close

पढ्नुको साटो सुमधुर स्वरमा निःशुल्क सुन्न मिल्ने उत्कृष्ट १० नेपाली अडियो बुक

टेकपाना टेकपाना

कात्तिक ८, २०८० ११:४४

पढ्नुको साटो सुमधुर स्वरमा निःशुल्क सुन्न मिल्ने उत्कृष्ट १० नेपाली अडियो बुक

 

काठमाडौं । सामान्य अर्थमा बुझ्दा पुस्तकको डिजिटल स्वरूपमा नै ई-बुक (इलेक्ट्रोनिक बुक) हो । त्यसै गरी पुस्तक वाचन गरी फाइल बनाउनु अडियो बुक हो । अर्थात् सुन्न मिल्ने पुस्तक अडियो बुक हो । नेपालमा पहिले विभिन्न रेडियोहरूले चर्चित पुस्तकहरू वाचन गर्ने कार्यक्रम सञ्चालन गर्थे ।

अच्यूत घिमिरे. भूपेन्द्र खड्काका त्यस्ता कार्यक्रम साहित्यिक मनहरूको रोजाइमा पर्थ्यो । तर विस्तारै इन्टरनेट सर्वसुलभ हुन थालेपछि युट्युब प्रयोगकर्ता बढ्दै गए ।अनि पुस्तक वाचन गरेर, तिनै रेडियो कार्यक्रमहरू जोडेर अडियो बुक बनाउने चलन बढ्यो । व्यवस्थित भएर अडियो बुक निमार्ण गर्ने कम्पनीहरू नेपालमा त्यस्तै धेरै छन् ।

वि.सं. २०७८ देखि थुप्रैडटकम(thuprai.com) ले अडियो बुक उपलब्ध गराउन थालेको छ । तर व्यक्तिगत युट्युब च्यानल खोलेर भने धेरैले अडियो बुक राखेका छन् । यदि तपाईं विभिन्न कारणले गर्दा पुस्तक अध्ययन गर्न पाइरहनु भएको छैन भने यो दशैंमा अडियो बुक सुन्न सक्नुहुन्छ । किनभने चाडबाडमा हामीले यात्रा गरिरहनु पर्ने हुन्छ । ‍आज हामी युट्युबमा उपलब्ध सुन्नै पर्ने अडियो बुकबारे चर्चा गर्दैछौं:

दमिनी भिर

राजन मुकारुङद्वारा लेखिएको ‘दमिनी भीर’ मदन पुरस्कार जित्न सफल उपन्यास हो । २०७० मा पहिलो पटक फिनिक्स बुक्सले प्रकाशन गरेको उपन्यासले त्यस अगावै २०६९ सालमा मदन पुरस्कार जितेको थियो । यो उपन्यासमा सङ्क्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, मनोविज्ञानबारे गहिरो चित्रण छ । नेपाली समाजको संस्कृति, संरचना र सभ्यतालाई मुख्य रूपमा उठान गरिएको छ । आदिकालदेखिको मानिसको मुन्दुम (किराँतदर्शन) आस्था र विशिष्टता उपन्यासका पात्रहरूमा पाउन सकिन्छ ।

नेपाली समाजको शैली, वस्तुस्थिति, रहनसहन र उनीहरूको आस्था जस्ताको त्यस्तै स्थापित गर्न सक्नु यस उपन्यासको विशेषता हो । हालै मण्डला थिएटर, काठामडौंमा यही उपन्यासमा आधारित नाटक पनि मञ्चन भएको थियो । युट्युबमा भने अच्युत घिमिरेको प्रख्यात रेडियो कार्यक्रम ‘श्रुति सम्वेग’मा वाचन गरिएको विभिन्न भागहरूलाई जोडेर तयार पारिएको भिडिओ राखिएको छ । युट्युबमा यो पुस्तक सुन्न यहाँ क्लिक गर्नुहोस् ।

 

‍पल्पसा क्याफे

 

