close

मोटोरोलाले ल्यायो घडी जस्तै नाडीमा बेरेर लगाउन मिल्ने स्मार्टफोन

टेकपाना टेकपाना

फागुन १४, २०८० १९:०

मोटोरोलाले ल्यायो घडी जस्तै नाडीमा बेरेर लगाउन मिल्ने स्मार्टफोन

 

काठमाडौं । स्मार्टफोन कम्पनी मोटोरोलाले नाडीमा बेरेर लगाउन मिल्ने मोबाइल सार्वजनिक गरेको छ । सोमबारदेखि स्पेनको बार्सिलोनामा सुरु भएको मोबाइल वर्ल्ड कङ्ग्रेस २०२४ मा मोटोरोलाले घडी जस्तै नाडीमा लगाउन मिल्ने फोन सार्वजनिक गरेको हो ।

कम्पनीले गत अक्टोबरमा नाडीमा लगाउन मिल्ने फोनबारे पहिलो पटक जानकारी बाहिर ल्याएको थियो । जुन 'एडप्टिभ डिस्प्ले' प्रविधिमा आधारित रहेको छ । यो फोन हालै मात्र वास्तविक रूपमा देखिन आएको हो । मोटोरोलाले सार्वजनिक गरेको यो फोन घडी जस्तै नाडीमा लगाउन मिल्छ । 

 

फोनलाई नाडीमा अड्याउन भने चुम्बकीय गुण भएको छुट्टै ब्रासलेट लगाउनु पर्छ । त्यसपछि त्यो फोन घडी जसरी हातमा अडिने र लगाएपछि पनि सजिलै हिंड्न सकिने बताइएको छ । त्यसो गर्दा फोन अङ्ग्रेजी अक्षर ‘यू’ आकारमा बङ्गिने गर्छ । 

यसका लागि फोनको ‘बडी’ नरम बनाइएको छ । फोनलाई नाडीमा बेर्नु पर्ने भएकाले त्यसो गरिएको अनुमान छ । फोनमा ६.९ इन्चको फुल एचडीको डिस्प्ले राखिएको छ । जुन प्लास्टिकमा आधारित पीओलेड डिस्प्ले हो ।

फोन हातमा बेरिएको समयमा केही तन्किएको जस्तो देखिन्छ । तर अरू समयमा भने सामान्य स्मार्टफोन जस्तै छ । यसबाहेक फोनलाई बङ्ग्याएर दुई ओटा स्क्रिन बनाउन सकिन्छ । त्यसमा दुई तिर बसेर काम समेत गर्न सकिने बताइएको छ । यद्यपि अझै पनि फोन तथा प्रविधिबारे कम्पनीले विस्तृत जानकारी भने बताएको छैन ।

मोटोरोला र यसको मातृ कम्पनी लेनोभो अचम्म अचम्मको हार्डवेयर सार्वजनिक गर्न परिचित छन् । जुन कतिपय अवस्थामा वास्तविक उत्पादन पनि हुने गरेका छन् ।

पछिल्लो अध्यावधिक: फागुन १४, २०८० १९:०