close

नेपाल आइपुग्यो २०२४ एडिसनको टेस्ला मोडेल थ्री, मूल्य १ करोड ३५ लाखमाथि

टेकपाना टेकपाना

फागुन १०, २०८० १४:११

नेपाल आइपुग्यो २०२४ एडिसनको टेस्ला मोडेल थ्री, मूल्य १ करोड ३५ लाखमाथि

काठमाडाैं । नेपाली बजारमा टेस्ला मोडेल थ्रीको २०२४ भर्सन भित्रिएकाे छ । नेपालका लागि टेस्लाकाे वितरक अरेट इन्टरनेसनलले बिहीवार राजधानीमा एक कार्यक्रम गर्दै याे लक्जरी​ ईभी सार्वजनिक गरेकाे हाे ।

कम्पनीका अनुसार यस कारमा फराकिलो ३६० डिग्रीको दृश्य देखिन सक्ने मुनरुफ, उत्कृष्ट नयाँ डिजाइनको एम्बियन्ट लाइट भेगन सिट, फ्युचरिस्टिक बडी डिजाइन, विभिन्न सुरक्षा फिचर, बाहिरी अनावश्यक साउन्ड प्रुफ क्याबिन आदि विशेषता रहेका छन् । 

कुलिङ सिस्टम  सहितको भेन्टिलेटेड सिट रहेको यस भर्सनमा प्रयोग गरिएको सिट मटेरियल पनि पूर्ण रुपमा क्याक्टसबाट निर्मित र दाग प्रतिरोधी (स्टेनलेस) रहेकाे कम्पनीले उल्लेख गरेकाे छ ।

एरो डाइनमिक र वाटर सिंक प्रुफ सहितको विशेषता रहेको कारले सुरक्षाको दृष्टिकाेणमा ‘एनएचटीसीए’ बाट फाइभ स्टार रेटिङ प्राप्त गरेको छ । 

‘‘कालो सेतो र काठको कलरबाट सजिएको भित्री भागमा निकै स्लिम डिजाइनमा बनेको ड्यासबोर्ड यसमा पाउन सकिन्छ,’’ कम्पनीले विज्ञप्तिमा भनेकाे छ, ‘‘ड्यासबोर्डमा दिइएको १५४ इन्चको इन्फर्मेसन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सकिन्छ ।’’ 

यस मोडेलमा कुनै पनि बटम ड्यासबोर्डमा छैन । यहाँसम्म कि गियर पनि डिजिटल नै उपलब्ध रहेको छ । गियर शिफ्टिङ, इन्डिकेटर प्रयोग लगायतका फङसनहरु समेत डिजिटल रुपमा उपलब्ध रहेकोले यसको इन्टेरियर अझ फराकिलो र सुन्दर बनेको कम्पनीको भनाइ छ ।

पछाडि बस्ने प्यासेन्जरको लागि समेत छुट्टै ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यस मोडेलमा पाउन सकिन्छ । सबै लाइट एलईडी रहेको कारमा १९ इन्चको अलोय ह्वील दिइएको छ । 

कम्पनीका अनुसार यो कारले अधिकतम ५५० किलोमिटरसम्मको रेन्ज दिन्छ, जसका लागि ५८ किलोवाट आवरको ब्याट्री दिइएको छ । यस कारमा अधिकतम स्पीड २२५ किलोमिटर प्रति घण्टा रहेको कम्पनीको दाबी छ ।

त्यस्तै यसमा १९८ किलोवाटको अधिकतम पावर दिने तथा ३४० एनएम पिक टर्क उत्पादन गर्ने सिंगल मोटर रहेको छ । कारमा १३९ एमएम ग्राउन्ड क्लियरेन्स दिइए पनि यसलाई १८० एमएमसम्म बढाउन सकिन्छ ।

यो कार रातो, कालो, निलो, सेतो र खरानी कलरमा उपलब्ध रहने छ । एडास फिचर पर्ने सम्पूर्ण सुरक्षा फिचर यसमा दिइएको कम्पनीले जनाएकाे छ । 

कम्पनीका अनुसार नेपाली बजारमा यो कारको सुरुवाती मूल्य एक करोड ३५ लाख रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: फागुन १०, २०८० १५:९