close

फोनको ब्याकग्राउन्डमा एपहरू चलेर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

फागुन ८, २०८० १४:५४

फोनको ब्याकग्राउन्डमा एपहरू चलेर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । तपाईंको एन्ड्रोइड फोनको ब्याकग्राउन्डमा केही एप चलिरहेका (रन) हुन्छन् । तीमध्ये सबै एप ब्याकग्राउन्डमा चलिरहनु पर्छ भन्ने हुँदैन । त्यस्ता एपले गर्दा फोनमा ब्याट्री चाँडै सकिने, डेटा बढी खपत हुने, फोन ढिलो चल्ने जस्ता समस्या देखिन्छन् । 

ब्याकग्राउन्डमा कुन-कुन एप चलेका छन् भनेर कसरी थाहा पाउने ?

फोनको डेभलपर अप्सनमा डिभाइसका अधिकांश गोप्य फिचरहरू हुन्छन् । त्यही डेभलपर अप्सनमा ‘रनिङ सर्भिसेस’ नामको मेन्यु हुन्छ । उक्त अप्सनबाट तपाईंले ब्याकग्राउन्डमा कुन एपले कति र्‍याम प्रयोग गरिरहेको छ भन्ने देखिन्छ ।

त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

- सबैभन्दा पहिले डिभाइसको सेटिङ एपमा जानुहोस् । 

- अनि स्क्रोल गर्दै गएर ‘अबाउट फोन’ (About Phone) अप्सनमा ट्याप गर्नुहोस् । 

- त्यसपछि सफ्टवेयर इन्फरमेसन (Software Information) भन्ने अप्सनमा जानुहोस् । 

- त्यति गरेपछि बिल्ड नम्बर (Build number) मा सात पटक ट्याप गर्नुहोस् । यसपछि डेभलपर अप्सन इनेबल गर्नुहोस् । 

- अनि डिभाइसको पिन वा प्याटर्न राख्नुहोस् । त्यसपछि त्यहाँ ‘यू आर नाउ अ डेभलपर’ (You’re now a developer) भन्ने मेसेज देखिन्छ । 

- त्यसपछि पुनः सेटिङको एपमा जानुहोस् । 

- त्यहाँ पहिले ‘अबाउट फोन’ को अप्सन तल ‘डेभलपर अप्सन’ (Developer Option) देखिन्छ । त्यही अप्सनमा ट्याप गर्नुहोस् । 

- अनि स्क्रल गर्दै गएर ‘रनिङ सर्भिसेस’ (Running Services) को अप्सनमा जानुहोस् । त्यही अप्सनमा गएपछि कुन एप वा सर्भिसले कति मेमोरी प्रयोग गरेको छ भन्ने देखिन्छ । 

त्यहाँ तपाईंले कुन एपले कति मेमोरी प्रयोग गरी रहेको छ भन्ने देखिन्छ । त्यस्तै तपाईंले सेटिङमै रहेको ब्याट्री युजेज अप्सनमा गएर कुन एपले कति ब्याट्री खपत गरेको छ भन्ने देख्न सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

- सबैभन्दा पहिले सेटिङ अप्सनमा जानुहोस् । 

- अनि ब्याट्रीको अप्सनमा जानुहोस् । 

- त्यसपछि त्यहाँ कुन एपले कति प्रतिशत वा कति ब्याट्री खपत गरेको छ भन्ने देख्न सक्नुहुन्छ । 

एन्ड्रोइड एपलाई ब्याकग्राउन्डमा चल्न नदिने के गर्ने ? 

