close

तिहारमा मिठोमिठो परिकार बनाउन सिकाउने ५ उत्कृष्ट युट्युब च्यानल

टेकपाना टेकपाना

कात्तिक २६, २०८० १२:५५

तिहारमा मिठोमिठो परिकार बनाउन सिकाउने ५ उत्कृष्ट युट्युब च्यानल

काठमाडौं । हिन्दु धर्मावलम्वीहरूको दोस्रो ठूलो पर्व तिहार घरआँगनमा भित्रिसकेको छ । उज्यालोको पर्वको रूपमा समेत चिनिने यो चाड मिठोमिठो खानेकुराका परिकारका हिसाबले पनि उत्तिकै महत्त्व राख्छ । 

आफन्त, परिवारजनसँग भेटघाट हुँदा खानेुकरा छुट्टिने कुरा नै भएन । कतिपय अवस्थामा तयार पार्न खोजेको परिकार कसरी बनाउने भन्ने विषयको राम्रो ज्ञान र अनुभव नहुन सक्छ । कतिखेरै के बनाउने, के नबनाउने अलमल पनि हुन सक्ला । 

यस्तो अवस्थामा युट्युब निकै सहयोगी बन्न सक्छ । जहाँ तपाईंले आफ्नो घरमै बनाउन सकिने परिकारका बारेमा तयार पारिएका भिडिओ सामग्री फेला पार्न सक्नु हुन्छ । 

त्यसो त पछिल्लो समय अन्य विधामा जस्तै परिकार तयार पार्न सिकाउने युट्युब च्यानल बेग्रेल्ती भेट्न सकिन्छ । जस मध्ये हामीले भिडिओ/अडियोको गुणस्तर, सब्सक्राइबर, पब्लिस गरिएका भिडिओको सङ्ख्या, नियमितता, भ्युज, भिडि‌ओमा खाना बनाउन सिकाउने शैली, इन्गेजमेन्ट, परिकारको गुणस्तर जस्ता विषयलाई आधार मानेर उत्कृष्ट पाँच च्यानल छनौट गरेका छौं । 

आज हामी तिहारमा मिठामिठा खाने कुराका परिकार तयार पार्न सिकाउने नेपाली युट्युब च्यानलबारे चर्चा गर्दै छौं । यी च्यानल छनोटको उद्देश्य खाना बनाउन सघाउने भिडिओ सामग्रीमाथि केन्द्रित छ । त्यसैले सिकाउने पाटोलाई विशेष ध्यान दिइएको छ । 


१. मेरो नेपाली किचेन (Mero Nepali Kitchen)

यो च्यानल पुरानो हुनुका साथै नियमित रूपमा सक्रिय पनि छ । महिनामा औसत ४/५ ओटा भिडिओ प्रकाशित भइरहेका हुन्छन् । 

च्यानलमा चाडपर्व अनुसारका खानेकुराहरू बनाउन सिकाइएको छ । त्यस्तै नेपाली बाहेक अन्य देशका खानेकुरा समेत यसमा देख्न सकिन्छ । 

परिकार बनाउने सरल तरिका, तिनको उपयोगिता च्यानलमार्फत सरल तरिकाले बताइएको छ । यस च्यानलमा कथावाचन शैलीमा परिकार बनाउन सिकाइएको छ । 

सेल, मासुको अचार, डुनोट, अनरसा, मेथीको अचार बनाउनरे तरिका यो च्यानलले सिकाउने केही परिकारहरू हुन् । च्यानलमा ३२३ ओटा भिडिओ अपलोड भइसकेका छन् । २०१७ देखि सक्रिय च्यानलमा सात लाख ७७ हजार सब्सक्राइबर छन् । यस च्यानलमा जान यहाँ क्लिक गर्नुहोस् ।

 

२. अमर पन्छि फुड वर्ल्ड (Amar Panchhi Food World)

खानाका परिकार बनाउन सिकाउनेमा यो पनि पुरानो र सक्रिय मध्येकै च्यानल हो । यसमा माछामासु, तरकारी, अचार लगायतका खानेकुराका परिकारहरू बनाउन सिकाइएको छ । 

यसमा पनि परिकार बनाउन आवश्यक सामग्री र त्यसलाई बनाउने प्रक्रिया कथावाचन शैलीमा बताइएको छ । जसले गर्दा सिक्न इच्छुक व्यक्तिलाई पनि सहयोग पुग्छ । च्यानलमा खानाका परिकारहरू अनुसार प्ले लिस्ट बनाइएको छ । अकबरे खुर्सानीको अचार, गुन्द्रुक बनाउने तरिका, पिरो चाउचाउ बनाउने तरिका च्यानलका केही लोकप्रिय भिडिओ हुन् । 

सन् २०१७ देखि सक्रिय रहेको यो च्यानलमा १ लाख ५६ हजार सब्सक्राइबर छन् भने पब्लिस भएका भिडिओको संख्या ६६८ रहेको छ । यस च्यानलमा जान यहाँ क्लिक गर्नुहोस् । 

 

३. छेतेन दुक्पा रेसिपी (Tsheten Dukpa Recipe)

च्यानलमा छेतेन दुक्पा देखिन्छिन् । अनि बनाउन थाल्छिन् मिठामिठा परिकार । विगत पाँच वर्षदेखि यस च्यानलमा ‘कुक’ र ‘प्रशिक्षक’को भूमिकामा यसरी नै उनी देखा परिरहेकी छिन् । 

