close

ह्वावेको अत्याधुनिक चिप, यसरी बन्दैछ अमेरिकाको टाउको दुखाइ

टेकपाना टेकपाना

मंसिर ६, २०८० १२:४२

ह्वावेको अत्याधुनिक चिप, यसरी बन्दैछ अमेरिकाको टाउको दुखाइ

काठमाडौं । अहिले चिनियाँ स्मार्टफोन निर्माता ह्वावेले सुटुक्क बजारमा ल्याएको ह्वावे मेट ६० प्रो फोनले चर्चा बटुलिरहेकाे छ । यो फोन पहिलो नजरमा हेर्दा केवल एक स्मार्टफोन मात्र हो भन्ने लाग्छ । तर, एकचोटि तपाईंले भित्र के छ भनेर जान्नुभयो भने यो असाधारण स्मार्टफोन हो भन्ने कुरामा विश्वस्त हुनुहुने छ ।

स्मार्टफोनबाहेक यो फोनले देश (चीन)को आत्मनिर्भरता र अब्बल प्रविधिलाई प्रतिनिधित्व गरेको छ । विशेषतः यस डिभाइसमा प्रयोग भएको माइक्रोप्रोसेसरले ह्वावेप्रतिको दृष्टिकोणलाई नै परिवर्तन गरिदिएको छ ।

यो माइक्रोप्रोसेसर चीनमा डिजाइन र निर्माण गरिएको हो । अहिले यही माइक्रोप्रोसेसर विश्वका दुई ठूला अर्थतन्त्र चीन र संयुक्त राष्ट्र अमेरिकाबीचको तनावको केन्द्रमा छ । ह्वावेले उत्पादन गरेकाे मेट ६० प्रोलाई चीनका लागि एक प्रमुख उपलब्धिका रूपमा हेरिएको छ । किनभने यो प्रविधिको सन्दर्भमा ह्वावे अमेरिकामा निर्भर छैन ।

अमेरिकाले यसअघि ह्वावेलाई स्मार्टफोनका लागि आवश्यक पर्ने मुख्य कम्पोनेन्टहरू प्राप्त गर्नबाट रोक्ने प्रयास गरेको थियो । त्यसपछि ह्वावेले यी कम्पोनेन्ट आफैं बनाउने तरिका फेला पार्‍यो । यो ह्वावे अर्थात् चीनका लागि महत्त्वपूर्ण सफलता हो, किनकि यसले अब प्रविधिको लागि चीन अमेरिकामा निर्भर छैन भन्ने देखाएको छ ।

“अत्याधुनिक प्रविधि विकास गर्ने चीनको क्षमता उल्लेखनीय रूपमा बढेको छ,” ब्लुमबर्ग न्युजका लागि एसियाको प्रविधि क्षेत्रमा कलम चलाउने पत्रकार डेबी वु (Debby Wu) भन्छिन्, “यसले अमेरिकी अधिकारीहरूमा चिन्ता पैदा गरेको छ ।”

अमेरिकी अधिकारीहरूको प्राथमिक चिन्ता भनेको स्मार्टफोनको सट्टा सैन्य उपकरणहरूमा यी अत्याधुनिक चिपहरूको प्रयोग हो । चीनको यो स्तरको प्राविधिक उन्नति हासिल गर्ने क्षमता देखेर उनीहरू छक्क परेका छन् । अमेरिकी वाणिज्य सचिव जीना रेमन्डोको हालैको बेइजिङ भ्रमण व्यापार, भूराजनीति र अन्य मुद्दाहरूमा विवादमा रहेका दुई देशबीचको तनावलाई कम गर्ने उद्देश्यले थियो ।

पछिल्ला केही वर्षहरूमा उनको विभागले चीनलाई आगामी प्रविधि क्रान्तिलाई बढावा दिन आवश्यक पर्ने अत्याधुनिक सेमिकन्डक्टर खरिद वा निर्माण गर्न गाह्रो बनाएको छ । अमेरिकी 'उग्रवादी'ले यो काम चीनको सैन्य क्षमतामा प्रतिबन्ध लगाउने बारेमा भएको दाबी गरेका छन् । चिनियाँ पक्षले भने यो निर्णय राष्ट्रको आर्थिक वृद्धिमा प्रतिबन्ध लगाउनेमा केन्द्रित भएको दाबी गरेकाे छ ।

“अमेरिकीहरूको राष्ट्रिय सुरक्षाको रक्षा गर्ने कुरामा वार्ता गर्ने ठाउँ छैन,” भ्रमणपछि अमेरिकी वाणिज्य सचिव जीना रेमन्डोले भनिन् । उनको यही वक्तव्यले यो भ्रमण चाँडै छायामा पर्‍यो । यसो त ह्वावेको मेट ६० एप्पलको आईफोनसँग प्रतिस्पर्धा गर्न बनाइएको हो । तर आईफोन १५ जस्तो यो फोनलाई कम्पनीले धुमधामका साथ सार्वजनिक गरेन । बरु यसको सट्टा चुपचाप अनलाइन बिक्रीका लागि खुलायो । सुटुक्क सार्वजनिक भएको यो फोनका सबै युनिट कही घण्टामै बिक्री भए । 

