close

विद्यार्थीले बनाए अहिलेसम्मकै ठूलो ड्रोन

टेकपाना टेकपाना

कात्तिक १०, २०८० १०:४३

विद्यार्थीले बनाए अहिलेसम्मकै ठूलो ड्रोन

काठमाडौं । बेलायतको म्यानचेस्टर विश्वविद्यालयका विद्यार्थीहरूले अहिलेसम्मकै सबैभन्दा ठूलो मानवरहित ड्रोन बनाएकाे दाबी गरेका छन् । विश्वविद्यालयमा इन्जिनियरिङ तह पढिरहेका विद्यार्थीले ‘जायन्ट फोमबोर्ड क्वाडकोप्टर’ (जीएफक्यू) नामक उड्ने ड्रोन बनाएका हुन् ।

यस ड्रोनमा ६.४ मिटर चौडाइ भएका चार ओटा पङ्खा छन् । मुख्य सामग्री फोमबोर्ड प्रयोग गरी बनाइएको ड्रोनलाई इन्जिनियरहरूले गत जुलाईमा स्‍नोडोनिया एरोस्पेस सेन्टरमा परीक्षण उडान पनि गरेका थिए । यस ड्रोनलाई पाइलट अथवा स्वत: रूपमा उडाउन सकिन्छ ।

कूल २४.५ किलोग्राम तौल रहेको ड्रोनलाई विद्यार्थीहरूले कलेज प्राेजेक्टकाे रूपमा बनाउन सुरु गरेका थिए । त्यसका लागि हलुका तौल र कम लागत पर्ने पर्यावरणमैत्री सामग्रीबाट विमान बनाउने तरिका खोजी गरिएकाे थियाे ।

अब जीएफक्यू निर्माण टोलीले भविष्यमा क्वाडकोप्टरलाई थप विस्तार गर्ने, ड्रोनको आकार र क्षमताहरू बढाउने बताएका छन् ।

विद्यार्थीहरूको यो उपलब्धिलाई महत्त्वपूर्ण मानिएको छ । किनकि ड्रोन निर्माणमा कार्डबोर्ड जस्ता सामग्रीहरू प्रयोग गरिएका छन् । अष्ट्रेलियाली कम्पनी एसवाईपीएक्यूले रुस-युक्रेन युद्धमा सैन्य प्रयोगको लागि कार्डबोर्ड ड्रोन प्रयोग गरिरहेको छ ।

युद्धका दाैरान सैनिकहरूले सजिलै एसेम्बल गर्न सक्ने, शत्रुको राडारमा देखिने सम्भावना कम हुने, विभिन्न सहायता सामग्री ओसारपसार गर्न सकिने जस्ता फाइदा यसमा हुन्छन् ।

विद्यार्थीले जीएफक्यू ड्रोन बनाएर प्रविधि क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेता पनि उनीहरूको रेकर्डको कुनै स्वतन्त्र प्रमाणीकरण भने छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक १०, २०८० १०:४३