close

पोडकास्ट बनाउन चाहनेका लागि भाडामा स्टुडियो उपलब्ध गराउने स्टार्टअप

हिक्मत आचार्य हिक्मत आचार्य

पुस १९, २०८० १३:३

पोडकास्ट बनाउन चाहनेका लागि भाडामा स्टुडियो उपलब्ध गराउने स्टार्टअप

काठमाडौं । पछिल्लो समय नेपालमा पोडकास्ट सञ्चालन गर्ने प्रवृत्ति बढ्दो छ । आफ्नो क्षेत्रका व्यक्तिहरूसँग वा जसको कथा गुमनाम छ, उसका कथा बाहिर ल्याउन, सर्वसाधारणलाई सचेत बनाउन, विभिन्न विषयमा धारणा प्रस्तुत गर्न पोडकास्ट निकै उपयुक्त विकल्प बनेको छ । 

यसैलाई मध्यनजर गर्दै एकटुक्रा क्रियटर्स प्रालिले पोडकास्ट स्टुडियो भाडामा दिने व्यवसाय सुरु गरेको छ ।

“अहिले पोडकास्ट निकै रुचाउन थालिएको छ,” कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन श्रेष्ठ भन्छन्, “नयाँ पुस्तामा यसको क्रेज बढेको छ । तर, सुरुमा सबै आवश्यक सामग्री व्यवस्थापन गरेर सुरु गर्न महँगो पर्छ । त्यसैले पोडकास्ट स्टुडियो भाडामा दिन सुरु गरेका हाैं ।” 

कुनै विज्ञ व्यक्तिसँगका कुराकानी मात्र नभइ सम्झनाका लागि आफ्नै घर परिवार, साथीभाइ, आफन्तसँग गरिएका पोडकास्ट शैलीको कुराकानीपछिका दिनमा यादगार बन्न सक्छन् । त्यसैले पनि पोडकास्ट सुरु गर्ने योजना बनाएका क्रियटरदेखि सर्वसाधारणले पनि पोडकास्ट बनाउन सकून् भन्ने उद्देश्यले स्टुडियो भाडामा दिन सुरु गरेको उनले सुनाए ।

“सबैका आ-आफ्ना कथा हुन्छन्,” उनी भन्छन्, “ती कथालाई भिडिओका रूपमा राख्न खोज्नेहरू पनि धेरै हुनुहुन्छ । उहाँहरूलाई लक्षित गरेर हामीले स्टुडियो भाडामा दिने योजना बनाएका हौं ।” 

सामान्यतः पोडकास्ट स्टुडियोका लागि आवश्यक सबै सामग्री जोड्ने हो भने आठदेखि १० लाख रुपैयाँसम्म लाग्ने उनले बताए ।

यसरी यतिका लगानी गरेर पछि सफल हुने वा नहुने यकिन हुँदैन । त्यसैले परीक्षणका लागि पनि यस्तो स्टुडियो उपयुक्त हुन सक्ने उनको भनाइ छ ।

कपन काठमाडौंमा रहेको एकटुक्राको कार्यालयमा पोडकास्ट स्टुडियो सञ्चालन गरिएको छ । इच्छुक व्यक्तिले त्यहीँ गएर पोडकास्ट रेकर्ड गर्न सक्छन् । 

सामान्यतः दुई घण्टासम्मको पोडकास्ट गर्नका लागि न्यूनतम एउटा क्यामेरा नै उपयुक्त हुन्छ । एउटा हाइ रेजोलुसनको क्यामेराले खिचेको उक्त पोडकास्टको ‘र फुटेज’ (Raw footage) कम्पनीले न्यूनतम पाँच हजार रुपैयाँमा उपलब्ध गराउँछ । श्रेष्ठ भन्छन्, “सबैको आवश्यकता फरक-फरक हुन्छ । कसैसँग स्पेस होला क्यामेरा नहुन सक्छ, कसैसँग क्यामेरा भएर स्पेस र अन्य सेटअप नहुन सक्छ । उहाँहरूलाई के आवश्यक परेको छ त्यसमा मूल्य निर्धारण हुन्छ ।”

