close

यसरी फैलियो ‘जीवित व्यक्तिलाई अस्पतालले मृत घोषणा गरेको’ भन्ने झुटो खबर

हिक्मत आचार्य हिक्मत आचार्य

मंसिर २७, २०८० १७:३०

यसरी फैलियो ‘जीवित व्यक्तिलाई अस्पतालले मृत घोषणा गरेको’ भन्ने झुटो खबर

काठमाडौं । मंसिर २५ गते अर्थात् सोमवार, सामाजिक सञ्जालका विभिन्न माध्यममा ‘जीवित व्यक्तिलाई अस्पतालले मृत घोषणा गरेको’ भन्ने खबर फैलियाे । गोरखापत्रमा ‘अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै’ भन्ने खबर छापिएपछि यो समाचारलाई विभिन्न सञ्चारमाध्यमले आफ्नै शैलीमा लेखे, फैलाए । केहीले गोरखापत्रबाट साभार गरिएको भनेर समाचार राखे, केहीले दुरुस्तै कपी गरे, केहीले त्यही समाचारलाई भिडिओका रूपमा राखे ।

गुगल सर्चमा ‘विराटनगरस्थित मेट्रो न्यूरो अस्पताल’ कीवोर्ड सर्च गर्ने हो भने यस विषयमा लेखिएका कैयौं समाचार देख्न सकिन्छ । यस समाचारमा तयार पारिएका भिडिओ हेर्न यहाँ, यहाँ यहाँ क्लिक गर्नुहाेस् । त्यसबाहेक युट्युब र फेसबुकमा यसबारे थुप्रै सामग्री भेटिन्छ ।

के छ भाइरल समाचारमा ?

सोमवार गोरखापत्रसहित अन्य सञ्चारमाध्यममा प्रकाशित समाचारमा सुनसरी जिल्ला इनरुवा नगरपालिका-३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाई १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएको व्यक्ति जीवितै रहेको भनिएको थियो ।

सचिन पोख्रेलले लेखेको उक्त समाचारमा मृतक भनिएका प्रतापका छिमेकी पहल कटुवाल, उनकी श्रीमती सीता सदा र समाजसेवी भनिएका राजेन्द्र पोखरेलको भनाइ राखिएको छ । त्यसको भोलिपल्ट अर्थात् मंसिर २६ गते गोरखापत्रमा ‘अस्पतालद्वारा मृत्यु घोषणा नगरेको दाबी’ शीर्षकको समाचार प्रकाशित भयो । यो समाचारमा पत्रकार पोखरेलले अस्पतालका कार्यकारी प्रमुख सन्तोष मेहतासँगको कुराकानी राखेका छन् । यो समाचार भने केही सीमित सञ्चारमाध्यमले मात्र प्रकाशित गरेका छन् ।

यसअघि भिडिओ राख्ने फेसबुक पेजले भने अस्पतालको भनाइसहितको कुनै भिडिओ राखेका छैनन् । त्यस लगत्तै बुधवार गोरखापत्रमा ‘गलत परामर्शले ‘मृत्यु’ को भ्रम शीर्षकको अर्को समाचार प्रकाशित भयाे । यसमा भने अस्पतालको भनाइ समावेश गरिएको छ । 

भएको के थियो ?

इनरुवा नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार प्रताप सदा शनिवार गाडीमा सामान लोड गर्ने बेला लडेर बेहोस भएका थिए । त्यसपछि उनलाई इनरुवा अस्पताल लगियो । सो अस्पतालमा सदाको उपचार सम्भव नहुने भएपछि विराटनगरस्थित कोशी अस्पतालमा रिफर गरिएको थियो । त्यसपछि बिरामी सदाको टाउकोको एमआरआई गर्नुपर्ने भएकाले उनलाई मेट्रो न्युरो अस्पताल भर्ना गरियो । 

अस्पतालका प्रमुख कार्यकारी अधिकृत सन्तोशकुमार मेहताका अनुसार सदालाई मंसिर २३ गते बिहान साढे १० बजे सिकिस्त अवस्थामा उपचारका लागि ल्याइएको थियो । “बिरामीका दाइ अनिल सदा र श्रीमती सीता कुमारीले शनिवार बिहान ल्याउनु भएको हो,” उनले भने, “उहाँलाई ल्याइसकेपछि इमर्जेन्सी वार्डमा लगेर त्यही अनुसारको चेकजाँच गरिरहेका थियौं । त्यसबाट उहाँलाई ‘मेनेन्जाइटिस’ भएको देखियो । पछि आईसीयूमा शिफ्ट गर्नुपर्ने अवस्था आएर आईसीयूमा शिफ्ट गर्‍यौं ।”  