प्रविधिमा पहुँच प्रतिबन्ध गर्ने प्रयासहरूको बाबजुद चीन अझै पनि उन्नत उत्पादनहरू विकास गर्न सक्षम छ भन्ने सन्देश दिन ह्वावेको नयाँ स्मार्टफोनलाई उचित समयमा सार्वजनिक गरिएको बताइएको छ ।

“यो प्रक्रियामा हामीले के पत्ता लगायौं भने ह्वावेको नयाँ फोन स्व-डिजाइन चिपद्वारा सञ्चालित छ,” पत्रकार डेबी भन्छिन्, “जसलाई एसएमआईसी (सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेसनल कर्पोरेसन) ले निर्माण गरेको हो ।” 

एसएमआईसी चीनको सबैभन्दा ठूलो चिप निर्माता हो । यो त्यस्तो कम्पनी हो, जसले अरू कम्पनीले डिजाइन गरेको सेमिकन्डक्टर निर्माण गर्ने गर्छ । उदाहरणका लागि यो कम्पनीले ह्वावेले डिजाइन गरेका चिप निर्माण गर्दै आइरहेको छ । उनी अगाडि भन्छिन्, “यसले के देखाउँछ भने यी दुई चिनियाँ कम्पनी सेमिकन्डक्टर क्षमतामा राम्रो प्रगति गर्दैछन् ।”

चिप उद्योगले चिपको साइज नाप्न नानोमिटरहरू प्रयोग गर्छन् । जुन एक मिटरको अरबौं भाग हो । यो डीएनए डबल हेलिक्सको लगभग आधा व्यास हो । चिपमा ट्रान्जिस्टर जति सानो हुन्छ, चिप त्यति नै शक्तिशाली हुन्छ । यदि हामीले पछिल्लो समय बजारमा आएका स्तरीय फोन जस्तै सामसङको ग्यालेक्सी वा एप्पलको आईफोन हेर्ने हो भने पनि यी डिभाइसमा ३ एनएम प्रविधिको चिप समावेश गरिएको छ । 

अमेरिका चीनलाई केही प्रविधिमा पहुँच दिनबाट रोकेर सो देशको प्रविधि विकास गर्ने क्षमतालाई सीमित पार्न चाहन्छ । यसरी प्रविधिमा सीमितता ल्याएर चीनलाई अमेरिकाभन्दा आठदेखि १० वर्ष पछाडि पार्ने यूएस एक्स्पोर्ट कन्ट्रोलको उद्देश्य थियो । तर मेट ६० प्रो मा प्रयोग भएको किरिन ९००० एस (Kirin 9000s) चिपले के देखाउँछ भने विश्वको सबैभन्दा अत्याधुनिक प्रविधिभन्दा चीन तीनदेखि चार वर्ष मात्र पछाडि छ । 

यसले अमेरिकी निर्यात नियन्त्रण आशा गरेजस्तो प्रभावकारी हुन सकेको छैन भन्ने देखाउँछ । यसको अर्थ चीनको प्राविधिक प्रगतिलाई सुस्त बनाउने अमेरिकाको योजना खासै सफल हुन सकेको छैन ।

ह्वावे मेट ६० को यो चिप सात नानोमिटर प्रडक्सनबाट तयार पारिएको हो । यो आईफोन १५ वा सामसङको पछिल्लो सिरिजभन्दा निकै नजिक भएको विज्ञहरूको भनाइ छ । यति सम्मकी अमेरिकाले चीन चिपको सन्दर्भमा यति अगाडिसम्म पुग्छ भन्ने अपेक्षा नै गरेको थिएन । 

त्यसोभए ह्वावे र एसएमआईसीले यो सफलता हासिल गर्न कसरी सके ? पछिल्ला केही वर्षहरूमा संसारका अधिकांश अत्याधुनिक चिप ताइवानबाटै आउने गर्छन् । ताइवानमा चिप बनाउने एउटै कम्पनी हो टीएसएमसी (ताइवान सेमिकन्डरक्टर म्यानुफ्याक्चरिङ कम्पनी)। 

पहिले, ह्वावेको हाईसिलिकन (HiSilicon) डिभिजनले टीएसएमसीद्वारा निर्मित र आयात गरिएका चिपहरू डिजाइन गरेको थियो । यद्यपि, अमेरिकी प्रतिबन्धले यो व्यवस्थालाई अन्त्य गर्‍यो । “चीनले पश्चिमी प्रविधिहरू उपलब्ध नभएको बेला समाधान खोज्ने क्षमता देखाएको छ,” पत्रकार डेबी भन्छिन् । 

