close

फेसबुकमा भेटिएका ‘विदेशी प्रेमी’ को भर पर्दा सहकारीकी मेनेजरले गुमाइन् ६० लाख !

टेकपाना टेकपाना

फागुन ८, २०८० १८:५६

सांकेतिक तस्वीर सांकेतिक तस्वीर

काठमाडौं । अनलाइनबाट जोडिएका विदेशी प्रेमीको भर पर्दा एक यवतीले झन्डै ६० लाख रुपैयाँ गुमाएकी छन् । फेसबुकबाट साथी भएका ती पुरुषको विश्वास गर्दा युवतीले पटक-पटक गरी लाखौं रकम गुमाएकी हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा हालै आएको एक उजुरीले यस्तो घटनाको रहस्य खोलेको छ । ​कार्यालयका अनुसार करिब पाँच महिनाअघि २६ वर्षीया रेश्मा शर्मा (नाम परिवर्तन) लाई फेसबुकमा विदेशीजस्तो नाम र फोटो भएको अकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आएको थियो । उनले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिन् । फेसबुकमा साथी बनेपछि उनीहरूबीच दैनिकजसो कुरा भइरहन्थ्यो । 

“सामाजिक सञ्जालमा जोडिएपछि उहाँहरू नजिकिंदै जानुभएछ,” टेकपानासँग कुरा गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका साइबर पिल्लर प्रमुख तथा डीएसपी लिलाराज डाँगीले भने, “त्यसपछि क्रमश: ह्वाट्सएपतिर पनि जोडिनु भएछ ।” 

कुरा हुँदै जाँदा उनीहरूबीच प्रेमी-प्रेमिकाको सम्बन्ध स्थापित भयो । घटनाको बेलिविस्तार लगाउँदै डीएसपी डाँगीले भने, “म नेपाल आउँछु, अनि त्यतै व्यापार व्यवसाय गरौंला भनेर त्यो व्यक्तिले युवतीलाई प्रलोभनमा पारेछ ।” पछि कुरा हुँदै जाँदा विदेशी भनिएका ती युवकले युवतीसँग आफूलाई तत्काल केही रकम आवश्यक परेको भन्दै पैसा माग गरे । 

युवती पनि उनलाई सहजै विश्वास गर्थिन् । युवकले भनेको रकम उपलब्ध गराउनु युवतीका लागि त्यति चिन्ताको विषय थिएन । किनभने उनी एक सहकारीकी शेयरधनी र प्रबन्धक थिइन् । “सहकारीमा युवतीकाे ४० लाख शेयर रहेछ । त्यसमध्ये १० लाख आफ्नै र ३० लाख साथीसँग १६ प्रतिशत ब्याजदरमा ऋण लिएर सहकारीमा लगानी गरी त्यहाँको म्यानेजर समेत भएकी रहिछन्,” डीएसपी डाँगीले भने ।

युवतीले पनि मागे अनुसारको रकम उपलब्ध गराउँदै गइन् । ती विदेशी भनिएका युवक भारतको एसबीआई बैंक र नेपालका अन्य स्थानीय बैंकमा रकम जम्मा गर्न लगाउँथे । विदेशमा सोझै नेपाली रकम पठाउन मिल्दैन भन्ने बुझेकी ती पीडित युवतीले पैसा पठाउने कुरामा कहिल्यै सङ्कोच र शंका मानिनन् । यसरी रकम पठाउँदा पठाउँदै उनले ६० लाख रुपैयाँ पठाइसकेको थाहा पाइन् । 

त्यसपछि ती युवक टाढिंदै गए र सम्पर्कविहीन भए । ​​

युवक सम्पर्कविहीन भएपछि युवतीले सबै घटनाको बेलिविस्तार आफ्नी आमालाई सुनाइन् । त्यसपछि उनीहरूले आफू ठगिएको महसुस गरे, अनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय धाए । त्यहाँ गएर बुझ्दा ठगिएको देखिएपछि प्रहरीले उनीहरूलाई उजुरी दिन सुझाव दियाे ।​​

डीएसपी डाँगीका अनुसार ती युवतीको उजुरीमाथि अहिले अनुसन्धान भइरहेको छ । “हामी त्यो पैसा पठाएको अकाउन्ट, त्यसको नेटवर्क र अन्तिममा कहाँबाट झिकिएको छ भन्ने कुराको अध्ययन गरिरहेका छौं,” डीएसपी डाँगीले भने, “बाँकी अनुसन्धानको विषय भएकाले तत्काल खुलाउन मिल्दैन ।” ​​

यसरी अनलाइनमा भेटिएका युवकको भर पर्दा ती युवती उम्किनै नसकिने ऋणको दलदलमा फसेकी छिन् । डीएसपी डाँगीले यस्ता घटनामा मानिस लोभमा पर्ने हुँदा धन, सम्पत्ति, मान प्रतिष्ठा गुमाउने भन्दै सचेत रहन सुझाव दिएका छन् । ​​

पछिल्लो समय सामाजिक सञ्जालका साथै विभिन्न अनलाइन माध्यमबाट मानिसहरूलाई प्रलोभनमा पारी रकम लगी गर्ने प्रवृत्ति बढेको छ । अपरिचिति व्यक्तिले पठाएका शंकास्पद लिंक तथा मेसेजहरूलाई विश्वास गर्दा अनलाइन ठगी तथा साइबर सुरक्षाको जोखिम हुने गरेको सरोकारवाला बताउँछन् ।

पछिल्लो अध्यावधिक: फागुन ८, २०८० १९:१०