close

ब्राउजरको इनकग्निटो मोडमा तपाईंको गोप्यता कति सुरक्षित हुन्छ ? यस्ता छन् भ्रम र यथार्थ

टेकपाना टेकपाना

माघ २९, २०८० १७:३०

ब्राउजरको इनकग्निटो मोडमा तपाईंको गोप्यता कति सुरक्षित हुन्छ ? यस्ता छन् भ्रम र यथार्थ

काठमाडौं । अचेलका अधिकांश वेब ब्राउजरमा इनकग्निटो अर्थात् प्राइभेट मोड रहेको पाइन्छ । चाहे तपाईं गुगलको क्रोम प्रयोग गर्नुहोस् वा त्यसको अर्को कुनै विकल्प, यो फिचरले समान ढङ्गले काम गर्छ । यसले तपाईंको ट्रयाक राख्दैन । 

यदि तपाईं इनकग्निटो मोड प्रयोग गर्ने विचारमा हुनुहुन्छ भने पक्कै पनि यो के हो भन्ने जिज्ञासा हुन सक्छ । साथै यसमा लगइन नहुने भएकाले ब्राउजिङका क्रममा नराम्रो अनुभूति हुने परिस्थितिको समेत सामना गर्नु पर्दैन भन्ने लागेको हुन सक्छ । 

आज हामी तपाईंका यस्तै जिज्ञासा विस्तृत रूपमा समेट्ने प्रयास गर्दैछौं । 

 

के चाहिं ट्रयाक हुँदैन ? 

इनकग्निटो अर्थात् प्राइभेट मोडको सबैभन्दा राम्रो उपयोगिता भनेको आफूले हेरेका तथा खोलेका वेबसाइट ब्राउजिङ हिस्ट्रीमा नदेखिउन  भन्नका लागि हो । यहाँनिर उल्लेख नगरे पनि सम्भवतः तपाईंले वेबसाइटका त्यस्ता केही वर्गहरू अनुमान गर्न सक्नु हुन्छ- उदाहरणका लागि तपाईंलाई संवेदनशील प्रकारको चिकित्सा समस्यामा अनुसन्धान गर्दै हुनुहुन्छ भने, त्यो इनकग्निटो ट्याब प्रयोग गर्नु पर्ने एउटा कारण हुन सक्छ । 

प्राइभेट मोडमा रहेको कुनै ट्याब बन्द गर्नु भयो भने तपाईं सामान्य तवरमा जसरी त्यसलाई पुनः फिर्ता ल्याउन सक्नु हुन्न । त्यसमा खोलिएको वेबसाइट तपाईंले यस अघि कहिल्यै नखोले जसरी ब्राउजरले बिर्सिदिन्छ । 

इनकग्निटोमा ब्राउज गरेको साइट पछि गएर ब्राउजरको एड्रेस बारमा यूआरएल टाइप गर्दा स्वतः सुझावको रूपमा पनि देखिंदैन । इनकग्निटो मोडले कुकिज समेत ब्लक गर्छ, जसले तपाईंसँग सम्बन्धित र तपाईंको प्राथमिकताका वेबसाइट बारे बताउन तपाईंको कम्प्युटर अथवा फोनमा  केही मात्रामा डेटा स्टोर गर्दछ ।

कुकिज स्टोर नहुने भएपछि तपाईंले सामान्य तवरमा प्रयोग गर्ने सबैजसो वेबसाइट तथा एपहरूमा आफूलाई साइन आउट भएको पाउनु हुनेछ ।  यति मात्र होइन, सम्भवतः ती वेबसाइटमा तपाईंलाई विशेष अफर र न्युजलेटरका लागि साइन अप-गर्न भनिएको हुन सक्छ, किन कि ती वेबसाइटले तपाईं पहिलो पटक प्रयोग गर्दै हुनुहुन्छ भन्ने ठानिरहेका हुन्छन्  ।

यस बाहेक युजरनेम, पासवर्ड र एड्रेस जस्ता वेबसाइटमा टाइप गरिने डेटाहरू सामान्य तवरमा जसरी इनकग्निटो मोडमा लगइन भइरहँदैनन् । यद्यपि, यदि तपाईंले पहिले नै लगइन डिटेल र अन्य सूचना आफ्नो ब्राउजरमा स्टोर गरेर राख्नु भएको छ भने, ती डेटामा तपाईंले प्राइभेट वा इनकग्निटो मोडबाट समेत पहुँच बनाउन सक्नु हुन्छ । 

यस्तै एउटै मोबाइल, कम्प्युटर वा ट्याब्लेट अन्य व्यक्तिसँग शेयर गर्दा समेत यसले तपाईंको ब्राउजिङ यसले लुकाइदिन सक्छ । अर्को शब्दमा भन्नु पर्दा इनकग्निटो मोडले केही समयका लागि तपाईंको वेब गतिविधिमाथि आँखा चिम्लिदिन्छ-यसले तपाईंको ब्राउजिङ सेसन तत्कालै बिर्सिदिन्छ ।

तर इनकग्निटो मोडमा समस्या के छ भने अन्य विभिन्न तरिकाले हामी ट्रयाक भइरहेका हुन्छौं, जसबाट यो प्राइभेट ब्राउजिङको सीमितता समेत देखाउँछ ।  

 

इनकग्निटो मोड अर्थात् प्राइभेट मोडमा केके हुन सक्छ ट्रयाकिङ ?

