close

फिफियामा बैंक अकाउन्ट लिङ्क गर्नेमाथि समेत उजुरी, जुनसुकै बेला हुन सक्छन् पक्राउ

हिक्मत आचार्य हिक्मत आचार्य

मंसिर ६, २०८० १४:५५

फिफियामा बैंक अकाउन्ट लिङ्क गर्नेमाथि समेत उजुरी, जुनसुकै बेला हुन सक्छन् पक्राउ

काठमाडौं । अवैध अनलाइन सट्टेबाजीको प्लेटफर्म फिफियामा बैंक अकाउन्ट लिङ्क गरेर कारोबार गर्ने ४५ जनालाई प्रहरीले प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । गत असोज ४ गते दादिका शेर्पा (राई)लाई पक्राउ गरेर सुरु गरिएको अनुसन्धानबाट उनीसहित ४५ जनामाथि मुद्दा दर्ता गरिएको हो ।

सबैभन्दा पहिले असोज ४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सो प्लेटफर्मबाट ठगी गरेको आरोपमा भोजपुर घर भई काठमाडौं, टोखा बस्दै आएकी २८ वर्षीया दादिकालाई पक्राउ गरेको थियो । त्यसपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो ।

परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार अनुसन्धानकै क्रममा उनीसँगै मिलेर काम गर्ने  २४ वर्षीय जीवनकुमार श्रेष्ठ त्यसको १२ दिनपछि पक्राउ परेका थिए । प्रहरी उपरीक्षक ढुङ्गेलका अनुसार यी दुई जनासहित बाँकी ४३ जना फरार प्रतिवादीमाथि मुद्दा दर्ता गरिएकाे छ ।

दुई महिने अनुसन्धानका क्रममा १८२ जनाले सो प्लेटफर्मविरुद्ध उजुरी दिएको ढुङ्गेलले बताए । यसरी विभिन्न कोणबाट अनुसन्धान गर्दा प्रहरीले हालसम्म ४५ जनालाई प्रतिवादी बनाएको हो । 

प्रहरीका अनुसार बाँकी ४३ जना ती व्यक्तिहरू हुन्, जसको बैंक अकाउन्टबाट सो प्लेटफर्ममा रकम जम्मा र विथड्र (झिकेका) गरेका थिए ।

“यो प्लेटफर्मबाट ठगिने धेरै रहेछन् । उनीहरू पक्राउ परेपछि जाहेरी दिने थपिएको थपियै भए,” ढुङ्गेलले भने, “हामीले १८२ जनाको जाहेरी बुझेर मुद्दा बुझाउने तयारी गरेका छौं ।”

उनका अनुसार सर्वसाधारणले जम्मा गरेको रकम नेपालमा नभइ बाहिर गइसकेको अनुसन्धानबाट देखिएको छ । सुरुवाती समयमा रकम नेपालभित्रै सर्कुलेट भए पनि विस्तारै सबै रकम उक्त प्लेटफर्मबाट बाहिरिएको ढुङ्गेलले सुनाए ।

“यसमा जतिले रकम राखेका थिए, त्यो सबै बाहिर गएको हाम्रो अनुसन्धानले देखाएको छ,” उनले भने, “पक्राउ परेका दुई जनासँग पनि त्यति पैसा छैन । उनीहरूलाई फिफिया सञ्चालकले कर्मचारी जस्तो बनाएर यसमा आवद्ध गराएको देखिन्छ ।” 

चिनियाँ र हङकङको गिरोहबाट सञ्चालन भएको उक्त प्लेटफर्मका सञ्चालकले विभिन्न माध्यमबाट दादिका र अन्य केही व्यक्तिहरूलाई सम्पर्क गराएर त्यसमा आवद्ध बनाएको उनले सुनाए । “दादिकाको नाममा कम्पनी दर्ता गर्न लगाए । नेपालीको अनुहार देखाएर विदेशबाट रकम लुटेको देखिन्छ,” उनले थपे ।

कम्पनी दर्तापछि दादिकाले धापासीमा फ्ल्याट नै भाडामा लिइन् । उक्त फ्ल्याटको मासिक ३० हजारदेखि अन्य सेमिनार गोष्ठी गर्दाको बिल सबै हङकङका गिरोहले तिरेको खुलेको छ । कार्यालयलाई पनि दादिका र उनको समूहले भव्य बनाएकाे थियाे ।

उक्त कार्यालयमा फिफियासँग सम्बन्धित विभिन्न व्यक्तिहरुको फोटो टाँस्ने, सिनियर म्यानेजर भनेर फोटो टाँस्ने, कार्यक्रमका फोटाहरू टास्ने, दर्ताका प्रमाणपत्रहरु समेत भित्तामा टाँस्ने र विश्वास दिलाउने काम दादिकाले गरेको ढुङ्गेलले बताए । यसरी चिनियाँ गिरोहले सहयोग गरिसकेपछि दादिकाले सामाजिक सञ्जालका विभिन्न माध्यम जस्तै फेसबुक, ह्वाट्सएप र टेलिग्रामबाट नयाँ प्रयोगकर्तालाई आकर्षित गर्दै गइन् । 

