close

टिकटक ब्लक नगर्ने इन्टरनेट सेवाप्रदायकलाई कारबाही गर्ने नियामकको चेतावनी

टेकपाना टेकपाना

कात्तिक २८, २०८० १८:११

टिकटक ब्लक नगर्ने इन्टरनेट सेवाप्रदायकलाई कारबाही गर्ने नियामकको चेतावनी

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवाप्रदायकको नेटवर्कबाट टिकटक अझै चलिरहेको भन्दै बन्द गर्न निर्देशन दिएको छ । मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले केही सेवाप्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्ने बुझिन आएकोले तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गर्न अनुरोध गरेको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार (कात्तिक २७) को बैठकले सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो ।

यसलगत्तै उक्त निर्णय कार्यान्वयनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी दूरसञ्चार प्राधिकरणले सम्बन्धित सबै इन्टरनेट सेवाप्रदायक र मोबाइल सेवाप्रदायकलाई आ-आफ्नो नेटवर्कबाट टिकटक ब्लक गर्न निर्देशन दिएको थियो ।

केही इन्टरनेट सेवाप्रदायकले प्राधिकरणको निर्देशन बमोजिम टिकटक पहुँच खुला भएको पाइएकाले तत्काल बन्द गर्न निर्देशन दिएको हो । प्राधिकरणले उक्त निर्देशन पालना नगर्ने सेवाप्रदायकहरूलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८० १८:३२