इनकग्निटो मोड अर्थात् प्राइभेट मोड धेरै हदसम्म तपाईंले प्रयोग गरिरहेको डिभाइसमा स्टोर हुने सूचनामा केन्द्रित छ-तपाईंलाई वेबमा हुने अन्य प्रकारका ट्रयाकिङलाई रोक्ने सवालमा यसले त्यति धेरै काम गर्न सक्दैन । यसलाई सजिलो रूपमा यसरी बुझ्नुहोस्ः यदि तपाईं दराजमा लगइन गर्नु हुन्छ भने, तपाईं इनकग्निटो मोडमा भए पनि नभए पनि दराजले त्यो कुरा थाहा पाउँछ ।

यदि तपाईं दराजमा भएका सामानहरू सर्च गर्नु हुन्छ भने दराजले ती सर्चको बारेमा पनि सम्झिनेछ । यदि तपाईंले आफ्नो बास्केटमा कुनै सामान राख्नु हुन्छ भने, दराजले तिनलाई पनि सम्झनामा राख्नेछ । जब तपाईं कतै साइनइन गर्नु हुन्छ, त्यससँगै इनकग्निटोले प्रदान गर्ने अधिकांश सुरक्षा तथा संरक्षण बिलाएर जान्छन् ।

तपाईंको इन्टरनेट सेवा प्रदायकले पनि तपाईं के खोजिरहनु भएको थियो भन्ने कुरा थाहा पाउन सक्छ । त्यस्तै यदि तपाईं स्कुल कलेज अथवा कार्यस्थलमा हुनुहुन्छ भने, तपाईंको ब्राउजिङ सम्बन्धित संस्था अथवा कम्पनीका कर्मचारीहरूले पनि नियालीरहेका हुन सक्छन् ।

न त इनकग्निटो मोडमा रहँदा डाउनलोड गरेका फाइल हराएर जान्छन्,  न त ब्राउजिङका क्रममा सेभ गरिएका कुनै बुकमार्क नै गायब हुन्छन् । 

बरु भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) एप इन्स्टल गर्दा तपाईंलाई विभिन्न प्रकारका ट्रयाकिङबाट बढी सुरक्षा प्राप्त हुन सक्छ । यसले इन्टरनेट सेवा प्रदायकले थाहा नै नपाउने गरी तपाईंका गतिविधि लुकाइदिन्छ ।  तर जब तपाईं फेसबुक वा गुगल साइन इन गर्नु हुन्छ, उनीहरूले भने तपाईंलाई फेरि ट्रयाक गर्न थालिहाल्ने छन् । 

इनकग्निटो मोडको अर्थ अनलाइनमा तपाईंको पहिचान सबैबाट एनोनिमस अर्थात् गुमनाम हुन्छ, अरू कसैले पनि तपाईंले के गरिरहनु भएको छ भन्ने कुरा देख्न सक्दैन अथवा तपाईं विश्वको कुन ठाउँमा हुनुहुन्छ भन्ने कुरा एप र वेबसाइटले देख्न सक्दैनन् भन्ने होइन । यी विषयमा केही दुविधा र भ्रमहरू छन् ।   

यसको अर्थ इनकग्निटो मोडले तपाईंको डिभाइसबाट जाने वा त्यसमा आउने डेटाका लागि अतिरिक्त सुरक्षाका दिन केही पनि गर्दैन । यद्यपि तपाईं चाहे प्राइभेट वा इनकग्निटो मोडमा हुनुहोस् वा नहुनु होस्, अहिले ब्राउजरहरू नै आफ्ना प्रयोगकर्ताको सुरक्षाका लागि उल्लेख्य प्रयास गरिरहेका छन् ।  

यति हुँदा हुँदै पनि इनकग्निटो मोडमा जानु पछडिका केही उपयोगिताहरू छन्, विशेषगरी आदान प्रदान गरेर प्रयोग गरिने डिभाइसमा । तर तपाईं यसका सीमितताहरूको विषयमा भने जानकार हुन जरुरी छ । 

यदि तपाईं वेब ब्राउज गरिसकेपछि ट्रेस नहोस् भन्ने चाहनु हुन्छ ? उदाहरणको लागि ठूला प्रविधि कम्पनीले आफूमाथि गर्ने ट्रयाकिङ रोक्न चाहनु हुन्छ ? त्यसका लागि तपाईंले नियमित रूपमा ब्राउजिङ हिस्ट्री र कुकिज डिलिट गर्ने जस्ता थप काम गर्नुपर्ने हुन्छ

 

पछिल्लो अध्यावधिक: माघ २९, २०८० १७:३०