काठमाडौं । अब गुगल सर्च र लेन्सको सहयोगमा जियोमेट्री, फिजिक्स र क्याल्कुलसका समस्या हल गर्न सकिने भएको छ । गुगलले त्यसका लागि आफ्नो सर्च इन्जिन र लेन्स टुलका लागि अपडेट जारी गरेको हो ।
नयाँ अपडेटले तपाईंलाई हरेक चरणको व्याख्यासँगै सही उत्तर निकाल्न सर्च बारमा समीकरण टाइप गर्न अथवा गुगल लेन्समार्फत त्यसको फोटो खिच्ने अनुमति दिन्छ । यति मात्र होइन, यो नयाँ फिचरले शाब्दिक समस्याको समाधान समेत उपलब्ध गराउने बताइएको छ ।
उदाहरणको लागि हाई स्कुल फिजिक्स अवधारणा अन्तर्गत "vf= vi + at." समीकरण प्रयोग गरी औसत एक्सिलेरेसन पत्ता लगाउने जस्ता काम यसले गर्न सक्छ । तपाईं सर्च बारमा सोझै "[math solver]" टाइप गरी गणितीय समस्या समाधान गर्ने टुलमा पुग्न पनि सक्नु हुन्छ ।
हाल डेस्कटप भर्सनमा मात्र उपलब्ध यो फङ्सन यसै वर्षको अन्त्यसम्म मोबाइलमा समेत सार्वजनिक हुने टेकक्रञ्चले जनाएको छ । अर्को उपयोगी नयाँ फिचर हो, जियोमेट्री सल्भर अर्थात ज्यामितीय समस्या हल गर्न सघाउने टुल ।
ज्यामितीय समीकरण हल गर्न थुप्रै भिजुअलाइजेसनको आवश्यकता पर्ने अवस्थामा लेन्सले भिजुअल र समस्याको लिखित हिस्सा दुवैको व्याख्या गरि दिन सक्छ । "यद्यपि लेन्सले केवल "निश्चित त्रिकोण समीकरण" को मात्र व्याख्या दिन सक्छ," कम्पनीले गुगल प्रोडक्टका प्रमुख रोबर्ट वोङ्गलाई उद्धृत गर्दै आफ्नो ब्लगमा लेखेको छ ।
गुगलको जियोमेट्री सोल्भरले तत्काल हल गर्न सक्ने केही समीकरण
त्रिकोणको क्षेत्रफल पत्ता लगाउन A = 1/2 x उचाई x आधार अथवा हेरोन्सको सुत्र ।
त्रिकोणको परिधि पत्ता लगाउन ।
कुनै थाहा नभएको किनाराको लम्ब अथवा कोण पत्ता लगाउन "Isosceles Triangle Theorem" अप्लाई गर्ने ।
समकोणको अविलम्बको लम्बाई निकाल्न "Pythagorean Theorem" अप्लाई गर्ने ।
"हाम्रो ज्यामितीय अनुभवका लागि हामी समस्याको उपसमूहमा केन्द्रित हुन चाहन्थ्यो, जसले अन्ततः जियोमेट्रीका थप विविध क्षेत्रलाई समेट्ने गरी ठूलो असर पार्न सकोस्," वोङ्गले भनेका छन् ।
फिजिक्स र जियोमेट्री सल्भरका लागि गुगलले आफ्नो मल्टिटास्क युनिफाइड मोडेल (एमयूएम) लाई उपयोग गरेको छ, जसले अक्षर, तस्वीर र भिडिओ लगायतका विभिन्न ढाँचामा रहेका जिज्ञासालाई बुझ्ने गर्दछ ।
"भाषा र जिज्ञासा बुझ्ने कार्य आफैंमा जटिल चुनौती हो, अधिक सहयोगी परिणाम निकाल्ने कार्यको सुनिश्चिततका लागि हामीलाई विशेष प्रणालीको आवश्यकता पर्छ," वोङ्गले व्याख्या गर्दै भनेका छन् ।
"यो अवस्थामा कुनै समस्याको सही व्याख्या र अक्षर र डायग्राम सहितको चरणबद्ध सत्य प्रतिक्रिया दिनका लागि फिचरले अक्षर र तस्वीर दुवै ढाँचामा भएका सूचनालाई सही रूपमा बुझ्न सक्नु पर्ने आवश्यकता रहन्छ ।"
गुगलले यी नयाँ फिचरले कति प्रतिशतसम्म सही नतिजा दिन सक्छ भन्ने कुरा भने बाहिर ल्याएको छैन । यद्यपि वोङ्गले भनेका छन्, "हाम्रो परीक्षणले सत्यताको दर निकै उच्च रहेको देखाउँछ ।"
प्रोब्लेम सल्भिङका अतिरिक्त गुगलले सर्चका लागि नयाँ थ्रीडी मोडेल समेत सार्वजनिक गरेको छ । जसले तपाईंलाई बायोलोजी, केमेस्ट्री, फिजिक्स र एस्ट्रोनोमी लगायतका करिब एक हजार शीर्षकमा अन्तरक्रियात्मक रेखाचित्रहरू जाँच्ने सुविधा दिन्छ ।
त्यसो त गुगलले केमेस्ट्री, बायोलोजी, फिजिक्स र एनाटोमी अवधारणाका २०० भन्दा बढी रेखाचित्र सहित सन् २०२१ मा नै थ्रीडी मोडेल ल्याएको थियो । त्यसको केही वर्षमा प्रविधिको दिग्गज कम्पनीले प्रयोगकर्तालाई सिक्न र आफ्नो ज्ञान परीक्षण गर्नका लागि अन्तरक्रियात्मक फिचर, "प्राक्टिस प्रोब्लेम" सार्वजनिक गरेको हो ।
जसमा उच्च माध्यमिक विद्यालय तहका गणित, रसायन शास्त्र र फिजिक्स जस्ता शीर्षक समावेश छन् । गुगल सर्चले हालै मात्र प्रम्ट उपलब्ध गराउने र दिइएको शब्दावलीलाई चर्को स्वरमा उच्चारण गर्न लगाउने इङ्गलिस ट्युटोरियल टुल समेत रोलआउट गरेको थियो ।