close

इन्स्टाग्राम बन्यो सबैभन्दा बढी डिलिट हुने सोसल मिडिया एप

टेकपाना टेकपाना

पुस ८, २०८० १२:१६

इन्स्टाग्राम बन्यो सबैभन्दा बढी डिलिट हुने सोसल मिडिया एप

काठमाडौं । विश्वमा सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्या चार अर्ब ८० करोड हाराहारी रहेको छ । एकातर्फ सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्या बढ्दै छ, अर्कोतर्फ चर्चित सामाजिक सञ्जाल प्लेटफर्मले आफ्नो प्रयोगकर्ताको सङ्ख्या दिनानुदिन गुमाउँदै छन् ।

अमेरिकास्थित प्रविधि कम्पनी टीआरजी डेटासेन्टर्सकाे रिपोर्टका अनुसार औसतमा हरेक महिना प्रयोगकर्ता छदेखि सात ओटासम्म सामाजिक सञ्जालका प्लेटफर्ममा सक्रिय हुन्छन् । र, एक दिनमा औसत दुई घण्टा २४ मिनेटजति प्रयोग गर्छन् । 

सामाजिक सञ्जालका एपहरू लाखौंको दैनिक जीवनको अभिन्न हिस्सा भए तापनि ती प्लेटफर्मको लोकप्रियता निरन्तर ओरालो लागेको छ । रिपाेर्ट अनुसार सार्वजनिक भएको पाँच दिनमै १० करोड प्रयोगकर्ताको आँकडा पार गरेको मेटाको थ्रेड्स एपका सक्रिय प्रयोगकर्ताको सङ्ख्या ८० प्रतिशतले घटेको छ ।

उक्त रिपोर्टका अनुसार अन्य सामाजिक सञ्जालका एपले वर्षभरि सान्दर्भिक रहन सङ्घर्ष गरेपछि सो संस्था यस वर्ष लोकप्रिय एपहरूमा सर्वेक्षण गर्न प्रेरित भएको हो । जसको परिणाम रिपोर्ट बाहिर आएको छ । 

यो वर्ष अन्य प्लेटफर्मभन्दा इन्स्टाग्राम अकाउन्ट डिलिट गर्न चाहने प्रयोगकर्ताको सङ्ख्या बढी छ । सो रिपोर्टका अनुसार इन्स्टाग्राम त्यो प्लेटफर्म हो, जसमा भएको अकाउन्ट डिलिट गर्न प्रयोगकर्ता उत्साहित छन् ।

२०२३ मा विश्वभरबाट करिब १० लाख प्रयोगकर्ताले हरेक महिना आफ्नो इन्स्टाग्राम अकाउन्ट कसरी डिलिट गर्ने भनेर सर्च गरेका छन् । यसको अर्थ एक लाख जनामध्ये १२ हजार ५०० प्रयोगकर्ताले अकाउन्ट कसरी डिलिट गर्ने भनेर सर्च गरेका छन् । 

टीआरजी डेटासेन्टर्सका प्रमुख प्राविधिक अधिकृत क्रिस हिन्कलका अनुसार २०२३ मा सबैभन्दा बढी डिलिट हुने एप इन्स्टाग्राम हो । यसको अर्थ सामाजिक सञ्जाल प्रयोगकर्ताहरू बढेको भएपनि उनीहरू नयाँ-नयाँ प्लेटफर्ममा रुचाउन थालेका छन् ।

उनी भन्छन्, “यो परिवर्तनले के देखाउँछ भने मानिसहरू त्यस्तो सामाजिक सञ्जालको प्लेटफर्म चाहन्छन्, जसमा अझ वास्तविक भएको महसुस होस् ।” 

कसरी गरियो सामाजिक सञ्जालको अध्ययन ?

टीआरजी डेटासेन्टर्सका अनुसन्धानकर्ताले सामाजिक सञ्जालको अध्ययनका लागि स्टाटिका डटकमले रिपोर्ट गरेको विभिन्न नौ चर्चित एप प्रयोग गरेका थिए । ती तिनै एप हुन्, जो विश्वका अधिकांश क्षेत्रका प्रयोगकर्ताको पहुँचमा छन् । उनीहरूले १२ महिनासम्म हरेक महिनाा ‘हाउ टु डिलिट माई अकाउन्ट’ भन्ने फ्रेज कति पटक सर्च गरिन्छ भन्ने विश्लेषण गरे ।

अनुसन्धानकर्ताले मानिसहरू हरेक एप कसरी प्रयोग गरिरहेका छन् भन्ने कुरालाई पनि आधार बनाएका थिए । त्यसपछि उनीहरूले त्यसलाई विश्वभर कति प्रयोगकर्ताले सामाजिक सञ्जाल प्रयोग गर्छन् भन्ने डेटासँग तुलना गरे । उनीहरूले एक लाख जनाले हरेक महिना सामाजिक सञ्जालमा के विशेष कुरा खोज्छन् भन्ने पत्ता लगाउन यसरी अध्ययन गरेको रिपोर्टमा उल्लेख छ । 

उक्त अध्ययनका अनुसार २०२३ मा १० लाख २० हजार जनाले इन्स्टाग्राम, एक लाख २८ हजार जनाले स्न्यापच्याट, १२ हजार ३०० जनाले ट्वीटर, ७१ हजार ७०० जनाले टेलिग्राम, ४९ हजार जनाले फेसबुक, २४ हजार ९०० जनाले टिकटक, १२ हजार ५०० जनाले युट्युब, चार हजार ९५० जनाले ह्वाट्सएप र २०९० जनाले विच्याट कसरी डिलिट गर्ने भनेर सर्च गरेका थिए । 

मेटाको फोटो शेयरिङ एप इन्स्टाग्राम सबैभन्दा बढी डिलिट हुने एपहरूको शीर्ष स्थानमा छ । फिडमा बढी विज्ञाप देखिनु, इन्फ्ल्युन्सरले ती प्लेटफर्मबाट सामान बिक्री गर्न खोज्नुले प्रयोगकर्ताहरू सामाजिक सञ्जालबाट टाढा हुन खोजेको उक्त अध्ययनले देखाएको छ । 

विश्वभर दुई अर्ब प्रयोगकर्ता भएको सामाजिक सञ्जालका प्लेटफर्मबाट केही लाख अकाउन्ट डिलिट हुनु ठूलो समस्या होइन । तर, हरेक महिना त्यसरी ठूलो सङ्ख्यामा प्रयोगकर्ताले अकाउन्ट डिलिट गर्न खोज्दा उनीहरूलाई वर्तमान अवस्थाको सामाजिक सञ्जाल उपयुक्त नलागेको अध्ययनको निष्कर्ष छ । 

२०११ मा सार्वजनिक भएको स्न्यापच्याटमा हरेक महिना एक लाख ३० हजारले अकाउन्ट डिलिट गर्न खोजिरहेका हुन्छन् । जबकि नयाँ पुस्तामा लोकप्रिय बनेको उक्त प्लेटफर्ममा सात करोड ५० लाख हाराहारी प्रयोगकर्ता छन् ।

पछिल्लो अध्यावधिक: पुस ८, २०८० २१:८