कान्तिपुर दैनिकका पूर्व सम्पादक नारायण वाग्लेले लेखेको उपन्यास हो, पल्पसा क्याफे । माओवादी सशस्त्र युद्धको सेरोफेरोको विषय वस्तुमा आधारित भएर लेखिएको यसले २०६१ सालको मदन पुरस्कार पाएको थियो । नेपालय पब्लिकेसनले बजारमा ल्याएको यो उपन्यासमाथि नाटक समेत बनिसकेको छ । चर्चा र बिक्रीका हिसाबले यो उपन्यास राम्रो मानिन्छ । उपन्यास अङ्ग्रेजी, कोरियन, सिंधली र प्रान्सेली भाषामा समेत अनुवाद भइसकेको छ । युट्युबमा यो पुस्तक सुन्न यहाँ क्लिक गर्नुहोस् । 

पागल बस्ती

 

नेपालका प्रख्यात साहित्यकार शरुभक्तद्वारा लिखिएको 'पागल बस्ती' समसामयिक नेपाली उपन्यास हो । सुरुमा साझा प्रकाशनले वि.सं. २०४८ मा बजार ल्याएको यो उपन्यास हाल बुकहिल पब्लिकेसनले नयाँ कलेवरमा पुन: मुद्रण गरेको छ । २०४८ सालको मदन पुरस्कार जितेको यो उपन्यास नेपाली साहित्यमा निकै चर्चित छ । पुस्तकमा चलनमा रहेको भन्दा भिन्न तरिकाले प्रेमलाई चित्रण गरिएको छ । त्यस्तै हाम्रा इन्द्रियलाई कसरी नियन्त्रणमा राख्ने भन्ने विषय कथा मार्फत उपन्यासकारले देखाएका छन् । युट्युबमा यो पुस्तक सुन्न यहाँ क्लिक गर्नुहोस् ।

राधा

 

राधा धार्मिक विषयवस्तुमा ‍लेखिएको नेपाली उपन्यास हो । यो पैरवी बुक हाउसले २०६२ मा बजारमा ल्याएको हो । कृष्ण धरवासीद्वारा लिखित यो उपन्यासले सोही वर्षको मदन पुरस्कार जितेको थियो । यस उपन्यासकी मुख्य नारी पात्र (राधा) महाभारतकी राधा हुन् । उनले आफ्नो जीवनको पूर्वार्धमा नारी अस्तित्वको खोजी गरेको विषय उपन्यासमा चित्रण गरिएको छ । ज्याक डेरिडाको डिकन्स्ट्रक्सनको सिद्धान्तबाट प्रेरित भएर लेखक धाराबासीले राधा र कृष्णका पात्रहरूलाई पूर्णतया परिवर्तन गरेका थिए । उपन्यासमा राधालाई बहादुर, प्रतिष्ठित र क्रान्तिकारी बनाइएको छ । युट्युबमा यो पुस्तक सुन्न यहाँ क्लिक गर्नुहोस् । 

चिना हराएको मान्छे 

 

नेपाली हाँस्यकलाकार हरिवंश आचार्यको संस्मरणात्मक जीवनी ‘चिना हराएको मान्छे’ हो । पुस्तकमा आचार्यको आत्मवृत्तान्तमा केन्द्रित भई बाल्यकाल, आफूलाई सफल कलाकार बनाउन भोगेका समस्या, मदनकृष्ण श्रेष्ठसँग भएको परिचय, विवाह, जीवनवृत्ति लगायतका धेरै विषयलाई समावेश छ । प्रकाशक फाइन प्रिन्टले निकालेको यो पुस्तक पढेपछि अझ नजिकबाट कलाकार आचार्यलाई चिनिन्छ । युट्युबमा यो किताब सुन्न यहाँ क्लिक गर्नुहोस् । 

समर लभ

समर लभ साहित्यकार सुबिन भट्टराईद्वारा लेखित उपन्यास हो । विसं २०६९ मंसिरमा फाइन प्रिन्टले बजारमा ल्याएको यो उपन्यास आधुनिक प्रेम, रोमान्स र वियोगमा आधारित छ । उपन्यासका प्रमुख पात्र अतीत र सायाको प्रेममा केकस्ता उतारचढाव आउँछन् भन्ने कुरामा नै कथा अगाडि बढेको छ । पछि उपन्यासकार भट्टराईले यही उपन्यासको दोस्रो भागका रुपमा साया बजारमा ल्याए । यी दुवै पुस्तकले नेपाली साहित्यमा नयाँ मोड थप्न भूमिका लेखे । त्यसपछि किशोरहरूको प्रेम लेख्ने लेखक रुपमा भट्टराईको परिचय नै बन्न भयो । उनको त्यही सर्वाधिक चर्चामा भएको किताब समर लभमा आधारित रहेर २०७५ मा सोही नामको ‍चलचित्र पनि निर्माण भएको थियो । युट्युबमा समर लभ सुन्न यहाँ र साया सुन्न यहाँ क्लिक गर्नुहोस् । 


