close

गिजर खरिद गर्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् किन्नु अघि ख्याल राख्नैपर्ने विषय

टेकपाना टेकपाना

मंसिर ११, २०८० १६:४५

गिजर खरिद गर्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् किन्नु अघि ख्याल राख्नैपर्ने विषय

काठमाडौं । क्रमशः देशव्यापी रूपमा जाडो बढ्दै गइरहेको छ । यस्तोमा तपाईंले गिजर खरिद गर्ने सोच बनाउनु भएको हुन सक्छ । यदि तपाईं त्यसको तयारीमा हुनुहुन्छ भने त्यसअघि केही विशेष कुराहरू ख्याल राख्नुपर्ने हुन्छ ।

अन्यथा तपाईंले नोक्सानी ब्योहोर्नु पर्ने हुन सक्छ । कुन गिजर किन्ने ? कस्ता फिचरमा ध्यान दिने ? बजारमा केकस्ता विकल्प छन् ? कुन क्षमताको गिजर लिने ? सुरक्षाका लागि के कस्तो सावधानी अपनाउने भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।

१. विद्युतीय गिजर लिने कि ग्यास ?

यदि तपाईं यस्तो ठाउँमा बस्नु हुन्छ, जहाँ बिजुली एकदमै कमै मात्र आउँछ भने तपाईंका लागि एलपीजी वा सोलार वाटर हिटर उपयुक्त हुन सक्छ । त्यसमाथि यदि तपाईंको घरमा घामको सोझो प्रकाश आउँछ भने सोलार गिजर लगाउन सक्नु हुन्छ । यस्ता सोलार वाटर हिटरले केही धेरै स्थान ओगट्ने हुन्छ ।

यदि तपाईंको घरको छतमा खुला वा पर्याप्त स्थान छैन अथवा राम्रोसँग घाम लाग्दैन भने सोलार हिटर नलगाएकै राम्रो हुन्छ । विद्युत आपूर्ति राम्रो छ भने बिजुली गिजर उपयुक्त हुन सक्छ ।

२. क्षमता

यदि घरमा तीन वा तीन भन्दा बढी सदस्य हुनुहुन्छ भने कमसेकम २० लिटर क्षमताको गिजर खरिद गर्नुहोस् । वास्तवमा यिनमा एक पल्ट पानी तताएपछि दुई व तीन जनाले आनन्दसँग प्रयोग गर्न मिल्छ ।

त्यसभन्दा बढी सदस्य हुनुहुन्छ भने अर्को पल्ट पानी तताउनु पर्ने हुन्छ । जसले गर्दा बिजुलीको बिल वा ग्यास खपत बढी हुन सक्छ ।

३. सुरक्षा

ट्याङ्कको भित्रि भागमा ग्यास लाइनको कोटिङ हुन जरुरी छ । यस्तो कोटिङले ट्याङ्कमा खिया लाग्दैन ।

जुन वर्षौंसम्म सहजै प्रयोग गर्न सकिन्छ । साथै यस्तो गिजर मर्मत सम्भारमा त्यति धेरै खर्च आउँदैन ।

यदि तपाईंको घरमा कडा पानी (टीडीएस १५० भन्दा बढी भएको) आउँछ भने तपाईंका लागि ग्लास लाइन कोटिङ भएको गिजर नै लिनुपर्ने हुन्छ ।

किन कि कडा पानीले ट्याङ्कमा चाँडै खिया लाग्ने समस्या हुन्छ । गिजरको बाहिरी सुरक्षाको कुरा गर्ने हो भने ट्याङ्क स्टेनलेस स्टिलको हुनुपर्छ ।

जुन बलियो हुनुका साथै लामो समयसम्म टिकाउ हुन्छ । गजरको बाहिर एबीएस (Acrylonitrile Butadiene Styrene) प्लास्टिक प्रयोग गरिएको कुरा पनि विचार गर्नुहोस् ।

त्यसले गिजरलाई बाहिरबाट खिया लाग्न तथा अन्य कुनै धुलो माटो जम्न दिंदैन ।

त्यस्तै गिजरमा प्रेसर रिलिफ भल्भ हुन जरुरी छ । खासगरी पानी तताउँदा गिजर भित्र बाफले गर्दा प्रेसर बढ्ने गर्छ ।

