काठमाडौं । यस वर्ष एप्पलले पहिलो पटक लाइटनिङ पोर्टको सट्टा यूएसबी-सी पोर्ट भएको आईफोन १५ सिरिज सार्वजनिक गर्यो । एप्पलले आईफोन सार्वजनिक गर्दा यूएसबी-सी ल्याउनुको पछाडि आफ्नो कारण खुलाएको छैन । तर युरोपेली संघ (ईयू)ले आफ्ना सदस्य राष्ट्रहरूमा यस्तो पोर्ट समावेश फोनमात्रै बिक्री गर्न दिने नियम ल्याएपछि एप्पल लाइटनिङ पोर्टको विकल्प खोज्न बाध्य भएको विश्लेषण गरिन्छ ।
हालै ईयूले डिजिटल मार्केट एक्ट (डीएमए) नामकाे अर्को ऐन पारित गरेको छ, जसले एप्पल जस्ता कम्पनीहरूलाई 'गेटकिपर' को रूपमा पहिचान गर्दै बजार एकाधिकार रोक्न साइडलोडिङ एपहरूलाई पनि पहुँच दिनेछ । यसको अर्थ एप्पल एपस्टोर बाहेक अन्य एप ओपन इन्टरनेट सोर्सबाट सोझै डाउनलोड गर्न सक्छन् ।
यो ऐन सन् २०२४ देखि लागू गर्ने ईयूको तयारी छ । याे नियम पालना गर्न एप्पलले ईयू क्षेत्रहरूमा साइडलोडिङ खुला गर्नुपर्ने हुन्छ । ईयू बाहिरका देशमा भने कम्पनीले साइडलोडिङ प्रतिबन्ध लगाउन सक्छ ।
साइडलोडिङ सुविधा यसअघि नै एन्ड्रोइड उपलब्ध छ । तर एप्पलले भने सुरक्षा जोखिम निम्तिने भन्दै साइडलोडिङ अस्वीकार गर्दै आएको छ । यस्तो व्यवस्थाले एप्पलको आम्दानी समेत प्रभावित हुने अनुमान गरिएको छ । हाल एपस्टोरमा एप राख्न डेभलपरले शुल्क बुझाउनु पर्ने तथा आम्दानी बाँड्नुपर्ने व्यवस्था छ ।
पछिल्लो समयमा एप्पलको एपस्टोर अभ्यास तथा आईफोन प्रयोगकर्ताको एप खरिद र डाउनलोड गर्ने विषयमा विभिन्न देशमा कानूनी बहस भइरहेको छ ।