 

शिरीषको फूल

 

साहित्यकार पारिजातद्वारा रचना गरिएको उपन्यास हो, शिरीषको फूल । वि. सं. २०२२ मा साझा प्रकाशनले बजारमा ल्याएको यो उपन्यासले सोही वर्ष मदन पुरस्कार पनि प्राप्त गर्यो । यद्यपि सुरुमा उनले यो उपन्यास आफैंले प्रकाशन गरेकी थिइन । यस उपन्यासको अङ्ग्रेजी अनुवाद 'ब्लु मिमोसा' का अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश छ । विसङ्गतिका बीच रङ्गिएको जीवनलाई यस उपन्यासमा चरित्र चित्रणको मूल आधार बनाइएको छ। यस उपन्यासमा सबै गौण पात्रहरूले पनि विसङ्गतिलाई चित्रण गर्न सहयोग पुर्‍याएका छन् । उपन्यासमा आधारित भएर नाटक पनि मञ्चन भइसकेको छ । युट्युबमा यो पुस्तक सुन्न यहाँ क्लिक गर्नुहोस् । 

जीवन काडाँ कि फूल

 

जीवन काँडा कि फूल २०३७ मा धनकुटा जिल्लामा जन्मेका बहु अपाङ्गताको अवस्थामा रहेकी झमक घिमिरेद्वारा लिखित आत्मकथा हो । साहित्यकार झमकले यो पुस्तकमा आफूले भोगेको पीडा र सङ्घर्ष समेटेकी छिन् । यो कृतिले २०६८ सालमा मदन पुरस्कार पनि प्राप्त गर्यो । धेरैका लागि यो पुस्तक प्रेरणादायी बनेको छ । कठिन बाल्यकालमा उनले कसरी आफूलाई अब्बल बनाउँदै लगिन्, शिक्षादीक्षाका लागि केकस्ता चुनौतिहरूको सामना गर्नु पर्यो यी विषयहरू पुस्तकमा समावेश छन् । युट्युबमा यो किताब सुन्न यहाँ क्लिक गर्नुहोस् । 

 

द कम्युष्निट मेनोफेस्टो

 

कम्युनिष्टहरूको बाइबल भनेर चिनिने यो पुस्तक वैज्ञानिक साम्यवादको विशेष पुस्तक हो । यसमा मार्क्सवाद र साम्यवादको आधारभूत सिद्धान्तहरूको वर्णन गरिएको छ । कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले लेखेको यो पुस्तक १८४८ मा पहिलो पटक जर्मन भाषामा प्रकाशित भएको थियो । त्यसपछि विभिन्न भाषाहरूमा अनुवाद गरेर यो पुस्तक प्रकाशन भयो । नेपालमा ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’को नामले चिनिने यफ पुस्तकमा वर्ग संघर्ष र दास क्यापिटलमा भएका समस्याहरूको वर्णन गरिएको छ । युट्युबमा यो किताब सुन्न यहाँ क्लिक गर्नुहोस् । 

दरबार बाहिरकी महारानी

दरबारको वातावरण झल्कने विषयवस्तु समेटेर नगेन्द्र न्यौपानेले लेखेका यो उपन्यास छन् । उपन्यासमा राजा महेन्द्र, उनकी भित्रिनी गीता र गीताबाट जन्मेका रवीन्द्रको कथा समेटिएको छ । बिएन प्रकाशनले बजारमा ल्याएको उपन्यास सर्वसाधारणमा गुपचुप राखिएको गीता र रवीन्द्रको अस्तित्व र तिनले भोगेको अद्वितीय पीडा चित्रित गरिएको बताइन्छ । नेपालको दरबारबारे घटना बुझ्न खोजी रहेका व्यक्तिका लागि यो उपन्यास उपयोगी हुन्छ । युट्युबमा यो किताब सुन्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८० ९:४८