close

भिरिन्ची कलेजमा भोलिदेखि तीन दिनसम्म आईसीटी मेला हुँदै, के-के छन् आकर्षण ?

टेकपाना टेकपाना

पुस ११, २०८० १५:१९

भिरिन्ची कलेजमा भोलिदेखि तीन दिनसम्म आईसीटी मेला हुँदै, के-के छन् आकर्षण ?

काठमाडौं । ललितपुरस्थित भिरिन्ची कलेजले बिहीवारदेखि शनिबारसम्म चौंथो संस्करणकाे ‘आईसीटी मेला’ आयोजना गर्ने भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीले तयार पारेका उपकरण र प्रविधिको प्रदर्शन गर्ने उद्देश्य अनुरुप तीन दिने ‘आईसीटी मेला ४.०’ आयोजना हुन लागेको हो ।

कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आकाश सिम्खडाका अनुसार विद्यार्थीहरूलाई आईसीटी क्षेत्रको महत्त्व र स्वदेशमै अध्ययन गरी स्वदेशमै आईसीटी/आईटी उद्योगमा कार्यरत हुन सकिने ठूलो सम्भावना रहेको कुरा प्रवर्द्धन गर्नु मेलाको उद्देश्य रहेको छ ।

यसका लागि मेलामा ब्याचलर्स अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी (बीआईसीटी) का विद्यार्थीले तयार पारेका २० भन्दा बढी उपकरण र प्रविधिको प्रदर्शनी हुने उनले जानकारी दिए, जसमा मानव जीवनमा दैनिक भोग्नु परेका समस्याहरूको समाधानका लागि उपयोगी हुने उपकरण र प्रविधि हुने उनको भनाइ छ ।

यसअन्तर्गत ह्युमनाइड रोबोट, सोलार ट्र्याकिङ सिस्टम, स्मार्ट पार्किङ, फेस रिकग्नाइजेसन सिस्टम, सर्भिलेन्स रोबोट स्नेक, स्मार्ट ग्निन हाउस, होलोग्राम लगायतका प्रविधि रहेका छन् । त्यस्तै यी परियोजनाको प्रदर्शनी बाहेक रोबो र्‍याम्प रेस ३.०, रोबो फुटबल, स्क्विड गेम, युआई/युएक्स प्रतियोगिता लगायतका गतिविधि हुने सीईओ सिम्खडाले बताए ।

२०७० सालमा स्थापना भएको कलेजले मलेसियास्थित एसिया ई विश्वविद्यालयबाट सम्बन्धन लिएर सूचना प्रविधिसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । साथै कलेजका विद्यार्थीहरुको प्रतिभा आमसर्वसाधारणसम्म ल्याउन प्रत्येक वर्ष कलेजले आईसीटी मेला गर्दै आएको छ । अवलोकनकर्ताका लागि निःशुल्क प्रवेशकाे व्यवस्था मिलाइएकाे छ ।

मेलाबारे थप बुझ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: पुस ११, २०८० १५:३२