close

स्मार्टगफ एपबाट पैसा कमाएका प्रयोगकर्ताको अकाउन्ट गायब !

टेकपाना टेकपाना

मंसिर २१, २०८० १८:४८

स्मार्टगफ एपबाट पैसा कमाएका प्रयोगकर्ताको अकाउन्ट गायब !

काठमाडौं । पोस्ट तथा भिडिओ राखेर आम्दानी गर्न सकिने सामाजिक सञ्जालका रूपमा आएको नेपाली एप स्मार्टगफले पैसा जम्मा भएका तथा पुराना अकाउन्ट डिलिट गरेको पाइएको छ ।

नेपालमा टिकटक प्रतिबन्धपछि चर्चामा आएको याे एपमा प्रयोगकर्ताले भिडिओ राखेर केही रकम कमाएका पनि थिए । तर, अहिले भने सो प्लेटफर्ममा भएका पुराना अकाउन्ट नै डिलिट भएको भन्दै प्रयोगकर्ताले गुनासो गरिरहेका छन् ।

“मैले आफ्नो फोन नम्बर राखेर अकाउन्ट बनाएकाे थिएँ । आज एपले एक्कासि अपडेट गर्न भन्यो,” स्मार्टगफ प्रयोगकर्ता प्रभाकर पाेखरेलले भनेका छन्, “यो प्लेटफर्ममा मेरा महत्त्वपूर्ण फोटो र भिडिओ अपडेट गरेको थिएँ । अब मैले मेरो अकाउन्ट कसरी रिकभर गर्ने ?”

टेकपानासँग कुरा गर्दै स्मार्टगफकी अर्को प्रयोगकर्ता अमिशा रिजाल भन्छिन्, “मैले स्मार्टगफ प्रयोग गर्न थालेको २० दिन जति भएको थियो । मेरोमा ४० रुपैयाँजति जम्मा भएको थियो । तीन-चार पटक अपडेट गरेको पनि हो । अपडेट गर्दा एप खुल्ने, तर नचल्ने भइरहेको थियो । अहिले त आईडी राख्न भन्छ, तर मिल्दैन ।”

अमिशा जस्तै प्रभाकर पनि स्मार्टगफ एपका नियमित प्रयोगकर्ता हुन् । उनले गत असोजमा सो एप सार्वजनिक हुँदा नै त्यसमा फोटो तथा भिडिओ राख्न सुरु गरेका थिए । भिडिओ र फोटो राखेबापत केही आम्दानी पनि भएको थियो । तर, पछिल्लो समय अपडेट गर्दा भिडिओ, फोटोसहित अकाउन्ट नै उडेको उनको दुखेसो छ ।

प्रभाकर भन्छन्, “मैले यसमा फोटो तथा भिडिओ राखिरहेको थिएँ र त्यसमा जम्मा भएको थोरै रकम पनि निकालेको थिएँ । बीचमा अकाउन्ट अपडेट गर्दा राम्रै चलिरहेको थियो, तर अहिले अकाउन्ट नै उडेको छ ।” 

यी प्रयोगकर्ताका अनुसार सबैभन्दा पहिले १०० रुपैयाँ निकाल्न मिल्थ्यो । तर अहिले कम्पनीले सुटुक्क सो रकम बढाएर १० हजार पुर्‍याएको थियाे ।

प्रभाकर अगाडि भन्छन्, “पछिल्लो समय मैले भिडिओ राख्दा १०० रुपैयाँ पुग्न लागेको थियो, तर अकाउन्ट नै उड्यो ।” आफूले कम्पनीलाई ईमेल पठाएर त्यसबारे बुझ्न खोजे पनि कुनै उत्तर नपाएको उनी सुनाउँछन् ।

हामी (टेकपाना)ले पनि एप परीक्षण गर्ने क्रममा स्मार्टगफमा अकाउन्ट बनाएका थियौं । प्रयोगकर्ताको गुनासोपछि एप चलिरहेको छ वा छैन भन्ने जाँच्न पुनः पुरानो आईडीले लगइन गर्‍यौं । ​लगइन गर्दा एपको इन्टरफेस भिन्न भएको पाइयो । एपमा पहिले टिकटक जस्तै सोझै भिडिओ प्ले हुन्थे भने अहिले फेसबुकको जस्तो इन्टरफेस देखिएको थियो । परीक्षण गरिरहँदा एप एक्कासि बन्द भयो । हामीले पुनः एप खोल्ने प्रयास गर्‍यौं, तर एपमा अकाउन्ट एड्मिनले डिलिट वा डिसेबल गरेको भन्ने सूचना देखियो । 

