close

मार्चदेखि ५०१ किमिसम्म रेञ्ज भएको नेटा एक्सको डेलिभरी, मूल्य ५२ लाख !

टेकपाना टेकपाना

माघ १९, २०८० १९:४४

मार्चदेखि ५०१ किमिसम्म रेञ्ज भएको नेटा एक्सको डेलिभरी, मूल्य ५२ लाख !

काठमाडाै‌ । चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी होजोन अटोको 'नेटा एक्स' नेपाली बजारमा आउने भएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले यो गाडी नेपाल ल्याउन लागेको हो । 

कम्पनीले यसअघि नै नेटा एक्सकाे अग्रिम बुकिङ खुलाइसकेको छ । कम्पनी स्रोतका अनुसार नेटा एक्सका लागि हालसम्म नेपालमा १५० भन्दा बढी अग्रिम बुकिङ आइसकेको छ । 

कम्पनीले आफ्नो वेबसाइटमा यो गाडी छिट्टै आउन लागेको कुरा समेत उल्लेख गरेको छ । कम्पनीका अनुसार २५ हजार रुपैयाँ भुक्तानी गरेर यो गाडीका लागि अग्रिम बुकिङ गर्न सकिन्छ । 

“अहिले आयातका लागि आवश्यक सम्पूर्ण प्रक्रियाकाे काम सकिएकाे छ र गाडी चीनबाट टेस्ट ड्राइभका लागि दुई ओटा गाडी नेपाल हिंडिसकेका छन्,” कम्पनीका सहायक महाप्रबन्धक सुरेन्द्र शाहीले टेकपानासँग भने, “सम्भवतः अबको दुई-तीन हप्तामा आइपुग्नेछ ।”

उनका अनुसार ४०० किमि रेञ्ज भएको बेसिक र ५०१ किमिको बेसिक तथा इन्टेलिजेन्ट गरी नेटा एक्सका तीन मोडेल नेपालमा उपलब्ध हुनेछन् । अग्रिम बुकिङ गराएका ग्राहकलाई मार्च देखि डेलिभरी दिने कम्पनीले जनाएको छ ।

चिनियाँ बजारमा ४०१ र ५०१ किलोमिटर रेन्ज भेरियन्टमा उपलब्ध यो गाडी नेपालमा पनि दुवै भेरियन्टमा उपलब्ध हुने भनिएको छ । नेटा एक्सको लम्बाइ ४६१९ एमएम, चौडाइ १८६० एमएम, उचाइ १६२८ एमएम र ह्विलबेस २७७० एमएम रहेको छ । 

१६३ एचपी अधिकतम पावर रहेको यो गाडीको अधिकतम टर्क २१० एनएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १८५ एमएम रहेको बताइएको छ । अटोमेटिक ट्रान्समिसन सिस्टम रहेको नेटा एक्समा ७२.५७ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री दिइएको छ ।

सात किलो वाटको एसी चार्जरबाट याे ब्याट्री फुल चार्ज हुन सात घण्टाको समय लाग्ने बताइएको छ । सय किलाेवाट क्षमताको मोटर रहेको नेटा एक्सको अधिकतम गति प्रतिघण्टा १५० किलोमिटरसम्म रहेको छ । 

गाडीमा सुरक्षाका लागि छ ओटा एयर ब्याग रहेको गाडीमा अटाेमेटिक ब्रेकिङ सिस्टम (एबीएस), इलेक्ट्रिक ब्रेक प्रेसर डिस्टिब्युसन (ईबीडी), कर्नर स्टेबिलिटी कन्ट्राेल (सीएससी), हिल स्टाट असिस्ट (एचए) जस्ता फिचर पाउन सकिन्छ ।

यसकाे नेपाली बजार मूल्य करिब ५२ लाख हुने अनुमान छ। यद्यपि याे रकम गाडी न‍ेपालमा आएपछि कम वा बढी हुन सक्ने कम्पनीले जनाएकाे छ । होजोन अटोको नेटा भी बिक्री गर्दै आइरहेको सीजी माेटर्सले नेटाको दोस्रो मोडेलको रूपमा एक्स भित्र्याउन लागेको हो ।

पछिल्लो अध्यावधिक: माघ २३, २०८० १९:२९