close

अवैध रूपमा सञ्चालन भएको भन्दै भारतले हटायो बाइनान्स सहित ९ क्रिप्टो एक्सचेन्ज एप

टेकपाना टेकपाना

माघ २, २०८० १२:४३

अवैध रूपमा सञ्चालन भएको भन्दै भारतले हटायो बाइनान्स सहित ९ क्रिप्टो एक्सचेन्ज एप

काठमाडौं । अवैध रूपमा सञ्चालन भएको भन्दै भारतले बाइनान्ससहित नौ ओटा क्रिप्टो एक्सचेन्ज एपलाई कारबाही गरेको छ । स्थानीय कर नियमको पालना नगरी सञ्चालन भएको भन्दै भारतले गुगल तथा एप्पललाई ती प्लेटफर्म हटाउन निर्देशन दिएपछि प्लेस्टोर तथा एपस्टोरबाट नौ ओटा क्रिप्टो एक्सचेन्ज प्लेटफर्म हटेका छन् ।

भारतमा रहेको गुगल र एप्पलको प्लेटफर्मबाट हट्ने क्रिप्टो एक्सचेन्ज एपमा बाइनान्ससहित कुक्वाइन, हौबी, क्राकेन, गेट डट आईओ रहेका छन् । त्यस्तै बिट्टरेक्स, बिट्स्ट्याम्प, एमईएक्ससी ग्लबाेल र बिटफाइनेक्स जस्ता एप पनि हट्ने क्रममा रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सञ्चारमाध्यमका अनुसार अर्थ मन्त्रालयको फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआईयू)ले डिसेम्बर अन्तिममा विभिन्न क्रिप्टो एक्सचेन्ज प्लेटफर्मलाई देशको सम्पत्ति शुद्धीकरण कानूनको पालना नगरेकोमा कारण देखाऊ सूचना जारी गरेको थियो । त्यसपछि मन्त्रालयले सूचना तथा प्रविधि मन्त्रालयलाई विभिन्न नौ ओटा भर्चुअल डिजिटल एसेटका लिङ्क ब्लक गर्न निर्देशन दिएको थियो ।

निर्देशन आएपछि सूचना तथा प्रविधि मन्त्रालयले एप्पल र गुगललाई भारतमा रहेको उनीहरूको प्लेटफर्मबाट ती एप हटाउन अनुरोध गरेको थियो । अघिल्लो साता एप्पलले आफ्नो प्लेटफर्मबाट ती एप हटाएको थियो भने गुगलले शनिबारदेखि हटाउन सुरु गरेको छ ।

भारतमा रहेको प्ले स्टोर र एपस्टोरबाट हटेपछि बाइनान्सले सामाजिक सञ्जाल एक्समार्फत कम्पनीले स्थानीय कानूनलाई पालना गर्ने र आफ्नो सेवा निरन्तर दिने जनाएको छ । आफ्ना पहिलेका प्रयोगकर्ता प्रभावित नहुने भन्दै यो परिस्थितिको सामना गर्न कम्पनी लागिपरेको बाइनान्सले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: माघ २, २०८० १२:५२