स्मार्टगफको वेबसाइट ह्याक भएको दाबी 

फेसबुक ग्रुप ‘पेनटेस्टर नेपालमा ‘एप’ सबडोमेन भएको स्मार्टगफको एप डाउन भएको भन्दै एक प्रयोगकर्ताले पोस्ट राखेका थिए । यता मुख्य डोमेन भने बन्द भएको थियो ।

यस विषयमा टेकपानासँग कुरा गर्दै केही दिनअघि कम्पनीका सीईओ रमेश शाहीले भनेका थिए, “अहिले हाम्रो सर्भर ह्याक गरेको भनेर भनिएको रहेछ । त्यस्तो केही नभएर हामीले सर्भर सारिरहेकाले सेवामा असर परेको हो । पहिले अमेजन वेब सर्भिस (एडब्लूएस) मा सर्भर राखेका थियौं । अहिले नेपालको स्थानीय होस्टिङ कम्पनीमा नै सर्भर राख्ने काम भइरहेको छ । तर हामीसँगै काम गर्ने एक डेभलपरले सर्भर आफ्नो हातमा लिने प्रयास भने गरेको रहेछ ।”

अहिले आफूहरूले सो घटनालाई नियन्त्रणमा लिइसकेको र बाहिर भनिए जस्तो ह्याक नभएको उनले दाबी गरे । “प्रयोगकर्ताको डेटा सुरक्षित छ । त्यस्तो कुनै नोक्सान भएको छैन,” उनले थपे ।  

टिकटकसँग इन्टरफेस मिल्यो भन्ने सुझाव आएपछि त्यो परिवर्तन गर्न लागेको उनले सुनाए । उनले अगाडि भने, “हाम्रो उद्देश्य नेपाली टिकटक बनाउने होइन । हामी त सामाजिक सञ्जाल एप चलाउँदा नेपाली पैसा विदेश नजाओस् र प्रयोगकर्ताले यसैबाट आम्दानी गर्न सकून् भनेर मात्र यसको यसको सुरुवात गरेका थियौं ।” 

आफूले पनि कमाउने र प्रयोगकर्ताले पनि कमाउन सकून् भन्ने उद्देश्यले एप सुरु गरेको उनले बताए । 

हामीले बिहीबार शाहीसँग प्रयोगकर्ताको अकाउन्ट डिलिट भएकोबारे बुझ्न खोजेका थियौं । तर, उनको नम्बरमा सम्पर्क हुन सकेको छैन । अहिले कम्पनीको मुख्य वेबसाइट डाउन नै छ । यसको कारण सर्भर सारिरहेको भने पनि स्पष्ट जानकारी बाहिर आएको छैन । यसअघि सो वेबसाइटमा राखिएको नम्बरमा पनि सम्पर्क हुन सकेको छैन । 

कपी गरेर राखिएको छ प्राइभेसी पोलिसी !

प्रयोगकर्ताको कुनै पनि व्यक्तिगत जानकारी राख्ने वेबसाइटले आफ्नै गोपनीयता नीति बनाएका हुन्छन् । विशेषगरी उनीहरूले के-कस्ता डेटा सङ्कलन गर्छन्, उनीहरूले सङ्कलन गरेका डेटा कसरी प्रयोग गर्छन्, डेटा कसरी व्यवस्थापन गर्छन् भन्नेबारे गोपनीयता नीति अर्थात् प्राइभेसी पोलिसीमा राखिएको हुन्छ ।

तर, स्मार्टगफको अपडेटेड प्राइभेसी पोलिसी भने ‘प्राइभेसी पोलिसी तयार पारिदिने’ प्लेटफर्मबाट तयार पारिएको देख्न सकिन्छ । सो प्लेटफर्ममा अकाउन्ट लगइन गरेर सेटिङमा गई प्राइभेसी पोलिसी हेर्ने हो भने अन्तिममा, “तपाईंसँग हाम्रो गोपनीयता नीति सम्बन्धी कुनै प्रश्न भए [email protected] मा मेल गर्नुहोला,” भनिएको छ ।

यसबाट के प्रस्ट हुन्छ भने कम्पनीले आफ्नो गोपनीयता नीति अपडेट नै गरेको छैन । त्यसका साथै अकाउन्ट लगइन गर्दा देखिने ‘टर्म्स अफ युज’ पनि अस्पष्ट छ ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८० १९:६