close

दशौं राष्ट्रिय खेलकुदको लोगो बनाउने डिजाइनर खोज्दै राखेप, ५० हजार पुरस्कार दिने

टेकपाना टेकपाना

मंसिर २०, २०८० १६:१०

दशौं राष्ट्रिय खेलकुदको लोगो बनाउने डिजाइनर खोज्दै राखेप, ५० हजार पुरस्कार दिने

 

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सर्जकहरूलाई प्रतीक चिन्ह मस्कट, लोगो, खेलकुद गीत रचना र खेलकुद नारा पठाउन माग गरेको छ । एक सूचनामार्फत राखेपले २०८१ मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि मस्कट, लोगो, गीत र नारा पठाउन आह्वान गरेको हो ।

सूचना अनुसार लोगो समग्र कर्णाली प्रदेशको प्रतिबिम्ब झल्कने, दशौं राष्ट्रिय खेलकुद झल्कने, समग्र खेलकुद समेटिएको र शान्तिको प्रतीक हुनुपर्ने छ ।​मस्कट भने कर्णाली प्रदेशको प्रख्यात जनावर समेटिएको र खेल प्रतिबिम्ब झल्कने हुनुपर्ने बताइएको छ ।

त्यस्तै गीत रचना बढीमा ४ मिनेटको हुनु पर्ने, राष्ट्रिय भावनाले ओतप्रोत हुनु पर्ने, खेलकुद र खेलाडीको भावना समेटिएको हुनु पर्ने उल्लेख छ । साथै नारा भने बढीमा २५ अक्षरमा समेटिएको हुनुपर्ने जनाएको छ ।   

यससँगै पठाइसकेको सिर्जना कसैसँग बाझिएमा वा प्रतिलिपि अधिकार हनन भएको पाइमा रद्द हुने राखेपको भनाइ छ ।

त्यसरी प्राप्त हुनेमध्ये छनोट भएको लोगोलाई ५० हजार, मस्कटलाई २५ हजार, गीतलाई २५ हजार र नारालाई १० हजार नगद पुरस्कार प्रदान गरिने राखेप जनाएको छ ।  तपाईं आफ्नो सिर्जना यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ ।

हेर्नुहोस् सूचना

पछिल्लो अध्यावधिक: मंसिर २०, २०८० १६:१०