close

यस्तो देखियो बुढानीलकण्ठ स्थित चार्जमा राखिएको एमजी ईभी आगलागी हुनुको कारण

टेकपाना टेकपाना

माघ १५, २०८० १३:४६

यस्तो देखियो बुढानीलकण्ठ स्थित चार्जमा राखिएको एमजी ईभी आगलागी हुनुको कारण

काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले आफ्नो ईभीमा भएको आगलागीको कारण सार्वजनिक गरेको छ । कम्पनीले बुढानीलकण्ठ स्थित चार्जिङका क्रममा आगलागी भएको गाडीको सम्बन्धमा उत्पादक कम्पनी एसएआई सी मोटर इन्टरनेसनल को लिमिटेड, चाइनाबाट भएको अध्ययन निष्कर्ष बाहिर ल्याएको हो । 

उत्पादक कम्पनीको उक्त प्राप्त प्रतिवेदनमा प्राविधिक विश्लेषण तथा अध्ययनमा उक्त आगलागी भएको गाडीमा आगो अगाडीबाट पछाडी तर्फ बलेको, आयल लिकेज र मेकानिकल फेलियर नभएको, उक्त समयमा गाडी पार्क गरी चार्जमा राखिएको अवस्थामा गाडी भित्रबाट आगलागी हुनको लागि उच्च तापक्रमको स्रोत नभएको उल्लेख छ । साथै इलेक्ट्रिकल फल्टबाट आगलागी भएको नदेखिएको, गाडीमा एबनर्मल बर्न (अस्वाभाविक रूपमा जलेको) र शर्ट सर्किट नदेखिएको बताइएको छ ।

यसैगरी गाडीको ब्याट्रीमा आगोको कुनै प्रभाव नरहेको, गाडीमा क्वालिटी डिफेक्ट (गुणस्तरको खराबी) नदेखिएको भन्ने समेत ब्यहोरा प्राविधिक प्रतिवेदनमा उल्लेख रहेको भनिएको छ । 

गाडी धनी स्वयंले नै तत्कालीन अवस्थामा प्रहरीलाई खबर गर्दा विद्युत्‌को तार सट भई आगलागी भएको भनी फोन मार्फत टिपाएको र सोही बमोजिम चार्जमा राख्दा विद्युत्‌को तार सट भई आगलागी भएको भन्ने ब्यहोराको स्थानीय प्रहरीको स्थलगत सर्जमिन भएको उल्लेख छ । उक्त गाडीका गाडी धनीले हिउँदे सीत परि भुईँ ओसिलो हुने मौसमको बखत उक्त गाडीलाई रातभर घरबाट करिब १५ मिटर तार तानी खुल्ला आकाश मुनी पावर सकेट राखी चार्जमा राखिएको थियो । 

“उक्त गाडी चार्ज गर्दा प्रयोग गर्नुपर्ने मापदण्ड अनुसारको तार, पावर सकेट समेत प्रयोग गर्नु भएको नदेखिनुको साथै गाडी पार्किङमा राख्दा बन्द अवस्थामा रहेको, विद्युत् तथा आगोको श्रोतको रूपमा कुनै पनि आन्तरिक यन्त्र नदेखिएको,  गाडीको हाई भोल्टेज ब्याट्रीमा आगोको कुनै प्रभाव नरहेको, तर आगोको 

कारण क्षति पुगेको र गाडी धनीले चार्ज गर्न तानेको तारमा जोडेको सकेट र चार्जर जलेर पूर्णतः नष्ट भएको समेत वस्तुस्थिति जानकारी गराउँदछौँ ।” 


 

पीडितको क्षतिपूर्ति के हुन्छ ?