आईसीयूमा राखेर उपचार गरिरहेकै अवस्थामा बिरामी सदाका आफन्तले आफूले उपचार गर्न नसक्ने भन्दै लिन खोजेको मेहताले सुनाए । उनले अगाडि भने, “खर्च बेहोर्न सक्दैनौंऽ लान्छौ‌ भनेपछि बिरामी जवान नै हुनुहुन्छ, आर्थिक अवस्था कमजोर भएकाले ५० प्रतिशत रकम अस्पतालले छुट दिन्छ । बाँकी ५० प्रतिशतका लागि वडासँग समन्वय गर्नुस् । वडाबाट पनि सहयोग भयो भने उपचार भइहाल्छ । राम्रो भएर जानुहुन्छ भनेको हो ।” त्यति भन्दा पनि उनीहरूले घरै लग्ने चाहना भएको बताए । मेहताका अनुसार परिवार अशिक्षित भएकाले उपचारतर्फ त्यति चासो दिएनन् । घर फिर्ता लाने कुरामा सदाको परिवारले अडान नछोडेपछि अस्पतालले यसरी बीचमै घर लग्दा बिरामीको ज्यान जुनसुकै बेला जान सक्छ भनेर सचेत बनायो ।

यति भन्दा पनि उनीहरूले लैजाने अठोट गरेपछि अस्पतालले समझदारी पत्रमा हस्ताक्षर गर्न लगायो । जसमा “मेरो बिरामीको मुखमा पाइप राखी कृत्रिम श्वासप्रश्वास (Ventilation) गराइरहेको छ । यी सबै उपचार छोडेर, मुखमा लगाएको पाइप निकालेर/ननिकालेर, नाकको पाइप निकालेर/ननिकालेर, पिसाबको पाइप निकालेर/ननिकालेर मेरो बिरामीलाई लैजान्छु र केही भइपरी आएमा वा मृत्यु समेत भएमा म आफैँ जिम्मेवार हुनेछु । यस अस्पतालका कुनै पनि चिकित्सक, कर्मचारीलाई दोष दिने छैन भनी सहीछाप गर्दछु,” लेखिएको छ । यसमा बिरामीका दाइ अनिल सदाले हस्ताक्षर र औंठा छाप लगाएका छन् । 

आईसीयूबाट बिरामी निकाल्दा बिरामी मर्छ भन्ने सोचेर बिरामीका आफन्तले घरमा पहिले नै सदाको निधन भइसकेको खबर पठाएको हुनसक्ने उनले सुनाए । “अशिक्षाका कारणले यस्तो भएको हो,” मेहताले भने, “आईसीयूमा राख्दा मान्छे मर्छ भन्ने भ्रमले गर्दा उनीहरूले घरमा मृत्युको खबर दिएका हुनसक्छन् । गोरखापत्र जस्तो संस्थामा समाचार लेख्दाखेरी हाम्रा फाेन नम्बरहरू अनलाइनमा थियो, भेरिफाई गरेर लेख्नुपर्थ्यो । हाम्रो भनाइ नराखेर एकपक्षीय समाचार लेख्दा यस्तो भयाे ।”

अस्पतालले मृत्यु भएको प्रमाणपत्र दिएको भनिए भए पनि सहमति पत्र मात्र दिइएको मेहताको भनाइ छ । उनले भने, “मृत घोषणा गर्नुअघि प्रमाणपत्र तयार पार्नुपर्छ, ईसीजी फ्ल्याट भएको पेपर पठाउनुपर्छ । हामीले उनीहरूलाई ईसीजीको रिपोर्ट र सहमति पत्र दिएका छौं ।” सो पत्र मेहताले टेकपानालाई पनि उपलब्ध गराएका छन्, जुन याे समाचार सामग्रीकाे तल राखिएकाे छ ।