यदि उक्त प्रेसरलाई बाहिर निकाल्न सकिएन भने गिजर बिस्फोट हुने डर पनि रहन्छ । प्रेसर रिलिफ भल्भले सोही प्रेसरलाई बाहिर निकाल्ने काम गर्छ ।

साथै गिजरमा अटो अफ फिचर पनि एकदमै जरुरी हुन्छ । यदि कुनै कारणले गिजरको स्विच अफ गर्न बिर्सिनु भयो भने पनि यो फिचरका कारण पानी निश्चित तापमानमा पुगेपछि गिजर आफैं बन्द हुन्छ ।

यो फिचर नहुँदाको अवस्थामा भने विद्युत् वा ग्यास धेरै खपत हुने मात्र नभई गिजरमा खराबी आउने डर पनि हुन्छ ।

४. स्टार रेटिङ हेर्नुहोस्

गिजरले विद्युत् खपत धेरै गर्छ । विद्युत् जोगाउनका लागि बीईई (ब्युरो अफ इनर्जी इफिसेन्सी) स्टार रेटिङ भएका गिजर लिनुहोस् । चार अथवा पाँच स्टार रेटिङ भएका गिजरले धेरै बिजुली जोगाउँछन् ।

यद्यपि यस्ता गिजर कम स्टार रेटिङ भएका गिजरको तुलनामा केही महँगा हुन्छन् ।

५. आकार

यदि गिजर बाथरुममा राख्नुपर्ने छ भने आफ्नो बाथरुमको आकारको हिसाबले गिजरको आकारमा ध्यान दिनुहोस् । बाथरुमको छतको उचाईको हिसाबले ठाडो वा तेर्सो अथवा आयाताकार गिजर लिन सक्नु हुन्छ ।

यदि बाथरुमको छतको उचाई ९ फिट भन्दा बढी छ भने भर्टिकल अर्थात ठाडो अथवा आयाताकार गिजर खरिद गर्नुहोस् । तर उचाई नौ फिटभन्दा कम छ भने तेर्सो गिजर लिनुहोस् ।

६. स्मार्ट फिचर

अहिलेका गिजरमा कतिपय स्मार्ट फिचर पाउन सकिन्छ । जसले समय बचाउनुका साथै गिजर प्रयोगमा समेत निकै सहजता ल्याउँछन् ।

त्यसैले गिजरमा स्मार्ट फिचर हुनु पनि उत्तिकै जरुरी छ ।

क) वाईफाईः

यो फिचरको माध्यमबाट तपाईंले गिजरलाई जहाँबाट पनि मोबाइल एपको माध्यमबाट नियन्त्रण गर्न सक्नु हुन्छ । यदि तपाईं घरभन्दा बाहिर हुनुहुन्छ र घर पुग्ने बित्तिकै तातो पानीले नुहाउन चाहनु हुन्छ भने टाढै बाट गिजर चालु गर्न सक्नु हुन्छ ।

ख) रिमोट कन्ट्रोलः

केही गिजरमा रिमोट कन्ट्रोल समेत हुने गर्छ । यसको सहयोगमा तपाईं गिजर अन तथा अफ र तापक्रम सेट गर्न सक्नु हुन्छ ।

ग) डिजिटल डिस्प्लेः

यस्ता कयौं गिजर बजारमा उपलब्ध छन्ः जसमा डिजिटल डिस्प्ले लगाइएको हुन्छ । जसमा पानीको तापमानदेखि लिएर समय समेत हेर्न मिल्छ ।

घ) जस्तो चाहियो, त्यस्तै पानी

एपमार्फत कन्ट्रोल गर्न सकिने गिजरमा यस्ता फिचर समेत हुन्छन्, जसको सहयोगमा तपाईं आफ्नो आवश्यकता अनुसार पानी तताउन सक्नु हुन्छ ।

मानौं तपाईंलाई चिसो पानीमा तातो पानी मिसाएर नभई सोझै सावरमा नुहाउनु छ भने गिजरलाई सावर बाथमा मोडमा राख्न सकिन्छ । यो मोडमा पानी केवल त्यति मात्रै तातो हुन्छ, जसमा सहजै नुहाउन सकिन्छ ।

स्मार्ट गिजर सामान्य गिजरको तुलनामा पाँच दश हजार रुपैयाँ महँगा हुन्छन् । क्रम्टन, राकोल्ड, उषा, हिन्डवेयर आदि कम्पनीका स्मार्ट गिजर बजारमा उपलब्ध छन् । 

 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८० १६:४५