एउटा भाष्य छ, बिजुली गाडी किनेपछि खर्च घट्छ । यो कुरा साँचो भएता पनि म भने त्यसमा पूर्ण सहमत हुन सक्दिनँ । किनकी राम्रै दाम हालेर किनेको ‘किया निरो’मा मैले अतिरिक्त खर्च गर्नु परेको छ ।
अगस्ट २०२१ मा किनेको यो गाडी आजसम्म ३० हजार किलोमिटर गुडाइसकेको छु । नेपाली बजारमा भने पहिलो पटक २०१९ मा यो गाडी भित्रिएको थियो । मलाई त्यति खेरै गाडी मन परेको हो ।
तर आर्थिक वर्ष परिवर्तन भएसँगै सरकारले बिजुली गाडीको कर बढायो । त्यसबाट बिजुली गाडीका मूल्य बढ्यो र, बजारमा किया निरो उपलब्ध हुनै छाड्यो । अलि पछि सरकारले बिजुली गाडीको कर घटाएपछि भने पुन: कियाको उक्त गाडी आउन थाल्यो । अनि मैले ६९ लाख ९० हजार रुपैयाँमा यो ईभी किनेको हुँ ।
हुन त घरमा अर्को गाडी पहिल्यै थियो । बिजुली गाडी भएकाले अतिरिक्त गाडीका रूपमा मात्रै यो किनेको थिएँ । अहिले यो गाडी किनेको करिब दुई वर्ष भइसकेको छ ।
तर यो दुई वर्ष बिजुली गाडीका लागि लामो समय बन्न पुग्यो । त्यतिखेर चार्जिङ स्टेसन सीमित थिए । कतै जाँदा धेरै सोच्नु पर्थ्यो । यो गाडी बजारमा आउँदा ४५५ किलोमिटर रेन्ज दिने बताइएको थियो ।
मैले यो गाडी किन्नुको कारण रेन्ज धेरै दिने भनिएकैले हो । किनकी रेन्ज धेरै दिने भएपछि लामो बाटोको यात्रा गर्दा समस्या नहोला भनेर मैले सोचेको थिएँ । त्यो सोच अहिले राम्रो निर्णय बन्न पुगेछ ।
अहिले कम्पनीको दाबी भन्दा भन्दा माथि नै रेन्ज पाइरहेको छु । रिजेनेरेटिभ ब्रेकिङका कारण ओराला बाटोमा आफैं चार्ज हुन्छ र रेन्ज बढ्छ । गाडी चलाउन यसमा इको, सिटी र स्पोर्टस गरी तीन ओटा मोड दिएका छन् ।
म प्राय: इको मोडमा चलाउँछु । त्यसले गर्दा पनि कम्पनीले भने अनुसारकै रेन्ज पाइरहेको छु । एक/दुई वर्ष मात्र चलाउने हो भने बिजुली गाडी नलिंदा हुन्छ भन्ने मेरो निष्कर्ष छ ।
सहरमा बस्नुहुन्छ, लामो यात्रा गर्नु पर्छ वा गाडीलाई लामो समय प्रयोग गर्नुहुन्छ भने बिजुली गाडी राम्रो विकल्प हो । अब अतिरिक्त खर्चको कुरा गरौं ।
एक पटक गाडीको अघिल्लो भाग ठोक्कियो । त्यसले गर्दा माथिल्लो बम्पर र तल्लो बम्पर फेर्नु पर्ने भयो । म कियाको सर्भिस सेन्टर पुगेँ ।
तर त्यहाँ आवश्यक सामान नै थिएन । माथिल्लो बम्पर त कम्पनीले केही दिनमा ल्यायो । तर लोअर बम्पर ल्याउन भने अझै दुई/तीन महिना लाग्ने भयो ।
त्यसपछि भाँचिएको बम्परलाई नै मर्मत गरेर काम चलाएँ । यसमा सबै गरेर एक लाख रुपैयाँ सकियो ।
