close

ब्रिटिश कलेजमा एआई कोर्स पढाउँदै प्रिक्सा टेक्नोलोजी

टेकपाना टेकपाना

फागुन ६, २०८० १२:५२

ब्रिटिश कलेजमा एआई कोर्स पढाउँदै प्रिक्सा टेक्नोलोजी

काठमाडौं  । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मसिन लर्निङलाई शिक्षासँग जोड्न द ब्रिटिश कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनीतिक सहकार्य भएको छ । हालै याे विषयमा कलेज र प्रिक्सा टेक्नोलोजीबीच सहकार्यकाे घाेषणा गरिएकाे हाे ।

योसँगै प्रिक्सा टेक्नोलोजीले ब्रिटिश कजेलमा एआई, मसिन लर्निङ, डेटा साइन्स, क्लाउड प्रविधि लगायतका विषयमा विशेष सत्रहरू सञ्चालन गर्नेछ ।

यस सहकार्यबारे प्रिक्सा टेक्नोलोजीका निर्देशक अनिरुप घिमिरेले नयाँ प्रतिभाको विकास गर्न र सूचना प्रविधिको क्षेत्रमा नवीनतालाई बढावा दिने बताए । ‘‘द ब्रिटिश कलेजसँगको रणनीतिक साझेदारी गर्न पाउँदा हर्षित छौं,’’ उनले भने, ‘‘यो सहकार्यले विद्यार्थीहरूलाई सूचना प्रविधिको क्षेत्रमा सशक्त बनाएर अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।’’

यस्तै ब्रिटिश कलेजको स्कुल अफ कम्प्युटिङका प्रमुख डा. रोहित पाण्डेले सीपयुक्त विद्यार्थी तयार गर्ने योजना अनुसार प्रिक्सा टेक्नोलोजीसँग सहकार्य गरेको बताए । ‘‘विद्यार्थीहरूलाई बजारका लागि योग्य बनाउन विभिन्न संस्थासँग सहकार्य गर्दै आएका छौं । त्यसैअनुसार प्रिक्सासँग साझेदारी भएको हो,’’ पाण्डेले भने ।

प्रिक्साले ब्रिटिश कलेजमा एआई, मसिन लर्निङ सम्बन्धी कक्षाका साथै विभिन्न वर्कशप सञ्चालन गर्नेछ । विशेषगरी यसबाट ब्रिटिश कलेजमा एमएस्सी/बीएस्सी कम्प्युटर साइन्स (एआई) मा भर्ना हुने विद्यार्थीलाई फाइदा हुने कलेजले जनाएको छ ।

ब्रिटिश कलेजले युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्डको सहकार्यमा यसै वर्षदेखि एआई स्पेसलाइज्ड चार वर्षे एमएस्सी/बीएस्सी कम्प्युटर साइन्स सुरू गरेको छ ।

प्रिक्सा टेक्नोलोजीले यसअघि नै पुल्चोक इन्जिनियरिङ क्लेजमा स्नातक र स्नातकोत्तरमा एआई कोर्स पढाउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०८० १२:५९