close

‘बिजुली गाडीबाट सन्तुष्ट छु’

मंसिर ९, २०८० १०:४९

‘बिजुली गाडीबाट सन्तुष्ट छु’

विराटनगर घर भएपनि म काठमाडौंमा बस्छु । तर घर आउजाउ गर्ने काम भइरहन्छ । यसअघि घरमा पेट्रोल गाडी थियो । अरुले बिजुली गाडी खरिद गर्न थालिसकेका थिए । हामीले पनि नेक्सन प्राइम लिने कि भनेर सोचेका थियौं । तर आत्मविश्वास थिएन । नयाँ प्रविधि भएकाले के हुन्छ/कसो हुन्छ भन्ने अन्योल थियो ।

नेपालमा नेक्सन प्राइम भित्रिएको दुई/तीन वर्षपछि म्याक्स आयो । यतिबेलासम्म बिजुली गाडीको प्रविधिमा धेरै सुधार भइसकेको थियो । जस्तो: रेञ्ज, भित्री सुन्दरता, चार्जिङ स्टेसन आदि । तब मात्र हामीले नेक्सन म्याक्स खरिद गर्यौं ।

थापाथलीको शाेरुममा मलाई दाबी गरिएको रेञ्जमा १०० किलोमिटर घटाएर आउने रेञ्ज आफ्नो सोच्नु भनेका थिए । सोही आधारमा म आफूले पाउने गाडीको रेञ्ज सोच्छु । लामो यात्राको तुलनामा सहरी क्षेत्रमा रेञ्ज बढी पाइने रहेछ । काठमाडौंमा कुदाउँदा एकपटक ४२० किलोमिटरसम्म रेञ्ज पाएको छु ।

अहिले गाडी किनेको पाँच महिनामात्र भएको छ । तर यो अवधिमा ६ पटक विराटनगर पुगिसकेको छु । बुबाले पनि एक पटक विराटनगर नै लानुभएको छ । यसबाहेक झापा, इलाम लगायत पूर्वका धेरै ठाउँ यहीँ गाडीबाट गइसकेको छु ।

प्राय: म काठमाडौंबाट विराटनगर जाँदा मुलकोटमा चार्ज गर्छु । ढल्केबर पुग्दा २५०/२६० किलोमिटर रेञ्ज बाँकी हुन्छ । घर पुग्दा भने ३०/३५ प्रतिशत बाँकी हुन्छ । हालसम्म साढे ८ हजार किलोमिटरसम्म गाडी गुडिसकेको छ, समग्रमा राम्रै अनुभव भइरहेकाे छ ।

यो गाडी किनेपछि पहिलो पटक विराटनगर जाँदा रेञ्ज एन्जाइटी भएको महसुस भएको गरेको छु । त्यसबेला ढल्केबरमा चार्ज गरेको थिएँ । त्यहाँदेखि विराटनगरको दूरी १८० किलोमिटर मात्र हो । गाडीमा २६० किलोमिटर रेञ्ज देखाइएको थियो । त्यसपछि गाडीलाई पूरा गतिमा कुदाउन थालेँ ।

तर इनरुवा पुग्दा ९० किलोमिटर मात्र रेञ्ज देखायो । घर पुगिँदैन कि भनेर त्यहाँबाट भने अलि कम गतिमा कुदाउन थालेँ । ४० किलोमिटर रेञ्ज बाँकी हुँदा जसोतसो घर पुगेँ । अहिले त्यस्तो अवस्था आएको छैन ।

मैले यो गाडी लिने समयमा अन्य कम्पनी पनि विकल्प थिए । तर ती कम्पनीको गाडी नलिनुको कारण केही छन् । जस्तो; ती गाडी कम्पनीको नेपालमा राम्रो प्रभाव नहुनु । सामान्यत: कुनै पनि गाडी कम्पनीको प्रभाव राम्रो हुन १०-१५ वर्ष लाग्छ । त्यस्ता कम्पनी नेपालमा कम नै छन् । त्यस्तै नेक्सन म्याक्समा स्पेयर पार्ट्स (टायर,जग) पाउनु र ग्राउन्ड क्लियरेन्स बढी हुनु । नेपालका सबै सडक एउटै छैनन् । त्यस्तै यो गाडीले फाइभ स्टार सेफ्टी रेटिङ पाउनु ।

यति भन्दै गर्दा यो गाडीको नराम्रो पक्ष पनि छन् । जस्तो: बोनट हातले उठाउन निकै गाह्रो हुनु, रिजेन लिँदा गाडीमा हुने धक्काले सिट चाँडै खुकुलो हुनु, रबर वास भाँचिदा डिकीमा वर्षाको पानी भरिन सक्नु । यी समस्या मैले नै भोग्न परेको थियो । गाडीमा यस्तो समस्या हुनुको कारण ‘फिनिसिङ’ नराम्रो हुनु हो । 

छोटो समयमा यो गाडीबाट म काठमाडौंदेखि पूर्वको यात्रामा धेरै पटक निस्किसकेको छु । तर केही पटक बाहेक चार्जिङ स्टेसनमा भिड देख्न परेको छैन । निष्पक्ष भएर भन्दा सिप्रदी ट्रेडिङले नेपालभित्र जति संख्यामा चार्जिङ स्टेसन राखेको छ, त्यसको तुलनामा अन्यले राखेका छैनन् । यद्यपि बिक्री भइरहेको गाडीको गतिको तुलनामा भने कम नै छ ।

एक पटक नेपाल विद्युत प्राधिकरणको चार्जिङ स्टेसन ‍कस्तो छ भनेर बुझ्न बर्दिबास छिरेको थिएँ । त्यहाँ त भोल्टेज पुगेको छैन भनेर दुई/तिन ओटा गाडी कुराइ राखिएको रहेछ । त्यसपछि अहिलेसम्म प्राधिकरणको चार्जिङ स्टेसनमा म पसेको छैन ।

त्यस्तै धेरैले भुक्तानीका लागि समस्या भएको भनेर टाटाबारे गुनासो गर्ने गर्छन् । तर भुक्तानीमा भन्दा पनि प्रणालीमा समस्या हो । मानौं: मुलकोटमा चार्ज गरेर ढल्केबरमा पुन: चार्ज गर्न गएँ । तर मुलकोटमा भुक्तानी गर्दै गर्दा टाटाको एपमा म्यानुअल्ली ‘पेड’मा क्लिक गरिनँ भने ढल्केबरमा भुक्तानी हुँदैन ।

यो कुरा अलि युजरफ्रेन्ड्ली छैन । नयाँ मान्छे, बानी नपरेका अथवा थाहा नपाएकालाई समस्या पर्न सक्छ । सुरुमा त किन भुक्तानी भएन भनेर म पनि अलमलिएको थिएँ । अहिले यो गाडीबाट म दैनिक १४ देखि २० किलोमिटर दूरी पार गरिरहेको हुन्छु ।

ब्याट्री लेभल ३० प्रतिशत पुगेपछि चार्ज गर्ने मेरो बानी छ । चार-चार दिनको फरकमा म घरमा नै गाडीलाई चार्ज गर्छु । घरमा चार्ज गरेको बेला सय प्रतिशत पुग्न ८ घण्टा जति लाग्छ । तर तीन पटक फास्ट चार्जिङ गरेपछि एक पटक स्लो चार्जिङ गर्नु राम्रो मानिन्छ । म त्यो सकभर गर्ने प्रयास गर्छु ।

 

पछिल्लो अध्यावधिक: मंसिर ९, २०८० १०:५९