कम्पनीले गाडीमा स्पेयर टायर दिएको छैन । त्यो नभएपछि टायरका लागि रिपेयर किट दिनु पर्ने हो, तर मलाई त्यो पनि दिएको छैन । म परिवारसँग पोखरा गएको थिएँ ।
त्यहाँबाट बेगनास ताल गइयो । बाटो साह्रै नराम्रो थियो । साँझ सात बजेतिर टायरमा समस्या आयो । टायरमा ठूलो ढुङ्गा छिरेछ । हावा भर्दा पनि टायरले काम नगर्ने भयो ।
अगाडि बढ्न स्पेयर टायर वा रिपेयर टायर नै चाहिने भयो । नजिकै टायर रिपेयर गर्ने कुनै पसल थिएनन् । कियामा कल गरौं भने हामी भएको ठाउँदेखि पोखरा अलि टाढै थियो ।
अनि त्यहींको रेस्टुरेन्टका मान्छेले टायर रिपेयर गर्ने मान्छे बोलाइदिए । एक/डेढ घण्टा कुरेर प्राविधक आएपछि मात्र टायर मर्मतको काम सकियो । त्यहाँबाट फर्किंदा रातको १० बजिसकेको थियो । त्यहाँ दु:ख र खर्च दुवै भयो ।
मलाई सताएको अर्को कुरा ग्राउन्ड क्लियरेन्स हो । कम्पनीका अनुसार गाडीमा १६० एमएमको ग्राउन्ड क्लियरेन्स छ । तर अन्डर ग्राउन्ड पार्किङ गर्दा, अप्ठ्यारो बाटोमा कुदाउँदा भुइँमा बारम्बार गाडी ठोक्किरहन्छ ।
यसरी हुँदैन भनेर मैले २५ एमएम ग्राउन्ड क्लियरेन्स बढाएँ । त्यसपछि भने खासै भुइँ छोएको छैन । त्यसबेला पनि खर्च भयो । यस्ता अपर्झट आइपर्ने खर्च छाडेर हेर्ने हो गाडी निकै राम्रो छ ।
मैले यही गाडीमा विराटनगर, पोखरा, चितवन, हिले, इलाम, बुटवल लगायतका थुप्रै ठाउँको यात्रा गरिसकेको छु । त्यस्ता लामो दुरीको लामो यात्रामा काठमाडौंबाट निस्कदा म गाडी फुल चार्ज गरेर हिंड्छु ।
बाटो नराम्रो भएकाले रेन्ज अलि घट्छ । पोखरा पुग्दा ५० प्रतिशत सेरोफेरोमा ब्याट्री बाँकी रहन्छ । विराटनगर पुग्दा ३०/३२ प्रतिशत जति बच्छ ।
पहिले बिजुली गाडीमा यसरी यात्रामा निस्कन अलि गाह्रै थियो । डीसी चार्जरहरू पनि थिएनन् । एसी चार्जरबाटै चार्ज गर्नु पर्ने हुन्थ्यो । योजना बनाए पनि निस्किहाल्न आँट पुग्दैन थ्यो ।
कहाँ चार्ज गर्ने अन्योल हुन्थ्यो । होटेलले पनि चार्ज गर्न दिन सजिलै मान्दैन थे । तर विद्युत् प्राधिकरणले ठाउँ ठाउँमा चार्जिङ स्टेसन बनाएपछि राजमार्गको यात्रा गर्न धेरै सजिलो भएको छ ।
अहिले बिजुली गाडी लिएर यात्रा गर्न दुई वर्ष अगाडिको जस्तो हिसाब गर्नु पर्ने अवस्था छैन । विराटनगरमा भने चार्जिङ स्टेसन नभएर केही महिना अघिसम्म पनि समस्या नै थियो ।