आवश्यक परे फुटेज एडिट गर्न, ग्राफिक्स तयार पार्न पनि एकटुक्रा क्रियटर्सले नै सघाउने उनको भनाइ छ । यदि पोडकास्ट प्रडक्सनको पूरै काम गर्नुपरे १५ हजार रुपैयाँदेखि माथि लाग्छ ।

पोडकास्ट एउटा क्यामेरा मात्रले पनि रेकर्ड गर्न सकिन्छ । दुई जनामध्ये जसले बोलेको छ, उसैको फुटेज क्रप गरेर राख्न सकिन्छ । क्रप गरेको फुटेजको रेजोलुसन उच्च भएमा भिडिओ स्तरीय नै देखिन्छ ।

त्यस्तै कतिपयले तीन ओटा कोणबाट भिडिओ रेकर्ड गर्न सक्छन् । त्यस्तोमा पोडकास्ट रेकर्ड गर्न चाहने व्यक्तिको आवश्यकता अनुसार सबै सेटअप गरिदिने श्रेष्ठले सुनाए ।

“कसैले नियमित रूपमा पोडकास्ट गर्न चाहनु भयो भने उहाँहरूले चाहे अनुसारको सेटअप पनि गर्न सकिन्छ” उनी भन्छन्, “त्यो भयो भने रेगुलर रूपमा त्यही ब्याकग्राउन्डमा पोडकास्ट रेकर्ड गर्न सकियो । उहाँहरूलाई शुल्क पनि त्यही अनुसार मिलाउन सकिन्छ ।”

त्यसबाहेक कसैले आफ्नो कविता, कथा वा अन्य सामग्री रेकर्ड गर्न चाह्यो भने पनि सशुल्क रूपमा स्टुडियो उपलब्ध गराउने उनले बताए । कम्पनीमा हाल चार किसिमका स्टुडियो सेटअप छन् । त्यसमध्ये पोडकास्ट वा अन्य सामग्री रेकर्ड गर्न चाहनेले आफूलाई उपयुक्त लागेको सेटअपमा रेकर्ड गर्न सक्छन् । 

क्यामेरा र अन्य ग्याजेट्स

रोशनका अनुसार उक्त स्टुडियोमा हालसम्म ३० लाखभन्दा बढी लगानी भइसकेको छ । विशेषगरी स्टुडियोमा राखेको लाइट, डेकोरेसन, कम्प्युटर, क्यामेरा तथा फर्निचरमा उक्त रकम खर्च भएको हो । भिडिओ स्तरीय बनाउन उनले स्टुडियोमा ‘फुजिफिल्म एक्सटी फोर’ (camera fujifilm xt4) क्यामेरा राखेका छन् ।

त्यस्तै स्तरीय साउन्डका लागि माइक श्याेर एमभी सेभेन (Mic Shure MV7) र माइक श्याेर एसएम ५८ (Mic Shure SM58) जस्ता माइक्रोफोन प्रयोग गरेका छन् ।

“हुन त कन्टेन्टको सन्दर्भमा भिडिओ वा अडियोभन्दा पनि त्यसमा समावेश सामग्री कत्तिको दमदार छ भन्नेले स्तरीयता कायम गर्छ,” उनी भन्छन्, “तर पनि कहिलेकाहीँ अडियन्सलाई आकर्षण गर्न, भिडिओ हेर्दा उनीहरूको अनुभव बढावा दिन भिडिओ र अडियो पनि स्तरीय हुनुपर्छ जस्तो लाग्छ ।”

एकटुक्रा क्रियटर्सलाई सम्पर्क गरेर पोडकास्ट निर्माणबारे अन्य जिज्ञासा सोध्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: पुस १९, २०८० १४:१०