close

कक्षा १ देखि नै आईटी कोर्स समावेश गर्न छलफल गर्दैछौंः मन्त्री शर्मा

टेकपाना टेकपाना

माघ २५, २०८० १४:१७

कक्षा १ देखि नै आईटी कोर्स समावेश गर्न छलफल गर्दैछौंः मन्त्री शर्मा

काठमाडौं । सरकारले कक्षा १ देखि नै सूचना प्रविधि सम्बन्धी कोर्स समावेश गर्न छलफल थालेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले १६औं योजना निर्माणका सन्दर्भमा कक्षा १ देखि नै सूचना प्रविधिको पढाइ सञ्चालनका लागि छलफल भइरहेको बताएकी हुन् ।

राजधानीमा क्यान इन्फोटेक २०२४ उद्घाटन गर्दै उनले यस विषयमा राष्ट्रिय योजना आयोगसँग छलफल भइरहेको जानकारी दिइन् । ''यसका निम्ति वातावरण बनाउन तथा डिजिटल रुपान्तरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाको सहयोगको अपेक्षा गर्दछौं,'' उनले भनिन् ।

सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको उनले बताइन् ।

डिजिटल नेपाल फ्रेमवर्क २०७६ को कार्यान्वयनमार्फत रहेक क्षेत्रलाई डिजिटाइजेसन गर्दै लैजाने सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले डिजिटल पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, अर्थ र सहरी पूर्वाधारमा प्रविधिको प्रयोग बढाउन सकिएमा ठूलो परिणाम दिनसक्ने धारणा राखिन् ।

सरकारले चालू आर्थिक वर्षकै नीति तथा कार्यक्रम र बजेटमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाइ स्टार्टअप उद्यममा प्रेरित गर्ने कार्यक्रम समावेश गरेको र स्टार्टअप उद्यम कर्जा कार्यविधि पारित गरेर यसका लागि परियोजना आह्वान पनि गरिसकेको जानकारी दिंदै मन्त्री शर्माले सूचना तथा सञ्चार प्रविधिमा आधारित स्टार्टअप गर्न चाहनेहरुलाई यसमा समावेश हुन आग्रह गरिन् ।

सूचना प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको बताउँदै उनले नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरेर कार्यान्वायनमा ल्याइएको र डेटा सुरक्षा, साइबर सुरक्षालगायतका क्षेत्र समेटेर सूचना प्रविधिसम्बन्धी कानुनको तयारी भइरहेको बताइन् ।

पछिल्लो अध्यावधिक: माघ २५, २०८० १४:२१