इटहरीमा डीसी चार्जिङ राखेपछि भने त्यहाँको समस्या हटेको छ । इलाम जाँदा पनि ब्याट्रीले त्यस्तो समस्या दिएन । बसेको होटेलमा गाडीको चार्जरबाटै चार्ज गरें ।
हिलेमा जाँदा भने गाडी नयाँ थियो । विराटनगरबाट फुल चार्ज गरेर निस्के पनि ५०/६० प्रतिशत ब्याट्री त उकालो बाटोमै सकियो । तर कुनै समस्या भने परेन ।
फर्किंदा भने रिजेन भएर विराटनगर पुग्न जम्मा पाँच प्रतिशत मात्र ब्याट्री खर्च भएको थियो ।
यसरी म लामो लामो यात्रामा निस्किंदा रेन्ज एन्जाइटी भने कहिल्यै भएको छैन । एक पटक विराटनगरबाट काठमाडौं आउँदा भने ९ प्रतिशत मात्र ब्याट्री बाँकी थियो । त्यसबेला भने ब्याट्री सकिएर गाडी नचल्ने हो कि भन्ने डर कता कता पलाएको थियो ।
सबैभन्दा थोरै ब्याट्री हुँदासम्म गुडाएको त्यो नै मेरो पहिलो अनुभव थियो । तर त्यसबेला पनि एसी चलाइरहेकै थिएँ ।
गाडी चार्ज गर्न कम्पनीले पोर्टेबल र एसी चार्जर दिएको छ । पोर्टेबल चार्जरले एक घण्टामा तीन प्रतिशत चार्ज गर्छ भने एसी चार्जरले भने १० प्रतिशत हुन्छ । डीसी चार्जरले त एक घण्टामै फुल हुन्छ ।
धेरै यात्रा गरे पनि प्रत्येक पाँच हजार किलोमिटरमा सर्भिसिङका लागि लैजाने गरेको छु । कम्पनीले पाँच हजार किलोमिटर वा चार महिनामा एक पटक सर्भिसिङ गर्नुपर्ने भनेको छ । म त्यसै अनुसार गर्छु ।
सर्भिसिङको क्रममा सामान्य चेक जाँच, ब्रेक चेक जाँच, गाडी स्क्यानिङ, एसी फिल्टर परीक्षण जस्ता काम हुन्छन् । तर त्यहाँ सर्भिस गर्ने स्थानमा एसी चार्जर भने छैन ।
सर्भिस स्टेसनमा एउटा चार्जिङ स्टेसन भइदिएको भए राम्रो हुन्थ्यो । त्यस्तै सर्भिस सेन्टर अनुसार शुल्क लिएको पनि मैले पाएँ । कतै नि: शुल्क हुन्छ, त कतै शुल्क लाग्छ । यसले कियामा व्यवस्थापन अलि फितलो भएको हो कि भन्ने देखाएको छ ।
त्यस्तै गाडीको स्पेयर पार्टस सजिलै उपलब्ध भइदिए धेरै सजिलो हुन्थ्यो । स्पेयर पार्टस नहुँदा कतिपय अवस्थामा मैले जस्तै समस्या झेल्नु पर्ने हुन सक्छ ।
यो गाडी निकै सुरक्षित पनि छ । किनकी यसमा ड्राइभरको घुँडाका लागि समेत गरेर सात ओटा एयर ब्याग दिइएका छन् । उकालो ओरालो बाटोमा निकै उपयोगी हुने हिल असिसटेन्स छ ।
हिटेड स्टेरिङ, हिटेड सिट छन् । सनरूफ छ । म्युजिक सिस्टम उत्कृष्ट छ । तर यसमा ३६० डिग्री भ्यू कैद गर्ने क्यामेरा भने छैन । त्यो पनि भइदिएको भए सुनमा सुगन्ध नै हुन्थ्यो । तर पनि गाडीमा भएका फिचरले पुरानो जस्तो लाग्दैन ।