यति हुँदासम्म दादिका र सो प्लेटफर्ममा आवद्ध अन्य एजेन्टले प्रमुख सञ्चालकसँग मेसेजिङ एपबाटै मात्र कुरा गर्ने गरेको देखिन्छ । “च्याटमा भनेकै भरमा नेपालमा यो प्लेटफर्मको प्रचार, कम्पनी दर्ताको काम आदि भएको रहेछ,” ढुङ्गेलले भने, “केही समयपछि नेपाल आउने पनि भनेका रहेछन् । तर अहिलेसम्म यी एजेन्टले सञ्चालकको असली अनुहार पनि देख्न पाएका छैनन् ।”

अन्य व्यक्तिहरूलाई जोड्नका लागि नेटवर्किङ शैली अपनाउने यो प्लेटफर्ममा दिन दुई गुणा रात चौगुणा प्रयोगकर्ताहरू थपिए । केहीले रकम जम्मा गरेर जुवामा बाजी थाप्न थाले भने केहीले नयाँ प्रयोगकर्ता थपेर उक्त प्लेटफर्ममा आफ्नो लेभल बढाउँदै गए । यसरी आफ्नै नजिकका मान्छेले सो प्लेटफर्ममा आवद्ध गराउन थालेपछि ठूलो सङ्ख्यामा प्रयोगकर्ता जोडिएको प्रहरीको भनाइ छ । 

“रकम जम्मा गरेपछि आउने रहेछ भन्ने भएपछि एजेन्टले पनि धेरैलाई आवद्ध गराए । यदि ठग्ने नियत थाहा भएको भए नेपाली एजेन्टहरूले आफ्नो भाग पनि खोज्थे होला । तर कर्मचारी जस्तो भएर काम गर्दा यिनिहरूले बढी रकम पाएको देखिंदैन । पक्राउ परेका यिनीहरूले त्यस प्लेटफर्मबाट बढीमा चार पाँच लाख जति पाएका छन्,” उनले भने । 

प्रहरीले अनुसन्धान गर्दा एउटै व्यक्तिले उक्त प्लेटफर्ममा १८ देखि २० लाख रुपैयाँसम्म रकम लगानी गरेको देखिएको ढुङ्गेलले सुनाए । सुरुवाती समयमा थोरै लगानी गर्दा पनि राम्रै आम्दानी हुने देखेपछि विश्वस्त भएर बढी रकम लगानी गरेको उनको ठम्याई छ । 

“यसमा ठगिनेहरूको सङ्ख्या गनी नसक्नुको छ । काठमाडौंमा १८२ ओटा जाहेरी परेको थियो । पछि पोखरबाट पनि ६५ ओटा जति परेको थियो,” ढुङ्गेलले भने, “हामीले अनुसन्धान सकेर मुद्दा बुझाउने बेला भइसकेकाले हामीले ती जाहेरी समेट्न सक्ने अवस्था थिएन । अहिले पनि जाहेरी आउने क्रम जारी छ ।” 

दादिका लगायत अन्य केही व्यक्तिले सामान्य तरिकाले जागिर जसरी काम गरिरहे । यता लगानी गर्ने वा गर्न खोज्ने नेपालीहरू प्रलोभनमा पर्दै गए । “पक्राउ परेका यिनीहरूले पनि सो प्लेटफर्मका सञ्चालकले भनेजस्तै गरी विज्ञापन गरे, विभिन्न कार्यक्रम गरेर नयाँ मान्छेलाई आवद्ध बनाए । पैसा ठाउँको ठाउँ विथड्र गरेर देखाए,” ढुङ्गेलले भने, “यस्तो गर्दा हाल्ने मान्छेलाई पनि नेपाली कम्पनी हो, नेपालीकै खातामा रकम गइरहेको छ, भनेको रकम आइरहेको छ, भागेर पनि कहाँ जाला र भन्ने विश्वास भयो । त्यसरी सर्वसाधारणलाई ठग्ने रणनीति अपनाएको देखिन्छ ।”

हालसम्म ४५ जना ठगीमा आवद्ध भएको देखिने यो समूहले १८२ जनाबाट तीन करोड ७४ लाख ५४ हजार ९९८ रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

“हामीले जिल्ला अदालत काठमाडौंमा अभियोजन पेस गरेका थियौं,” उनले भने, “हिजो मुद्दा फिर्ता भएको थियो । आज (बुधबार) उनीहरूको थुनछेक बहस हुन्छ । उनीहरूलाई के गर्ने भन्ने त्यसपछि नै थाहा हुन्छ ।” 

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८० १५:१७