close

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा खल्तीले फिनटेक कोर्स पढाउने, कम्पनीमै प्रयोगात्मक कक्षा

टेकपाना टेकपाना

पुस १०, २०८० १३:४२

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा खल्तीले फिनटेक कोर्स पढाउने, कम्पनीमै प्रयोगात्मक कक्षा

 

काठमाडाैं । डिजिटल वालेट खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा फिनटेक काेर्स पढाउने भएकाे छ । स्नातक तहका विद्यार्थीहरू लक्षित गर्दै खल्तीले ‘अप्लाइड फिनटेक इन्जिनियरिङ कोर्स’ अध्ययनका लागि सुविधा उपलब्ध गराउने भएकाे हाे ।

त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त यस पाठ्यक्रममा फिनटेकमा रुचि राख्ने स्नातक तहका विद्यार्थीहरूले अध्ययन गर्नसक्ने बताइएकाे छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्नातक तहमा ‘इलेक्ट्रोनिक्स र कम्प्युटर’ विषय अध्ययनरत विद्यार्थीहरूले यस विषयलाई अन्तिम सेमेस्टरमा छनोट गर्न सक्नेछन् । नेपालको फिनटेक उद्योगमै पहिलो पटक खल्तीले यस्तो इन्जिनियरिङ कोर्स तयार पारेको हो ।

शिक्षा प्रणालीलाई उत्कृष्ट बनाउन व्यवहारिक शिक्षाको भूमिका महत्त्वपूर्ण हुने भएकाले याे इन्जिनियरिङ् पाठ्यक्रम उपलब्ध गराएको खल्तीका सहसंस्थापक एवं सञ्चालक समिति अध्यक्ष अमित अग्रवालले बताए ।

उनका अनुसार शिक्षा र  व्यवहारिक जीवनमा देखिएको खाडललाई परिपूर्ति गर्ने उद्देश्यका साथ पाठ्यक्रम तयार पारिएकाे छ, जसमा विद्यार्थीहरूले फिनटेक कम्पनीको बारेमा त्यहाँका सदस्यहरूबाट प्रत्यक्ष रूपमा सैद्धान्तिक शिक्षा पाउनुका साथै व्यवहारिक ज्ञानलाई नजिकबाट नियाल्दै खल्तीको आफ्नै कार्यालयमा काम गर्दै अनुभव गर्ने मौका पाउनेछन् ।

“हामीले फिनटेक क्षेत्रको आवश्यकता, सम्भावित अवसर र आउने चुनौतीहरलाई नजिकैबाट अनुभव गर्दै आएका छौँ ।  त्यसै अनुरुप यस क्षेत्रलाई विकास गर्न आगामी दिनमा कस्तो सीप र ज्ञान भएका जनशक्तिको आवश्यकता पर्न सक्छ भन्ने कुराको अनुमान लगाउन सक्दछौँ । यी सबै कुराहरू मध्यनजर गर्दै फिनटेक क्षेत्रमा आउन चाहने युवाहरूलाई पाठ्यक्रममार्फत नै आवश्यक सीप र ज्ञान प्रदान गर्ने उद्देश्यका साथ हामी अघि बढेका हौं,” अग्रवालले भने । 

पछिल्लो अध्यावधिक: पुस १०, २०८० १३:५७