close

नेपाली सेनाबारे फेसबुकमा भ्रामक पोस्ट राखेको आरोपमा डिल्लीराम खनाल पक्राउ

टेकपाना टेकपाना

कात्तिक १४, २०८० १७:३१

नेपाली सेनाबारे फेसबुकमा भ्रामक पोस्ट राखेको आरोपमा डिल्लीराम खनाल पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली सेनाविरुद्ध अनर्गल पोस्ट राखेको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले सोमवार खनाललाई काठमाडौंबाट पक्राउ गरेको हो ।

साइबर ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार कार्यालयलाई नेपाली सेनाबाट संगठनप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै कानुन बमोजिम कारबाहीको लागि पत्र आएको थियो । प्राप्त सूचनाको प्रचलित प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्दै खनालले पोस्ट राखेको पत्ता लागेपछि उनलाई पक्राउ गरिएको रायले बताए ।

खनालमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको छ । 

दमक नगरपालिका वडा नं. ५ झापा घर भई हाल काठमाडाैं बस्ने ४६ वर्षीय खनाल यसअघि नायिका करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा पक्राउ परेका थिए ।

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०८० १५:२३