close

टिकटकमा विकृति बढेपछि नियमनमा उत्रियो सरकार, जथाभावी भिडिओ बनाउनेमाथि कारबाही हुने

टेकपाना टेकपाना

कात्तिक १९, २०८० १९:६

टिकटकमा विकृति बढेपछि नियमनमा उत्रियो सरकार, जथाभावी भिडिओ बनाउनेमाथि कारबाही हुने

 

काठमाडौं । नेपालमा टिकटकमार्फत गैरकानूनी सामग्री प्रकाशन तथा प्रसारण गर्ने कार्यलाई कडाइ गरिने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यस्ता सामग्री टिकटकबाट स्वत: हट्ने व्यवस्था मिलाउन र दोषी उपर कानूनी कारबाही गरिन लागेको बताएको हो ।

त्यसका लागि गत शुक्रबार गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकाय एवम् टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच छलफल भएको छ । उक्त छलफलले सामाजिक सञ्जालको दुरुपयोग रोक्न र दोषी उपर कानून बमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरो लगायतका सरकारी निकाय र टिकटकको कार्यालयबीच सहकार्य बढाउने निचाेड निकालेकाे छ ।

"टिकटकमार्फत सामाजिक सद्‍भाव बिगार्ने, घृणा तथा द्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्‍भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरू पत्ता लगाई कानूनी कारबाहीको दायरमा ल्याउन सहज हुनेछ," गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै टिकटक लगायतका सामाजिक सञ्जाल व्यक्तिगत तथा सामाजिक जीवनका अभिन्न अङ्ग बनिसकेकाले सामाजिक सद्‍भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ ।

 

हेर्नुहोस् सूचना

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८० १९:६