काठमाडौं । टी–२० विश्वकप फाइनल एसिया छनोटको आफ्नो पहिलो खेल अन्तर्गत उद्घाटन खेलमा नेपालले सिंगापुरसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ह विहान ९ बजेदेखि सुरु हुने खेलको टिकेट आइएमई पेबाट खरिद गर्न सकिनेछ ।
यसअन्तर्गत सामान्यतर्फ २०० रुपैयाँ र भीभीआईपीतर्फ १० हजार टिकेट शुल्क तोकिएको छ । भीभीआईपी टिकेट खरिद गर्ने दर्शकका लागि लन्च एन्ड मिट पारस’को सुविधा दिइएकाे छ । यसअन्तर्गत खानाकाे व्यवस्था तथा पारस खड्का लगायत खेलाडीहरूसँग भेटकाे बन्दाेबस्त मिलाइएकाे छ ।
आईएमई पे नेपालमा हुने हरेक अन्तर्राष्ट्रिय क्रिकेट खेलका लागि दुई वर्षसम्मका अनलाइन टिकेटिङ पार्टनर हाे ।
गत असोज १८ मा आइएमई पे र नेपाल क्रिकेट संघ (क्यान) बीच भएको रणनीतिक साझेदारी अनुसार नै आजदेखि सुरु हुने टी–२० विश्वकप फाइनल एसिया छनोटको टिकेट आइएमई पेबाट खरिद गर्न सकिने भएको हो ।
टिकेटबाट आएको १२.५ प्रतिशत रकम आइएमई पेलाई जाने र बाँकी अन्य सबै रकम क्यानले पाउने बताइएको छ । त्यस्तै नेपालभरिका क्रिकेट मैदानका १०० जना कर्मचारीलाई आइएमई पेले बीमा सुविधा गराउने भएको छ ।
अनलाइन टिकेट काटेर खेल हेर्न आउने समर्थक घाइते भए पनि आइएमई पेबाट बीमा सुविधा उपलब्ध गराउने साझेदारी भएको छ ।