सबैभन्दा शक्तिशाली चिप उत्पादन गर्ने उपकरणको सबैभन्दा महत्त्वपूर्ण भाग एक्सट्रिम अल्ट्राभायोलेट लिथोग्राफी (EUV) मसिन हो । 

ब्लुमबर्गका अनुसार यो मसिन तयार पार्न झन्डै एक दशकको समय र करिब १० करोड डलरभन्दा बढी खर्च भएको थियो । डच कम्पनी एएसएमएल मात्र एक यस्तो कम्पनी हो जसले यी मसिन बनाएको छ । अमेरिकाले भने एएसएमएललाई यी मसिन चीनमा बिक्री गर्नबाट रोक लगाएको छ । तर, उक्त मसिनको पुरानो संस्करण वा मोडेल डीयूभी (डिप अल्ट्राभायोलेट लिथोग्राफी) भने चीनमा बिक्री गर्न गर्न दिएको छ ।   

चीनलाई पुरानो प्रविधि प्रयोग गर्न दिँदा उनीहरू कहिल्यै धेरै शक्तिशाली चिप बनाउन सक्षम हुनेछैनन् भन्ने अमेरिकी सरकारको सोच थियो । तर, चीनले यो पुरानो प्रविधिको प्रयोग गरेर अमेरिकाले सोचेभन्दा शक्तिशाली चिप बनाउन सक्षम भएको विज्ञहरूको भनाइ छ । 

ब्लुमबर्गकका अनुसार चिनियाँ चिप निर्माता एमएसआईसीले एएसएमएलको पुरानो डीयूभी मसिन प्रयोग गरेरै किरिन ९००० एस चिप बनाएको हो । यद्यपि उनीहरू त्यही कम शुल्कमा धेरै चिप निर्माण गर्न सक्छन् वा सक्दैनन् भन्ने स्पष्ट छैन ।

यदि उनीहरूले ठूलो मात्रामा चिप निर्माण गर्न सक्षम भए भने ह्वावेले राम्रै नाफा गर्ने बताइएको छ । चिप अभावकै कारण ह्वावे मेट ६० प्रो पनि त्यति धेरै सङ्ख्यामा निर्माण गरिएनन् । जसले गर्दा माग धेरै भयो, तर आपूर्ति पर्याप्त हुन नसक्दा छिट्टै सोल्डआउट भएको हुनसक्ने ब्लुमबर्गले उल्लेख गरेको छ ।

अमेरिकाका केही व्यक्तिहरू आफ्नो देशको सरकारले चीनलाई अत्याधुनिक प्रविधिको पहुँचबाट रोक्नुपर्छ भन्ने तर्क गर्छन् । चीनलाई धेरै शक्तिशाली बन्नबाट रोक्ने यो अन्तिम मौका हो भन्ने उनीहरूको विश्वास छ । “केही सांसद (रिपब्लिकन ल मेकर्स)हरूले बाइडेन प्रशासनलाई ह्वावे र एसएमआईसीलाई कुनै पनि प्रविधि बेच्न बन्द गर्न आह्वान गरिरहेका छन्,” पत्रकार डेबी भन्छिन्, “जसले गर्दा यी कम्पनीले कम उन्नत उत्पादनहरू बनाउन सकून् ।”

छोटो अवधिमा, यसले चिनियाँ कम्पनीको क्षमताको ह्रास हुने सम्भावना छ । तर, दीर्घकालीन परिप्रेक्ष्यबाट हेर्दा अमेरिकाले ती चिनियाँ कम्पनीलाई आफ्नै तवरबाट अत्याधुनिक प्रविधि विकास गर्न प्रेरित गरिरहेको देखिन्छ । 

चीन सबैभन्दा ठूलो सेमिकन्डक्टर उपभोक्ता बनेको छ । यदि इन्टेल र एनभिदियाजस्ता कम्पनीले यो प्रमुख बजार गुमाए भने उनीहरूले उल्लेखनीय रूपमा कम राजस्व उत्पन्न गर्न सक्छन् । र, नयाँ आविष्कार जारी राख्ने र अमेरिकालाई चीनभन्दा अगाडि राख्ने उनीहरूको क्षमतालाई चोट पुर्‍याउन सक्ने पत्रकार डेबीको भनाइ छ । 

सेमिकन्डक्टरमा चिनियाँ खर्च योजनाहरू व्यापक रूपमा १०० अर्ब डलरभन्दा बढी भएको बताइएको छ । त्यो टीएसएमसी जस्ता प्रमुख चिप निर्माताको वार्षिक खर्चको तीन वा चार गुणा हो । त्यस किसिमको पूँजी, त्यस किसिमको धैर्यतालाई ध्यानमा राखेर समयसँगै चीनले अत्याधुनिक क्षमता हासिल गर्ने सम्भावना छ ।

पछिल्लो अध्यावधिक: मंसिर ९, २०८० १८:४२