close

२०२४ लागेसँगै थर्ड पार्टी कुकिज बन्द गर्दै गुगल

टेकपाना टेकपाना

मंसिर ३०, २०८० १६:३४

२०२४ लागेसँगै थर्ड पार्टी कुकिज बन्द गर्दै गुगल

काठमाडौं । नयाँ वर्ष (२०२४) लागेसँगै गुगलले क्रोम ब्राउजरमा थर्ड पार्टी कुकिज बन्द गर्ने भएको छ । आफ्नो फाइदाका लागि प्रयोगकर्ताको गतिविधि ट्र्याक गर्ने वेबसाइटहरूलाई लक्षित गर्दै गुगलले क्रोममा थर्ड पार्टी कुकिज बन्द गर्न लागेको हो ।

द भर्जका अनुसार ४ जनवरी, २०२४ देखि ट्र्याकिङ प्रोटेक्सन फिचरको परीक्षण गर्दै गुगलले यसको थालनी गर्नेछ । यस फिचरको काम आफ्नो स्वार्थका लागि प्रयोगकर्ताको अनलाइन गतिविधि ट्र्याक गर्ने वेबसाइटको कुकिज बन्द गर्नु हाे ।

यसका लागि गुगलले सुरुमा विश्वभरबाट एक प्रतिशत क्रोम प्रयोगकर्ता छान्ने बताइएको छ । छनोट भएका प्रयोगकर्ताले क्रोम खोल्दा यसबारे जानकारी पाउनेछन् । २०२४ भित्रमा नै क्रोमका सबै प्रयोगकर्तालाई यो फिचर लागू गर्ने गुगलको याेजना छ ।

गोपनीयता र विज्ञापनबाट उठ्ने आम्दानीलाई लक्षित गर्दै सन् २०२० देखि गुगलले प्राइभेसी स्ट्यान्डबक्स विकास गर्न लागिपरेको छ । त्यसैको एक पाटोको रूपमा कम्पनीले यो कदम चालेको हाे ।

गुगलको यो कदमबाट गोपनीयतामा केन्द्रित हुने प्रयोगकर्ता तथा विज्ञापनदातालाई फाइदा पुग्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ३०, २०८० १६:३४