close

बीवाईडी डल्फिन मालिकको अनुभवः ‘एक किलोमिटर गुड्न १.५६ रुपैयाँ लाग्ने रहेछ’

मंसिर १५, २०८० १३:४७

बीवाईडी डल्फिन मालिकको अनुभवः ‘एक किलोमिटर गुड्न १.५६ रुपैयाँ लाग्ने रहेछ’

घरमा पहिले हुन्डाईको क्रेटा थियो । पछि हामीले महेन्द्रको बिजुली गाडी खरिद गर्यौं । त्यो सानो आकारको गाडी थियो । साँघुरा गल्लीहरूमा पनि सजिलै कुदाउन सकिन्थ्यो । तर त्यसमा रेञ्जको समस्या थियो । गाडीमा १०० प्रतिशत चार्ज हुँदा समेत ११० किलोमिटर मात्र रेञ्ज दिन्थ्यो । एसी अन गरेर चलाउँदा त त्योभन्दा धेरै कम रेञ्ज दिन्थ्यो । दैनिक चार्ज गर्नुपर्ने अर्को झन्झटिलो काम थियो । त्यसकारण हामीलाई अलि बढी रेञ्ज दिने र कुदाउन सहज हुने गाडी चाहिएको थियो ।

त्यसपछि हामीले यस पटकको नाडा अटो शाेमा ‘अपरेसन इफिसिन्यसी’ र ‘कन्भिनियन्स’लाई आधार बनाएर गाडी हेर्यौं । त्यहाँ भएका सबै गाडीहरू हेर्दा सिट्रोनको ईभी राम्रो लागेर बुकिङ गर्न लागेका थियौं । त्यही समयतिर बीवाईडीले नेपालमा डल्फिन भित्र्यायो । कस्तो छ हेरौं भनेर हामी पनि हेर्न गयौं । गाडीको फिचर, मूल्यले हामीलाई आकर्षित गरिहाल्यो । यी गाडीको मूल्यमा त्यस्तो भिन्नता थिएन । तर फिचर अनुसार धेरै भिन्नता पायौं । फेरि हामीले ह्याचब्यागमा पनि खोजिरहेका थियौं । अनि, अन्तिम समयमा निर्णय परिवर्तन गरेर बीवाईडी डल्फिन खरिद गर्यौं ।

गाडी लिन भने हामीलाई समय लागेको थियो । बुकिङ गरेको एक महिना एक हप्तापछि मात्र हात परेकाे थिथाे । म यो गाडीबाट प्राय: कार्यालय जाने-आउने गर्ने गर्छु । अहिलेसम्म १३०० किलोमिटर गुडाइसकेको छु । कम्पनीको दाबी अनुसार एक पटकको फुल चार्जमा यो गाडीले ३४० किलोमिटरको रेञ्ज दिन्छ । यसमा ४४.९ किलोवाटको ब्याट्री  छ । मैले भने एसी चलाएर ३०० किलोमिटरभन्दा माथि नै रेञ्ज पाइरहेको हुन्छु ।

गाडी खरिद गरेदेखि कहाँ चार्ज गरेँ, कहिले चार्ज गरेँ, चार्ज गर्न कति समय लाग्यो, कति खर्च लाग्यो जस्ता कुराहरूको तथ्याङ्क राख्ने गरेको छु । ती सबैको आधारमा मलाई यो गाडी एक किलोमिटर  कुदाउन १.५६ रुपैयाँ लाग्ने रहेछ । त्यसको आधारमा फुल चार्ज गर्न ४०० रुपैयाँ जति लाग्ने रहेछ । जुन पेट्रोल गाडीको तुलनामा धेरै कम खर्च हो ।

प्राय: ब्याट्री लेभल १० प्रतिशत पुगेपछि मात्र म गाडीलाई चार्ज गर्ने गर्छु ।  गाडीको ड्याशबोर्डमा देखाएको समय भित्रमा ठ्याक्कै चार्ज भइसक्छ । गाडीमा चार्ज गर्न कति समय लाग्छ भनेर यसमा देखिँदो रहेछ । सामान्यत: एसी चार्जरबाट १० देखि १०० प्रतिशत पुर्‍याउन करिब छ घण्टा लाग्छ ।

