close

तेल बिना खानाका परिकार बनाउन ‘एयर फ्रायर’ किन्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा

टेकपाना टेकपाना

मंसिर २०, २०८० १४:५४

तेल बिना खानाका परिकार बनाउन ‘एयर फ्रायर’ किन्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा

काठमाडौं । भान्सामा प्रयोग हुने नयाँ-नयाँ उपकरणहरूले हामीलाई निकै सहज बनाइरहेका छन् । खाना बनाउन सहज र सजिलो हुनेगरी होम अप्लायन्सेस ब्रान्डहरूले यस्ता उपयोगी सामग्री ल्याइरहेका छन् । तिनै मध्येको एक हो, एयर फ्रायर ।

यसमा तातो हावा प्रयोग गरेर परिकार तयार गरिन्छ । परम्परागत तरिकाले भन्दा एयर फ्रायरले ९० प्रतिशत कम तेल प्रयोग गर्ने बताइन्छ । त्यसो हुँदा यसबाट पाक्ने खानाका परिकार स्वस्थ हुन्छन् ।

एयर फ्रायरबाट छिटो र सरल तरिकाले माछामासु, तरकारी, डेजर्ट लगायतका परिकार तयार पार्न सकिन्छ । नेपालमा पनि विभिन्न ब्रान्डका एयर फ्रायर बिक्रीवितरण भइरहेका छन् । आज हामी याे उपकरणबारे जानकारी दिँदै छौं:

के हो एयर फ्रायर?

यो एउटा सानो आकारको कन्भेक्सन ओभन हो । अझ सरल भाषामा बुझ्दा पङ्खा भएको ओभनको एउटा स्वरूप नै एयर फ्रायर हो । यसले डिप फ्राइङ (deep frying)ले जस्तै, तर बिना तेल परिकार तयार गर्छ ।

एयर फ्रायरभित्र झिक्न मिल्ने खाली ठाउँ भएको कुकिङ बास्केट अथवा ट्रे हुन्छ । त्यस बास्केट/ट्रे माथि पकाउन लागिएकाे वस्तु राखिन्छ, जस वरपर पङ्खाले तातो हावा फ्याँक्छ । त्यसले परिकारलाई छिटो र सरल तरिकाले पकाउँछ । यसबाट पकाइएको खानेकुरा निकै आकर्षक र खाउँखाउँ लाग्दो देखिन्छ । यसबाट तेलमा पाक्ने अधिकांश परिकारहरू पकाउन सकिन्छ ।​​

एयर फ्रायरका फाइदा 

हामीले एयर फ्रायरका केही फाइदाबारे माथि नै चर्चा गरिसकेका छौं । थप फाइदा तल उल्लेख गरिएकाे छ:

-स्वस्थ र मिठो खाना

डिप फ्राइङको तुलनामा यसले ९० प्रतिशत कम तेल खपत गर्छ । त्यसो हुँदा खानामा बोसोको मात्रा कम हुने र परिकार स्वस्थ हुने बताइएको छ । त्यस्तै यसबाट तयार हुने खानेकुरा आकर्षक देखिनुका साथै स्वादिष्ठ पनि हुने गर्छ ।

-खाना चाँडो पाक्छ 

परम्परागत ओभनको तुलनामा एयर फ्रायरमा चाँडो खाना पाक्छ । किनकी यसमा तातो हावा पर्याप्त मात्रामा प्रवाह हुन्छ । 

-प्रयोग र सफा गर्न सजिलो

एयर फ्रायर सामान्यत: प्रयोग गर्न सजिलो हुन्छ । त्यस्तै कुकिङ बास्केट लगायतका यसका विभिन्न भागहरू सफा गर्न सजिलो पनि रहेको छ । त्यस्तै डिप फ्रायरमा जस्तो यसले त्यति धेरै फोहोर पनि गर्दैन । 

धेरै प्रकारको खानेकुरा पकाउन सकिने, आकारमा सानो हुने, यताउता सार्न सजिलो हुने यसका अन्य फाइदा हुन् । 

एयर फ्रायरका बेफाइदा

-पकाउने निश्चित क्षमता

खानेकुरा स्वास्थ्य तरिकाले पकाउन सकिए पनि परम्परागत ओभनको तुलनामा एयर फ्रायरको पकाउने क्षमता भने थोरै हुन्छ । यसकारण कहिलेकाहीँ पाहुना आउँदा अथवा अलि बढी परिकार तयार बनाउनु पर्दा समस्या हुन सक्छ ।

