close

नेपालमा अमेजन वेब सर्भिसको तालिम जेनेस एकेडेमीले दिने

टेकपाना टेकपाना

फागुन १०, २०८० १६:५५

नेपालमा अमेजन वेब सर्भिसको तालिम जेनेस एकेडेमीले दिने

काठमाडौं । सूचना प्रविधि सम्बन्धी प्रशिक्षण दिने संस्था जेनेस एकेडेमी नेपालका लागि एडब्लूएस ट्रेनिङ पार्टनरका रूपमा छानिएको छ । जेनेस एकेडेमीले हालै नेपालमा अमेजन वेब सर्भिसेस (एडब्लूएस) को तालिम तथा मान्यताप्राप्त सर्टिफिकेसन कार्यक्रम सञ्चालन गर्ने अनुमति पाएको हो ।

जेनेस एकेडेमी बेलायतमा मुख्यालय रहेको सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सोलुसनको शैक्षिक इकाई हो । स्थापनाकालदेखि नै जेनेस एकेडेमीले  नेपालको प्राविधिक क्षेत्रमा उच्च गुणस्तरको प्रशिक्षण तथा सीप विकास कार्यशाला आयोजना गर्दै आएको छ ।

विश्वमै कहलिएका साझेदारसँगको सहकार्यद्वारा एकेडेमीले 'टेक इकोसिस्टम' भित्र युवालाई प्रशिक्षण दिनुको साथै उनीहरूको सीप विकासमा सघाउने लक्ष्य लिएको छ ।

“हामीले स्थापनाकालदेखि नै पठनपाठनको परम्परागत शैलीमा आमूल परिवर्तन ल्याउने प्रयास गरेका छौं,” जेनेस एकेडेमीकी सञ्चालन कार्यकारी आस्था शर्माले भनिन्, “यसभन्दा पहिले पनि हामीले नेपालमै पहिलो पटक अमेजन एकेडेमीको विश्वस्तरको पाठ्यक्रम नेपाली विद्यार्थीलाई उपलब्ध गराएर महत्वपूर्ण उपलब्धि हासिल गरेका थियौं ।”

शर्माले नेपालमा औपचारिक रूपमा 'एडब्लूएस ट्रेनिङ पार्टनर' कार्यक्रम सुरु हुनु जेनेस एकेडेमीको लागि मात्रै नभएर नेपालकै लागि एउटा महत्वपूर्ण कोशेढुङगा भएको बताइन् । अमेजनसँगको साझेदारीले आफ्नो प्रतिबद्धता थप बलियो बनेको उनको भनाइ छ ।

“हामी  युवालाई उच्च गुणस्तरको प्रशिक्षण र तीव्र गतिमा विकास भैरहेको प्रविधिको क्षेत्रमा आवश्यक सीप प्रदान गर्न लागि परेका छौं,” शर्माले थपिन् । अमेजनसँगको यो साझेदारीले इच्छुक विद्यार्थी र सूचना प्रविधिको क्षेत्रमा कार्यरत कम्पनीलाई एउटै छातामुनि ल्याउने एकेडेमीको विश्वास  छ । यो तालिममा आफ्नो सीप विकास गर्न चाहने जोसुकै प्रशिक्षणमा सहभागी हुन सक्ने एकेडेमीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १०, २०८० १६:५५