक ७, २०८० ९:५३