close

१० रुपैयाँ भाडाले पोड वेमा १ किलोमिटर यात्रा !

मंसिर १९, २०८० १६:३०

१० रुपैयाँ भाडाले पोड वेमा १ किलोमिटर यात्रा !

नेपालमा पोड वेलाई सार्वजनिक यातायातको रूपमा मान्यता दिनुपर्छ भन्ने माग पहिलेदेखि नै राख्दै आएका थियो । हाम्रो निरन्तर प्रयासपछि हालै सरकारले यस सन्दर्भमा नीतिगत व्यवस्था गरेको छ । याे व्यवस्थाले पोड वे बाहेक यातायातका अन्य प्रविधिहरू पनि नेपालमा सुरु गर्न अवश्य सहयोग गर्छ ।

अब नेपालमा पोड वे सञ्चालन गर्न कार्यविधि आवश्यक पर्छ । पहिलो चरण मान्यता दिने काम भइसकेपछि चाँडै नै सरकारले कार्यविधि बनाउँछ भन्ने हाम्रो अपेक्षा छ । त्यसपछि सरकारले हामीलाई पोड वे सञ्चालनका लागि लाइसेन्स (राइट अफ वे) दिनु पर्छ । यति गरेपछि नेपालमा औपचारिक रूपमा पोड वे भित्र्याउन चाहिने कानूनी व्यवस्था करिब पूर्ण हुन्छ ।

पोड वेको अनुभव

बेलारुसमा पहिलो पटक मैले पोड वे चढेको थिएँ । यसमा बस्दा कारमा बसेर उडेको जस्तो अनुभव हुन्छ । पोड वेको भित्र निकै ‘लक्जरियस’ हुन्छ । यसकारण कतिपयले केबलकारसँग तुलना गरिरहनु भएको हुन्छ । तर यी दुईमा धेरै भिन्नता छन् । जस्तो: केबलकारमा तार घुम्छ भने पोड वे यसको लागि मात्र बनेको लिगमा हिड्छ ।

अझ सरल भाषामा बुझ्दा रेलको ‘कम्प्याक्ट’ र ‘कम्पोजीट’ रूप पोड वे हो । यसको गति, क्षमता रेलभन्दा बढी हुन्छ । नेपालमा एरियल यातायातमा केबलकार भएकाले त्योसँग पोड वेलाई जोड्नु स्वाभाविक हो । अहिले दुबईमा पनि पोड वे सञ्चालन भइसकेको छ । साथै २० भन्दा बढी देशमा यसको जडानको काम भइरहेको छ ।

नेपालमा कहाँ-कहाँ छ पोड वेकाे सम्भाव्यता ?

पोड वे चलाउन अहिले कर्णाली प्रदेश सरकारसँग कुराकानी भइरहेको छ ।  कर्णाली प्रदेशका विभिन्न स्थानमा पोड वे सञ्चालन गर्न हामीलाई तयारी रहनु भन्ने कुरा त्यहाँको सरकारबाट आइसकेको छ । यसका लागि लगानीको सुनिश्चतता पनि करिब भइसकेको छ ।

यदि कर्णालीमा पोड वे चलाउने भए त्यहाँका सबै नागरिकलाई ५० कित्ता शेयर दिएर लगानी उठाउने कुरा भइरहेको छ । यो सम्भव नभए हामीसँग वैदेशिक लगानी त सुनिश्चत छँदै छ । पोड वेका लागि स्थानीय स्तरमा नै ठूलो लगानी जुट्ने देखिएको छ । 

कर्णालीमा सडक पूर्वाधार बनाउन निकै ठूलो लागत र समय लाग्छ । तर त्यसको ठीक विपरीत कम लागत र समयमा नै पोड वे तयार पार्न सकिन्छ । किनकि पोड वे सञ्चालनका लागि एउटा डाँडोबाट अर्को डाँडो जोड्ने काम हुन्छ । अहिले प्रदेश योजना आयोगले कहाँ-कहाँ पोड वे लगाउने भनेर अध्ययन गरिरहेको छ ।

हामी स्वयंले पनि २१ ओटा सम्भावित स्टेसनको अध्ययन गरिरहेका छौं । यदि हामीले कर्णालीमा पोड वे सञ्चालन गर्न सक्यौं भने त्यो वरदान साबित हुन सक्छ ।  किनकी त्यहाँ उत्पादन भएका आलु, स्याउ, गेडागुडी तथा जडीबुटीहरूलाई तुरुन्तै ढुवानी गर्न सकिन्छ । पर्यटकीय दृष्टिकोणले सम्भावना रहेका ठाउँमा सजिलै पुग्न सकिन्छ । 

यसबाहेक लुम्बिनी गुरु योजना क्षेत्रभित्रको सम्पदा र सांस्कृतिक क्षेत्रको अवलोकन गर्ने पर्यटकलाई सहज बनाउने गरी पोड वे जडान गर्ने पनि निश्चित भइसकेको छ । 

सस्तो यातायात पोड वे !