एपलाई ब्याकग्राउन्डमा चल्न नदिने थुप्रै तरिकाहरू छन् । तपाईंले स्वाचालित रूपमा एप ब्याकग्राउन्डमा चल्न नदिने वा तत्काल ब्याकग्राउन्डमा चल्नबाट रोक्ने वा आवश्यक परेको बेला मात्र चल्ने बनाउन सक्नुहुन्छ । त्यसका लागि अपनाउनु पर्ने विभिन्न तरिकाबारे तल चर्चा गरिएको छ । 

- फोर्स स्टप 

तपाईंले कुनै पनि एप ब्याकग्राउन्डमा नचलोस् भन्ने चाहनु हुन्छ भने फोर्स स्टप गर्नुपर्ने हुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

१) सेटिङमा जानुहोस् । 

२) अनि एप्स (Apps) को अप्सनमा ट्याप गर्नुहोस् । 

३) आफूले ब्याकग्राउन्डमा नचल्ने बनाउन खोजेको एप छान्नुहोस् । 

४) त्यसपछि फोर्स स्टपको अप्सनमा ट्याप गरेर ओके बटन थिच्नुहोस् । 

यति गरेपछि तत्काललाई उक्त एप ब्याकग्राउन्डमा चल्न छोड्छ । अर्को पटक एप खोल्नुभयो भने त्यसपछि पुनः ब्याकग्राउन्डमा चल्न थाल्छ । 

अनावश्यक ब्याट्री खपत गर्नबाट एपलाई यसरी रोक्नुहोस् !

तपाईंको एन्ड्रोइड फोनमा एपले ब्याकग्राउन्डमा अनावश्यक ब्याट्री खपत गरिरहेको छ भने तपाईंले त्यसलाई घटाउन सक्नुहुन्छ । त्यसका लागि एन्ड्रोइडमा ‘रेस्ट्रिक्ट ब्याट्री  युजेज’ अप्सन छ । सो अप्सन इनेबल गर्न तलको प्रक्रिया अपनाउनुहोस् । 

- सबैभन्दा पहिले सेटिङ एपमा गएर एप्सको अप्सन छान्नुहोस् । 

- अनि तपाईंले ब्याकग्राउन्डमा नचलोस् भन्न चाहेको एप छान्नुहोस् ।

- त्यसपछि ब्याट्रीको अप्सनमा  ट्याप गर्नुहोस् । र, रेस्ट्रिक्टेडको अप्सन छान्नुहोस् । यति गरेपछि उक्त एपले ब्याकग्राउन्डमा ब्याट्री खपत गर्दैन । 

एडप्टिभ ब्याट्री फिचर इनेबल गर्नुहोस्

एन्ड्रोइडमा हुने एडप्टिभ ब्याट्री फिचरले गुगलको डिपमाइन्ड एआई प्रयोग गरेको हुन्छ । यसले गर्दा तपाईंले कुन समयमा कुन एप कसरी प्रयोग गर्नुहुन्छ भन्ने विषयको डेटा सङ्कलन भएको हुन्छ । यस्तो हुँदा तपाईंले एप प्रयोग नगर्ने समयमा उक्त सिस्टमले एपलाई निस्क्रिय बनाइदिन्छ । यो अप्सन इनेबल गरिसकेपछि तपाईंले बारम्बार एप फोर्स स्टप गरिरहन पर्दैन । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् । 

- सबैभन्दा पहिले सेटिङ एपमा गइ ब्याट्रीको अप्सन छान्नुहोस् । 

- अनि ब्याट्री युजेज लिमिट ‘Battery Usage limits’ को अप्सनमा ट्याप गर्नुहोस् । 

- त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा थोप्लामा ट्याप गर्नुहोस् । र, एडप्टिभ ब्याट्रीको अप्सनमा जानुहोस् । 

- त्यसलाई अन गर्नुहोस् । 

यसरी तपाईंले आफ्नो एन्ड्रोइड फोनमा एपले खपत गर्ने ब्याट्री र मेमोरीलाई कम गर्न सक्नुहुन्छ । लामो समयसम्म निष्क्रिय रहने एपलाई हटाउँदा नै राम्रो हुन्छ । तर, कहिलेकाहीँ लामो समय निष्क्रिय हुने एप तपाईंका लागि महत्त्वपूर्ण हुन सक्छन् । त्यसैले यी कुरालाई ख्याल गर्नुपर्छ ।

पछिल्लो अध्यावधिक: फागुन ८, २०८० १४:५८