-एक्रिलेमाइडकाे खतरा 

एयर ड्रायरले बोसोरहित परिकार बनाउने भएपनि अधिक तापक्रममा पकाइने हुँदा एक्रिलेमाइड फर्मेसन (acrylamide formation) हुन सक्छ । यो एक प्रकारको रासायनिक प्रतिक्रिया हो । जसले गर्दा स्वाद जाने, खानाको रङ्ग उड्ने आदि हुन्छ । यस्तो खानेकुरा अधिक खाँदा क्यान्सर जस्तो खतरनाक रोग लाग्ने सम्भावना हुन सक्छ ।

-चलाउँदा हल्ला हुन सक्ने

ग्यास अथवा परम्परागत चुल्होमा परिकार तयार गर्ने तपाईंको बानी छ भने यसमा केही अप्ठ्यारो हुन सक्छ । कारण एयर फायर सञ्चालन हुँदा ठूलो आवाज निस्कने गर्छ ।  

यी बाहेक एयर फ्रायर केही महँगो हुनु, परिकार बनाउने तरिका र स्वाद फरक हुनु, सफा  गर्न अलि अतिरिक्त सामान चाहिनु यसका बेफाइदाभित्र पर्छन् ।

नेपाली बजारमा एयर फ्रायर

अहिले साना-ठूला भाडा पसलमा एयर फ्रायर पाउन थालिएको छ । विभिन्न ईकर्मस प्लेटफर्महरूले पनि यस्ताे उत्पादन बिक्रीमा राखेका छन् ।

एयर फ्रायरकाे माग गाउँमा भन्दा सहरमा बढी हुने गरेकाे क्षेत्रपाटीमा अवस्थित जैसवाल स्टोरका बिक्रेता विकास श्रेष्ठ बताउँछन् । विगत पाँच वर्षदेखि पसलमा एयर फ्रायर बिक्री गरिरहेको बताउँदै उनले ओभनको विकल्प खोज्नेहरूले अहिले उपलब्ध छ । “धेरै फङ्सन भएको डिजिटल एयर फ्रायर मान्छेको रोजाइमा पर्ने गरेको छ,” उनी भन्छन्, “गाउँमा परम्परागत तरिकाले खाना पकाउने चलन अझै भएकाले सहरमा बस्नेका लागि एयर फ्रायर बढी उपयोगी हुने देखिन्छ ।” 

नक्खीपोट ललितपुरमा रहेको कृष्ण ट्रेडर्सका विश्वास महर्जनको विचार पनि एयर फ्रायरमा उस्तै छ । कम तेलमा खाना पाक्ने, टाइमर हुने भएकाले पकाउन सजिलो हुने, सस्तो मूल्य हुने भएकाले मान्छेहरूको रोजाइमा एयर फ्रायर पर्न थालेको उनको भनाइ छ ।

तर घरमा ओभन, इन्डक्सन, ग्यास हुने भएकाले गर्दा कतिपयले भने यसको बारेमा सोध्न मात्र आउने महर्जन बताउँछन् । “अहिले विभिन्न आकारमा एयर फ्रायर पाइन्छ । एक जना भएपनि, ठूलो परिवार भएपनि यसले काम दिन्छ । पछिल्लो समयमा अलि चाँडो खानेकुरा पकाउन खोज्नेहरूले यसलाई किनिरहेका छन्,” उनी भन्छन् । 

अर्का बिक्रेता अर्जुन श्रेष्ठको अनुभव भने फरक छ । नयाँ बानेश्वरमा सिटी इलेक्ट्रोनिक्स सञ्चालन गरिरहेका उनी आफूले एयर फ्रायर बिक्री गर्न छाडेको छ महिना हुन लागेको बताउँछन् । “मैले पहिले दुई वर्ष जति एयर फ्रायर बिक्री गरेँ । आफैं पनि प्रयोग गरे । तर पछिल्लो समयमा माग हुन छाडेपछि बिक्री गर्न बन्द गरेँ,” उनी अगाडि थप्छन्, “भविष्यमा माग बढ्यो भने फेरि बिक्री गर्न सक्छु । तर मेरो व्यक्तिगत अनुभवमा भने उपयोगी देखिनँ । ग्यासमा पकाइरहेको हामीलाई यसमा बानी नलाग्ने रहेछ ।”

नेपाली बजारमा बाल्ट्रा, सीजी इलेक्ट्रोनिक्स. फिलिप्स, मिडिया, ग्लेन, ब्याल्क एन्ड डिकर लगायतका ब्रान्डका एयर फ्रायर बिक्री भइरहेका छन । तपाईँले आफ्नो बजेट, आवश्यकता तथा यसबारे केही भएपनि ज्ञान लिएर एयर फ्रायर किन्ने नकिन्ने निर्णय लिन सक्नुहुन्छ । 

एयर फ्रायर किन्दा केकेमा ध्यान दिने ?