एमजी जेड एस ईभीमा आगलागी भएको घटनामा कम्पनीले पीडित बीमाको प्रक्रियामा गइसकेको स्पष्टीकरण दिएको छ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले आइतबार एक विज्ञप्ति निकाल्दै पीडितले बीमाको प्रक्रियामा गइसकेको भन्दै कम्पनीबाट छुट्‍टै क्षतिपूर्ति पाउने प्रसङ्ग नै नरहेको जनाएको हो ।  

गाडीमा आगलागी भएको एक साताभित्र कम्पनीले क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएको भए पनि महिना दिन बितिसक्दा समेत नपाएको कुरा पीडित सवारी धनी सुदिप लामिछानेले बताएका थिए । तर सम्बन्धित ग्राहकले कम्पनीमा आजसम्म क्षतिपूर्तिका लागि कुनै पनि अनुरोध नै नगरेको पारामाउन्ट मोटर्सले दाबी गरेको छ । “अर्को तर्फ यस कम्पनीको आधिकारिक व्यक्तिबाट क्षतिपूर्ति दिने सम्बन्धमा कुनै पनि प्रतिबद्धता व्यक्त नगरिएको यथार्थ समेत सबैको लागि जानकारी गराइन्छ,” कम्पनीले विज्ञप्तिमा भनेको छ ।

“सवारी धनीले एकातर्फ बीमा दाबीको प्रक्रिया अवलम्बन गर्नु भएको हुँदा प्रचलित कानून बमोजिम बीमा वापतको रकम भुक्तानीको प्रक्रियाको थालनी गरेपश्चात् यस कम्पनीलाई कुनै दाबी नै नगरिएको क्षतिपूर्ति पाइन भनी यस कम्पनीको विरुद्धमा भएको अनर्गल प्रचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।” साथै ग्राहकको एकातर्फ बीमा दावी गर्ने र अर्को तर्फ क्षतिपूर्ति समेत दाबी गर्ने कार्य आफैंमा नैतिकता र कानून विपरीत हुने समेत उल्लेख छ । 

गत ९ पुसमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ स्थित देउवा चोकमा चार्जिङका क्रममा एमजी जेडएस ईभीमा आगलागी भएको थियो । बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको उक्त गाडी आगलागीबाट नष्ट भएको घटनालाई लिएर गाडीको ब्रान्ड र कम्पनीको नाम समेत उल्लेख भएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । 

घटना भएको दिन तत्काल कम्पनीका प्राविधिक कर्मचारी समेतको टोली स्थलगत रूपमा घटनास्थलको अवलोकन गर्न पुगेको थियो । कम्पनीका अनुसार जलेको गाडी विद्युत् प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ गरी साँझ ६ः०० बजे देखि चार्जमा राखिको थियो । 

सोही क्रममा बिहान १ः१५ बजेको समयमा एक्कासी विद्युत्‌को तार सर्ट भई आगलागी भई पूर्ण रूपमा जलेको प्रारम्भिक रूपमा देखिएको उल्लेख छ । 

उक्त गाडी कम्पनीको झापास्थित डिलरबाट १० चैत २०७८ मा खरिद बिक्री भएको थियो । घटनाका क्रममा तार शर्ट भएको बताइए पनि पीडितले वास्तविक अर्कै रहेको बताएका थिए । तर कम्पनीले भने वास्तविकता बाहिर नल्याउने विषयमा पीडितसँग कुनै सहमति नभएको उल्लेख गरेको छ । 

“वास्तविक रूपमा सो किसिमको सहमति भएकै होइन र त्यस किसिमबाट सहमति गर्नु पर्ने आवश्यकता नै रहेको छैन,” कम्पनीले भनेको छ । “गाडीमा आगलागी भए पश्चात् तत्कालीन अवस्थामा स्थानीय प्रहरी प्रभाग बुढानीलकण्ठमा फोन गरी घटनाको बारेमा जानकारी दिंदा नै विद्युत्‌को तार सट भई आगलागी भएको ब्यहोरा सवारी धनीले नै फोनबाट टिपाएको भन्ने स्थापित तथ्य, प्रहरीको सर्जमिन मुचुल्काबाट नै पुष्टि हुन्छ ।”

पीडित सवारी धनी लामिछानेले टेकपानासँगको कुराकानीमा आफू अहिले बीमा दाबीको प्रक्रियामा रहेको सुनाए । 

 

पछिल्लो अध्यावधिक: माघ १५, २०८० १३:४६