काठमाडौं । विज्ञापन हेर्न नचाहने प्रयोगकर्तालाई लक्षित गर्दै सामाजिक सञ्जाल एक्सले सब्सक्रिप्सन प्याकेज सार्वजनिक गरेको छ । कम्पनीका मालिक एलन मस्कले केही समयअघि घोषणा गरेको प्रिमियम प्लस सब्सक्रिप्सन मोडेल शनिवार सार्वजनिक भएको हो ।
यस प्याकेजका लागि प्रयोगकर्ताले प्रिमियमको शुल्कभन्दा दोब्बर अर्थात् मासिक १६ डलर (करिब दुई हजार १३५ रुपैयाँ) तिर्नुपर्ने हुन्छ । कम्पनीका अनुसार प्रयोगकर्ताले यो सब्सक्रिप्सन मोडेल लिइसकेपछि उनीहरूको ‘फर यु’ वा ‘फलोइङ फिड’मा कुनै पनि विज्ञापन देखिँदैन ।
त्यस्तै प्रिमियम सब्सक्रिप्सन लिने प्रयोगकर्ता वा निःशुल्क एप प्रयोग गर्ने प्रयोगकर्ताको तुलनामा प्रिमियम प्लस सब्सक्रिप्सन लिने प्रयोगकर्ताको रिप्लाई धेरै अडियन्समाझ पुग्ने कम्पनीले उल्लेख गरेको छ ।
त्यसबाहेक पनि प्रिमियम प्लस सब्सक्रिप्सन लिने प्रयोगकर्ताले क्रियटर टुलको एक्सेस समेत पाउनेछन् । हाल वेब भर्सनमा मात्र उपलब्ध यो सब्सक्रिप्सन लिन यहाँ क्लिक गर्नुहाेस् । बाँकी अन्य फिचर भने प्रिमियम सब्सक्रिप्सन जस्तै हुनेछन् । तर, प्रिमियममा भने केही विज्ञापन देखिनेछन् भने क्रियटर टुलमा पूरै एक्सेस पाउँदैनन् ।
त्यस्तै एक्सले मासिक तीन डलर तिरेर लिन सकिने ‘बेसिक’ सब्सक्रिप्सन मोडेल पनि सावर्जनिक गरेको छ । यो सब्सक्रिप्सन मोडेलमा ब्लु टिक समावेश छैन । तर, आफ्नो रिप्लाई अलि बढी मानिसहरूमाझ पुगोस् भन्ने प्रयोगकर्ताले लिन सक्नेछन् ।
यो प्लस प्याकेज पनि वेबमा मात्र उपलब्ध छ । त्यस्तै, मस्कले हालै मात्र न्युजिल्यान्ड र फिलिपिन्समा नयाँ एक्स अकाउन्ट बनाउन शुल्क तिर्नुपर्ने नीति सुरु गरेका छन् ।