close

ल्यापटपको ब्याट्री धेरैबेर टिक्दैन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

कात्तिक १४, २०८० १२:६

ल्यापटपको ब्याट्री धेरैबेर टिक्दैन ? यसो गर्नुहोस्

काठमाडौं । स्मार्टफोनको जस्तै ल्यापटपमा पनि ब्याट्रीको विषयलाई लिएर समस्याहरू आइरहेका हुन्छन् । कतिपय अवस्थामा ल्यापटपको ब्याट्री चाँडै सकिने गरिरहेको हुन्छ ।

दैनिक घण्टौंसम्म ल्यापटपको प्रयोग हुने गर्छ । यस्तोमा त्यसमा रहेको ब्याट्रीलाई लिएर सेटिङको विशेष ख्याल राख्नुपर्ने हुन्छ ।

डिस्प्ले ब्राइटनेस, वाई-फाई, ब्लुटुथ सेटिङ तथा ब्याट्री सेभरको सहयोगमा ल्यापटपको ब्याट्रीलाई लामो समयसम्म टिकाउन सकिन्छ । त्यसो त लामो समयसम्म काम गर्दाका बखत कि त ल्यापटप लगातार चार्जिङमा लगाइरहनु पर्ने हुन्छ, अथवा बारम्बार चार्ज गर्ने झन्झट उठाउनु पर्ने हुन्छ ।

यदि केही कुरामा ध्यान दिने हो भने ल्यापटपको ब्याट्री लामो समयसम्म टिकाउन मद्दत पुग्न सक्छ ।

१. डिस्प्ले ब्राइटनेस

चाहे स्मार्टफोन होस् अथवा ल्यापटप, हरेक डिभाइसमा ब्याट्री खपत गर्ने कार्यमा डिस्प्लेको ब्राइटनेस जिम्मेवार हुन्छ । एकदमै धेरै ब्राइटनेसमा काम गर्नुहुन्छ भने त्यसो गर्न बन्द गर्नुहोस् ।

धेरै ब्राइटनेसले गर्दा आँखामा पनि असर पर्छ । त्यसैले ब्याट्री जोगाउनुका साथै स्वास्थ्यको हेरचाहका लागि कम ब्राइटनेसमा ल्यापटप चलाउने बानी बसाल्नुहोस् ।

२. ब्लुटुथ तथा वाई-फाई सेटिङ

ल्यापटपमा ब्लुटुथ तथा वाई-फाई सेटिङका कारण ब्याट्री खपत भइरहेको हुन्छ । यस्तोमा आवश्यक परेको बखत मात्रै वाई-फाई तथा ब्लुटुथ अन गर्नु बुद्धिमानी हुन्छ ।

नोटप्याडमा लेख्ने वा ल्यापटपमा कुै अन्य काम गरिरहनु भएको छ, जसका लागि इन्टरनेट आवश्यक छैन भने वाई-फाई सेटिङमा गएर बन्द गरिदिनुहोस् ।

यसै प्रकारले ब्लुटुथ सेटिङलाई समेत डिसेबल राख्नुहोस् ।

३. ब्याकग्राउन्ड एप

ल्यापटपमा एकसाथ धेरै एप प्रयोग गर्नु हुन्छ भने कतिपय समय आवश्यक नपरे पनि कतिपय एप ब्याकग्राउन्डमा अन भइरहेका हुन सक्छन् । यस्तो अवस्थामा ब्याकग्राउन्डका त्यस्ता एपले ल्यापटपको ब्याट्री अनावश्यक रूपमा खपत गरिरहेका हुन्छन् ।

टास्क बारमा राइट क्लिक गर्नुका साथै टास्क म्यानेजरमा गएर त्यस्ता ब्याकग्राउनड एप बन्द गर्न सक्नु हुन्छ ।

४. ब्याट्री सेभर

ल्यापटपको ब्याट्री जोगाउनका लागि ब्याट्री सेभर अप्सन प्रयोग गर्न सक्नु हुन्छ । कतिपय समय ल्यापटपको ब्याट्री कम हुँदा चार्जिङको सुविधा हुँदैन ।

यस्तो अवस्थामा ब्याट्री सेभर अप्सन काम आउन सक्छ । ल्यापटपमै डिफल्ट रूपमा उपलब्ध हुने भएकाले यो सेटिङका लागि छुट्टै एप्लिकेसन तथा प्रोग्राम डाउनलोड गरी इन्स्टल गरिरहनु पर्दैन ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८० १२:६