close

अमेजनले ल्यायो आफ्नै एआई च्याटबट, फोटो तयार पार्नेदेखि बिजनेस आइडियासम्म दिने

टेकपाना टेकपाना

मंसिर १४, २०८० १८:५

अमेजनले ल्यायो आफ्नै एआई च्याटबट, फोटो तयार पार्नेदेखि बिजनेस आइडियासम्म दिने

काठमाडौं । ई-कमर्श प्लेटफर्म अमेजनले आफ्नै एआई टुल सार्वजनिक गरेको छ । हालै एक कार्यक्रम गर्दै कम्पनीले एआईमा आधारित च्याटबट ‘अमेजन क्यू’ र इमेज जेनेरेटर टुल सार्वजनिक गरेको हो ।

यो च्याटबट सुरुवाती चरणमा एडब्लूएसका ग्राहकका लागि उपलब्ध गराउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आडम सेलोप्स्कीले बताएका छन् । उनका अनुसार यो च्याटबट प्रयोग गरी ग्राहकले च्याट गर्न, कन्टेन्ट तयार पार्न र अन्य रचनात्मक काम गर्न सक्नेछन् । यो सबै प्रयोगकर्ताको सिस्टम, उनीहरूको डेटा रिपोजिटरी र उनीहरूले गर्ने कार्यलाई बुझेर जानकारी उपलब्ध गराउने कम्पनीले उल्लेख गरेको छ । यसलाई आफ्नो व्यवसायको विज्ञका रूपमा प्रयोग गर्न सकिने सीईओ सेलोप्स्कीले जनाएका छन् ।

कम्पनीका अनुसार यो च्याटबटलाई अमेजन वेब सर्भिसको १७ वर्षसम्मको डेटाद्वारा तालिम दिइएको छ । त्यसैले यो टुलले अन्य टुलको तुलनामा स्तरीय जवाफ दिने कम्पनीको दाबी छ ।

त्यसबाहेक प्रयोगकर्ताले यो टुलमा डकुमेन्ट राखेर त्यसबाट आफूलाई लागेका प्रश्नहरू सोध्न सक्नेछन् । त्यस्तै डकुमेन्ट वा प्रेस रिलिज अपलोड गरेर त्यसको निष्कर्ष निकाल्न, ब्लग पोस्टको निष्कर्ष निकाल्न पनि यो टुल प्रयोग गर्न सकिनेछ ।

वार्षिक २० डलर (करिब २६६० रुपैयाँ) तिर्ने प्रयोगकर्ताले यो टुल प्रयोग गर्न पाउने कम्पनीले जानकारी दिएको छ । त्यस्तै अमेजनले सार्वजनिक गरेको एआई इमेज जेनेरेटर टुल एडब्लूएस ग्राहकका लागि मात्र उपलब्ध छ ।

यो अमेजनको एआई डेभलपमेन्ट प्लेटफर्म बेडरक (Bedrock) बाट ग्राहकले प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । जेनेरेटिभ एआई मोडलमध्येको ‘टाइटन इमेज जेनेरेटर’ टुल प्रयोग गरेर प्रयोगकर्ताले टेक्स्टको भरमा तस्वीर तयार पार्न सक्नेछन् ।

त्यसबाहेक पनि यस टुल प्रयोग गरेर प्रयोगकर्ताले पहिल्यै आफूसँग भएका फोटोलाई कस्टमाइज गर्नसक्ने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले कार्यक्रममा टाइटन इमेज जेनेरेटरलाई ‘डाइभर्स सेट अफ डेटासेट’बाट तालिम दिइएको जनाएको छ । तर डाइभर्स सेटअप डेटा भन्नाले कस्तो-कस्तो डेटा हो भन्ने खुलेको छैन । 

पछिल्लो समय बजारमा एआईबाट तस्वीर तयार पार्ने एआई टुल बनाउने क्रम बढेको छ । विशेषगरी स्टेबिलिटी एआई र ओपनएआईको ड्यालई टुल प्रयोग गरी शब्दको भरमा फोटो तयार पार्न सकिन्छ ।

यी कम्पनीबाहेक एडोबी र गेट्टी ईमेजले पनि यस्ता टुलमा काम गरिरहेका छन् । यी टुल कहिलेदेखि निःशुल्क प्रयोग गर्न पाइन्छ भन्नेबारे कम्पनीले कुनै जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८० १८:१८