अहिले धेरै यात्रुले केबलकारमा केही किलोमिटरको भाडा ५०० रुपैयाँभन्दा बढी तिरिरहेका छन् । यसकारण पोड वेमा केबलकारभन्दा महँगो भाँडा होला भन्ने सोच्नु भएको हुन सक्छ । तर काठमाडौंमा १०० किलोमिटरको अध्ययन गर्दा पोड वेमा एक किलोमिटर यात्रा गर्न १० रुपैयाँ वरपर लाग्ने देखिन्छ ।

यसकारण अझ धेरै सस्तो हुन जान्छ । त्यस्तै सरकारले विभिन्न कुराहरूमा छुट दियो भने अझ त्योभन्दा पनि सस्तो हुन सक्छ । सार्वजनिक यातायात सर्वसाधारणका लागि सस्तो र सुलभ हुनुपर्छ । 

कति हुन्छ पोड वेको लागत ?

अहिले हाम्रो अध्ययनले नेपालमा पोड वेको स्थापनाको लागत प्रति किलोमिटर ३० लाख डलर (करिब ४० करोड रुपैयाँ) हुने देखाउँछ । त्यसमा स्टेसन, स्ट्रिङ, पड, पोल सबैको खर्च हो भने नेपालले लिने करबाहेकको रकम हो ।

पोड वेको लागत कम र फाइदा बढी छ । किनकी अन्य सार्वजनिक यातायातका लागि एक वर्ष डीपीआर बनाउन लाग्छ भने हामी सो समयमा निर्माण कार्य नै सम्पन्न गर्छौं ।  

पोड वे नै किन ?

राज्यले नचाहे पोड वे कहिल्यै सम्भव हुँदैन । सम्भावनाको कुरा गर्दा मेची महाकाली जोड्ने पोड वे ६ वर्ष भित्रमा बनाउन सकिन्छ । दुई ओटा पोलको दुरी दुई किलोमिटरको अन्तरमा राख्न सकिन्छ । त्यस्तै अहिले काठमाडौंबाट हेटौंडाको सडक दुरी करिब ८२ किलोमिटर छ । तर पोड वेमा त्यो घटेर ४२ किलोमिटर हुने देखिन्छ ।

अन्य यातायातको माध्यमभन्दा पोड वेको निर्माण अवधि र लागत कम हुन्छ । यसकारण सबै यातायातको तुलना गर्दा यो सबैभन्दा सस्तो हुन जान्छ । केबलकारको संरचना बनाउने ५० प्रतिशत लागतले पोडको पुरा काम सकिन्छ । मेट्रो रेलको जम्मा ४ प्रतिशत लागतमा यसलाई बनाउन सकिन्छ । पोड वे बिजुलीबाट चल्ने भएकाले पेट्रोल डिजेल खर्चको कम हुन्छ । 

गाडीको सञ्जाल जोड्न नसकिने विकट ठाउँका लागि पोड वे उत्कृष्ट विकल्प बन्न सक्छ । यसबाहेक पहिल्यै बनिसकेको सडकमाथि अथवा खोलामाथि पोड वे बनाउन सकिन्छ । त्यस्तो हुँदा सडक निर्माण गर्दा जस्तो मुआब्जा विवाद पनि हुँदैन ।

तर पोड वेबाट पूर्ण फाइदा लिन भने सरकारले नै सडकहरूको योजना बनाए जस्तै यसको पनि बनाउनु पर्छ । किनकी सार्वजनिक यातायातको दिगो, स्थिर, भरपर्दो, पहुँचयोग्य र वैकल्पिक माध्यम पड वे हो ।

तर अहिले कुनै ठाउँमा पोड वेको नमूना बनाएर देखाउन कानून नै बाधक छ । यसकारण हामी बनाउन नसकिरहेका हौं । तर केही वर्षमा नेपालमा पोड वे देखिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८० १६:४३