close

इम्बोस्ड नम्बर प्लेट ट्र्याक गर्न आधुनिक डिभाइस, अब कर नतिर्ने गाडी ठाउँकाे ठाउँ समातिने

टेकपाना टेकपाना

माघ १६, २०८० १८:३१

इम्बोस्ड नम्बर प्लेट ट्र्याक गर्न आधुनिक डिभाइस, अब कर नतिर्ने गाडी ठाउँकाे ठाउँ समातिने

काठमाडौं । अब इम्बोस्ड नम्बर प्लेट ट्र्याक गर्न आधुनिक उपकरण प्रयोग हुने भएको छ । यसका लागि सरकारले इम्बोस्ड पहिचान गर्ने रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस (आरएफआईडी) प्रयोग गर्न लागेको हो ।

मंगलवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर प्लेट रिड गर्ने पाँच थान आरएफआईडी  नेपाल प्रहरीलाई  हस्तान्तरण गरेका छन् ।

मङ्गलवार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री ज्वालाले इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने आरएफआईडी मसिन प्रहरीलाई हस्तान्तरण गरे । सो मसिन नेपाल प्रहरी मुख्यालय अन्तर्गत कार्यविभाजनका डीआईजी भरत बोहोरा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआइजी पोषराज पोखरेललाई हस्तान्तरण गरिएकाे हाे ।

यातायात व्यवस्था विभागका अनुसार छिट्टै १०० थान मसिन हस्तान्तरण गरिने छ ।

हाल सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था भएपनि यसमा उपलब्ध डेटा रिड गर्ने प्रणालीको व्यवस्था थिएन । योसँगै अब यातायात व्यवस्था विभागले देशका विभिन्न ठाउँ (नाका)हरूमा इम्बोस्ड प्लेट रिड गर्ने गेटसमेत निर्माण गरिरहेको छ ।

मन्त्री ज्वालाले सवारी साधनमा इम्बोस्ड प्लेट जडान गरेसँगै सवारी साधनको सुरक्षा तथा अन्य हिसाबले यो प्रणाली महत्त्वपूर्ण हुने बताए । सो अवसरमा यसको डेमो समेत देखाइएको थियो । 

कार्यक्रममा भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल तथा ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेको समेत उपस्थिति थियो ।

पछिल्लो अध्यावधिक: माघ १७, २०८० ९:११