तुलनात्मक रूपमा भान्साका लागि यो नयाँ प्रविधि भएकाले हामीले केही कुरामा विशेष ध्यान दिनुपर्छ । यसबारे तल चर्चा गरिएको छ:

-क्षमता

एयर फ्रायर किन्दा विचार पुर्‍याउनु पर्ने पहिलो कुरा हो, क्षमता । फ्रायरबाट कति खाना पकाउन सकिन्छ भनेर हेर्नुपर्ने हुन्छ । अहिले बजारमा विभिन्न आकार र क्षमतामा एयर फ्रायर पाइन्छ । एयर फ्रायरको क्षमता लिटर अथवा क्वार्टसमा मापन गर्ने गरिन्छ । अहिले नेपाली बजारमा सामान्यत: दुई देखि आठ लिटरसम्मका एयर ड्रायर उपलब्ध छन् ।

यद्यपि फ्रायरको क्षमता यो भन्दा अझ बढी पनि हुन सक्छ । विशेषगरी दुई वा तीन जनाको परिवार छ भने तपाईंले दुई लिटरसम्मको एयर फ्रायर किन्दा उपयुक्त हुन्छ । तर त्यो भन्दा बढी संख्यामा हुनुहुन्छ भने आवश्यकता अनुसार लिनुहाेस् । 

-खाना पकाउने तरिका

एयर फ्रायरमा विभिन्न तरिकाको खाना पकाउन सकिन्छ । जस्तो: फ्राइ गर्ने, रोस्ट गर्ने, डिहाइड्रेड गर्ने, तताउने, बेकिङ गर्ने आदि । तर यसबाट सबै प्रकारको परिकार भने बनाउन मिल्दैन । यसबाट फ्रेन्च फ्राइज, फ्राइड चिकेन, बेक्ड पोटाटो जस्ता क्रिस्पी परिकार, चिकन, स्टेक, पोर्क बेली जस्ता मासुको परिकार बनाउन सकिन्छ ।

त्यस्तै ग्रील्ड चिज स्यान्डविच, ह्यास ब्राउन, मफिन, स्कोन, केक लगायतका परिकार पनि तयार पार्न सकिन्छ । तर पानी तथा बोसोको मात्रा बढी भएको खानेकुरा, हरियो सागसब्जी, मैदा अथवा चामल, मसलादार खानेकुरा बनाउनु भने हुँदैन ।

-तापक्रम नियन्त्रण

ब्रान्ड अनुसार एयर फ्रायरमा यो कुराले अर्थ राख्ने गर्छ ।  सामान्यत: खाना पकाउँदा एयर फ्रायरमा ८० देखि २०० डिग्री सेल्सियससम्म तापक्रम निस्कन्छ ।  त्यही तापक्रमलाई नियन्त्रण गरेर फरक-फरक खानेकुरा पकाउने गरिन्छ । जुन कुरा एयर फ्रायर किन्नुअघि तपाईंले थाहा पाउनुपर्ने हुन्छ ।

जस्तो; खानेकुरा तताउन अथावा सुकाउन ८० देखि १३० डिग्रीको तापक्रम ठिक्क हुन्छ भने रोस्ट गर्न, बेकिङ परिकार बनाउन १३० देखि १७० डिग्री सेल्सियससम्म प्रयोग हुन्छ ।  

-बिजुली खपत

अहिले ८०० देखि २००० वाटसम्मका एयर फ्रायर बजारमा पाइन्छ । यो कुरा पनि कम्पनी अनुसार फरक-फरक हुने गर्छ । सानो क्षमताको फ्रायरमा कम र ठूलो क्षमताको फ्रायरमा धेरै वाट हुने गर्छ । जति बढी वाट हुन्छ, एयर फ्रायरले त्यति नै बढी ताप निकाल्न सक्छ ।

औसतमा फ्रायरले प्रतिघण्टा तीनदेखि पाँच किलोवाट आवर (केडब्लूएच) विद्युत खपत गर्ने बताइन्छ । यही मात्र तपाईंले फ्रायर प्रयोग गर्नुहुन्छ भने बिजुलीमा ४० देखि ६० रुपैयाँ पैसा खर्च हुन सक्छ ।

-सुरक्षा 

एयर फ्रायर किन्दा तपाईंले ध्यान दिनुपर्ने अर्को पक्ष हाे, सुरक्षा । अटो शट-अफ. सेफ्टी पावर कट अफ, ओभर हिटिङ प्रोटेक्सन, कुल ह्यान्डल लगायतका फिचर फ्रायरमा भए/नभएको तपाईंले हेर्नुपर्छ । यदि यी फिचर छैनन् भने तपाईंले खरिद गर्न लागेको फ्रायर सुरक्षित नहुन सक्छ ।

यसबाहेक तपाईँले ब्रान्ड, टाइमर सेटिङ, बास्केट डिजाइन, वारेन्टी लगायतका कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर २०, २०८० १६:१७