व्यक्तिगत रूपमा यो गाडीलाई लिएर म त्यति टाढा गएको छैन । तर फिचरहरू भने अनुभव गरिसकेको छु । मलाई यो गाडी मन पर्नुको कारण ‘युजर फ्रेन्ड्ली’ हुनु हो । हामीले तिरेको मूल्यमा पाइने प्रविधि र सुरक्षा सायदै अरु गाडीमा छन् । जस्तो: सामान्य गाडीमा ‘रेयर भ्यू’को मात्र क्यामेरा एङ्गल पाउन सकिन्छ ।

तर यसमा सात ओटा एङ्गलमा गाडी हेर्न मिल्छ । जुन निकै सजिलो र उपयोगी छ । त्यस्तै कुनै पनि वस्तु गाडीबाट कति टाढा छ भन्ने कुरा ड्याशबोर्डमा देखिन्छ । त्यसले साँघुरा बाटोमा अथवा बढी भिँड भएका ठाउँमा गाडी कुदाउन निकै सजिलो बनाउँछ । यसमा ह्यान्ड ब्रेकको साटो  इलेक्ट्रोनिक पार्किङ ब्रेक दिइएको छ । जुन निकै उपयोगी फिचर हो ।

यसबाहेक सडकमा उच्चतम गति ३० किलोमिटर लेखिएको बोर्ड भए गाडीले स्वत: ‘रिड’ गर‍ेर गाडीको गति आफैं परिवर्तन गरिदिन्छ । त्यस्तै राति धेरै अध्याँरो छ भने गाडीले आफैं ‘हाई बिम’ अन गर्ने र अलि उज्यालो भए आफैं अफ गर्ने गर्छ । साथै लेन ब्रेक भएको अवस्थामा गाडीले आफैं लेनभित्र ल्याइदिन्छ । गाडीमा यी यस्ता अन्य धेरै फिचर छन्, जसले गर्दा गाडीलाई निकै सुरक्षित बनाएको छ ।

यसको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ । जुन काठमाडौंको सडकका लागि उपयुक्त हुन्छ । घरमा भएको पहिलेको गाडीको तुलनामा यसको हेडलाइट निकै शक्तिशाली छ । यसमा एलईडी हेडलाइट दिइएको छ । त्यसले गर्दा रातको समयमा गाडी कुदाउँदा अलि टाढासम्म स्पष्ट देख्न सकिन्छ । 

गाडीको ‘एक्सटेरियर’ डिजाइन भने मलाई सन्तुलित लागेको छ । न स्पोर्ट्स लुक्स न डम । बरु एउटा सामान्य ‘फ्यामिली कार’ जस्तो देखिन्छ । ‘इन्टेरियर’ पनि आकर्षक छ । ड्राइभर र प्यासेन्जर सिट दुवैलाई आफूनुकूल मिलाउन सकिन्छ । भित्र कप, बोटल जस्ता सामन राख्न धेरै स्पेस दिइएको छ । बुट स्पेस समेत व्यावहारिक नै छ । सामानहरू राख्न पर्याप्त छ । गाडीमा रिजेनका लागि ‘स्ट्यान्डर्ड’ र ‘हाई’ गरी दुई मोड छन् । हामीले भने ‘हाई’ मोडमा नै राखेका छौं । लामो यात्रामा जाँदा यो फिचर निकै उपयोगी हुने देखिन्छ ।

मैले ३९ लाख ८० हजार रुपैयाँ तिरेर याे गाडी किनेकाे हुँ । हामीले गाडी लिँदा बजारमा पिङ, पर्पल, अफ ह्वाइट र ग्रे गरी चार रङमा उपलब्ध थियो । घरमा भएको गाडीको रङ अफ ह्वाइट नै हो । अनि पिङ, पर्पल मेरो लागि अलि सुहाउँदो रङ्ग होइनन् । त्यही भएर हामीले ग्रे रङ्गको गाडी नै लिएका थियौं । 

समग्रमा अहिलेको मूल्य अनुसार गाडीमा धेरै नै राम्रा फिचर छन् । जुन यसको प्रमुख विशेषता नै हो । तर कम्पनीले ‘आफ्टर सेल्स सर्भिस’ भने सुधार गर्न आवश्यक छ । मलाई गाडीसँगै एउटा पोर्टेबल चार्जर र स्पेयर चक्का दिने भनिएको थियो, जुन अहिलेसम्म दिइएको छैन । यदि कम्पनीले यी कुरामा सुधार गरे गाडी उत्कृष्ट बन्न सक्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०८० १३:५२