त्यस्तै समाचारमा भनिए जस्तो अस्पतालमा कुनै शवगृह नभएको मेहताले सुनाए । उनका अनुसार बिरामीलाई अस्पतालको आईसीयूबाट निकाल्दा समेत अक्सिजन लगाएर निकालिएको थियो । अस्पतालले टेकपानालाई उपलब्ध गराएको सीसीटीभी फुटेजमा पनि बिरामीलाई अक्सिजनसहितको स्ट्रेचरमा राखेको देख्न सकिन्छ । त्यसपछि स्ट्रेचर भित्र लगेर बिरामीलाई राखी बाहिर ल्याएर एम्बुलेन्समा राखिएको देखिन्छ । 

वडा अध्यक्ष श्रेष्ठका अनुसार उनीसँग कुरा गर्दा बिरामी सदाकी श्रीमती सीताले एम्बुलेन्समा राख्दा पनि आँखा हेरिरहेको बताएकी थिइन् ।

सदालाई उनको घरमा लैजानुअघि नै घाट लैजान आवश्यक तयारी भइसकेको थियो । उनलाई घरमा राख्ने बित्तिकै अर्धचेत अवस्थामा पाएपछि हल्ला फैलिएको श्रेष्ठले सुनाए ।

“हस्पिटलले बिरामीको आफन्तलाई जुन हिसाबले बुझाउनुपर्ने थियो, त्यसरी बुझाउन नसक्दा प्रताप सदाको मृत्यु भएको हल्ला घरबाटै फैलिएको हो,” श्रेष्ठले भने, “उनीहरूको परिवारबाट हामीलाई पनि शनिवार राति उ खसिसकेको भन्ने खबर आएको थियो । मैले सीतासँग यसबारे बुझ्दा ‘उनीहरू (अस्पतालका कर्मचारी)ले जे भने मैले पनि त्यही भनेको हो’ भनिन् ।”

अस्पतालले  निम्न वर्गको बिरामीलाई भर्ना गरिसकेपछि उनीहरूको बाध्यता बुझेर त्यही अनुसार वडा कार्यालय वा अन्य निकायसँग सहकार्य गर्नुपर्ने श्रेष्ठले सुनाए । अघिल्लो रात नै मृत्युको खबर फैलिसकेकाले अस्पतालका कुनै व्यक्तिले अनौपचारिक रूपमा सदाको मृत्यु भइसक्यो भनेको हुनसक्ने उनको आशंका छ । “उनीहरूको घरमा अघिल्लो रात नै छाक छोडिसकेका थिए,” उनले भने, “यसमा अस्पतालले आवश्यक परामर्श दिन सकेको होइन कि भन्ने लागेको छ ।” 

उक्त समाचार राख्ने पत्रकारले पनि अस्पताल तथा अन्य सम्बन्धित निकायसँग बुझेर सत्यतथ्य राख्नुपर्ने श्रेष्ठको तर्क छ । उनले अगाडि थपे, “पत्रकारले सबै पक्षको कुरा सुनेर तथ्यसहित समाचार लेख्नुपर्थ्यो । उहाँले त्यसरी नराख्दा भ्रम फैलिएको हो ।”

त्यस्तै ‘अस्पतालले मृत्युको घोषणा गरेको व्यक्ति जीवितै’ भएको भन्ने भिडिओ बनाउने व्यक्तिको पनि गल्ती भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । भिडिओमा जो व्यक्ति देखिएका छन्, उनले हातमा राखेको रिपोर्टमा समेत अस्पतालको नम्बर राखेकाले त्यही फोन गरेर सत्यतथ्य बुझ्न सकिने अस्पतालले जनाएको छ ।

“निजले अस्पतालको व्यक्तिसँग सत्य तथ्य नबुझी भिडिओ बनाएको र भिडिओ सार्वजनिक गर्ने व्यक्तिले समेत सत्य तथ्य नबुझी भिडिओ सार्वजनिक गरेको र सोबाट यस संस्थालाई अपूरणीय क्षति पुगेको छ,” विज्ञप्तिमा भनिएको छ । 

यसका लागि प्रेस काउन्सिल, अदालत लगायत अन्य सम्बन्धित निकायमा आवश्यक कानूनी कारवाहीको प्रक्रियामा जाने अस्पतालको तयारी छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर २७, २०८० १८:३