सरल र सजिलो तरिकाले खाना पकाउन सकिने कुरामा विश्वास गर्ने उनले च्यानलमा नेपालीसँगै तिब्बती र भुटानी खानाका रेसिपीहरू लिएर आउने गर्छिन् । भिडिओमा पकाउन लागेको परिवारलाई उनले सविस्तार कसरी पकाउने भनेर बताउँछिन् । 

उनको च्यानलमा खाना, अचार, खाजा लगायतका विभिन्न परिकार कसरी बनाउने भनेर सिक्न सकिन्छ । कुल तीन लाख पाँच हजार सब्सक्राइबर रहेको उनको च्यानलमा भिडि‌ओको सङ्ख्या २५५ छ । यस च्यानलमा जान यहाँ क्लिक गर्नुहोस् । 

 

४. सजिलो किचेन (Sajilo Kichen) 

युट्युब च्यानलमा परिकार बनाउँदै त्यसको प्रक्रियाबारे बताइरहेका भेटिन्छन् रमेश देउपाटे । नेपाली खानाका स्वादहरू तयार पार्न अरूलाई पनि सहयोग गर्न सकिन्छ भन्ने हेतुका साथ उनी युट्युब तिर लागेका हुन् । 

सोही कारण उनको च्यानलमा नेपालका विभिन्न जातजातिमा लोकप्रिय स्वादिष्ट खानाका परिकार बनाउने शैली सिक्न सकिन्छ । त्यति मात्र नभएर ती खानाको अतिरिक्त जानकारीहरू समेत उनले भिडिओ मार्फत दिने गरेका छन् । 

खाना बनाउने प्रक्रिया, चाहिने सामान, तिनका गुण/विशेषता सबै उनले सकभर समेट्ने प्रयास गरिरहेका हुन्छन् । उनले पनि विगत पाँच वर्षदेखि च्यानलमार्फत परिकार बनाउन सिकाइरहेका छन् । कुल एक लाख ९५ हजार सब्सक्राइबर रहेको सजिलो किचेन च्यानलमा ८७५ ओटा भिडिओ छन् । यस च्यानलमा जान यहाँ क्लिक गर्नुहोस् । 

 

५. यम्मी नेपाली किचेन (Yummy Nepali Kitchen) 

'हेल्लो हाई नमस्ते…' सुरिलो अनि मिठो आवाजका साथ भिडिओको सुरुआत हुन्छ । अनि परिकार बनाउने सामग्री सँगसँगै त्यसको प्रक्रिया । यो स्वर हो 'यस्तै रहेछ यहाँको चलन', 'पिरतीको रहर', ‘ए हजुर ए हजुर’ लगायतका दर्जनौं गीत गाएकी देविका बन्दनाको । 

नेपाली भाषामा खाना बनाउन सिकाउने युट्युब च्यानलहरू खासै नभएको समयमा नै गायिका देविका बन्दनाले यो च्यानल सुरु गरेकी हुन् । सन् २०१५ मा सुरु भएको उनको च्यानल पछिल्लो चार वर्षमा भने खासै सक्रिय देखिँदैन । यद्यपि च्यानलमा २०६ ओटा भिडि‌ओ अपलोड भइसकेका छन् । 

त्यस्तै नियमित नभएपनि पछिल्लो समयमा बेलाबेला भिडिओहरू राखिरहेकी छिन् । च्यानलमा खाना, खाजा, अचार, पेयका विभिन्न परिकारहरू बनाउन सिकाइएको छ । हालसम्म एक लाख ८९ हजार यो च्यानलमा जोडिएका छन् । खाना बनाउन सिकाउने पुराना नेपाली युट्युब च्यानल मध्ये ‘यम्मी नेपाली किचेन’ पनि एक हो । यस च्यानलमा जान यहाँ क्लिक गर्नुहोस् । 

यी बाहेक खाना बनाउन सिकाउने थुप्रै नेपाली युट्युब च्यानल छन् । जस्तो: १० लाख सब्सक्राइबर भएको ‘यम्मि फुड वर्ल्ड’ । राम्रो सब्सक्राइबर बटुल्न सफल ‘रिताज् किचेन’ तथा ‘सेफ सुनी’ । तर यी च्यानल लामो समयदेखि निष्क्रिय छन् । 

त्यस्तै तीन वर्षको अवधिमा ८२५ बढी भिडिओ राखेको र राम्रो इन्गेजमेन्ट भएको 'नेपाली भिलेज किचेन' । कम समयमा राम्रो चर्चा बटुल्न सफल ‘कान्छी किचेन’ । 

यी च्यानलमा परिकार तयार पार्दै गरेका भिडिओ नियमित राख्ने गरिए पनि परिकार त्यसको तरिका/प्रक्रियाको बारेमा भने खासै सिकाइएको छैन । सिक्नभन्दा पनि मनोरञ्जनात्मक उद्देश्यले हेर्ने दर्शकलाई लक्षित गर्दै ती च्यानल खोलिएका हुन् । 

यद्यपि ती च्यानलबाट सिक्नै नसकिने भन्ने पनि छैन । नेपाली अञ्जनाज नेपाली किचेन,सादा रेसिपी, निना नेपाली किचेन, इजी किचेन रेसिपी, फुड एन्ड बेभरेज नेपाल, द फुड आर्टस, मम्स म्याजिक फुड, लर्न टु कुक विथ मी, राउन्ड चिली लगायतका अन्य च्यानल समेत हाम्रो छनौटमा परेका थिए । 


 

 

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८० १२:५५