close

डिजिटल नेपालको सङ्कल्प सफल पार्न एआईमा केन्द्रित हुनुपर्छः ऊर्जामन्त्री बस्नेत

टेकपाना टेकपाना

फागुन २०, २०८० १३:८

डिजिटल नेपालको सङ्कल्प सफल पार्न एआईमा केन्द्रित हुनुपर्छः ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले डिजिटल नेपालको सङ्कल्प पूरा गर्न अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा केन्द्रित हुनुपर्ने बताएका छन् । आइतबार नेपाल दूरसञ्चार प्राधिकरणको २६ औं वार्षिक उत्सवको अवसरमा बोल्दै मन्त्री बस्नेतले पछिल्लो समय मुलुक विकासका लागि एआईको सदुपयोग भइरहेको अवस्थामा त्यसैमा केन्द्रित हुनुपर्ने धारणा राखेका हुन् । 

“पछिल्लो समय विश्वव्यापी रूपमा एआईको माग बढ्दो छ,” उनले भने, “अब अलमल नगरेर डिजिटल नेपालको सङ्कल्प साकार बनाउनुपर्ने आवश्यकता छ ।”

आजको मुख्य आवश्यकता दूरसञ्चार सेवा भएको भन्दै यस्तो सेवालाई थप व्यवस्थित, गुणस्तरीय, भरपर्दो, विश्वसनीय र सर्वसुलभ बनाउनतर्फ नेपाल दूरसञ्चार प्राधिकरण केन्द्रित हुनुपर्ने मन्त्री बस्नेतले बताए । 

“सूचना प्रविधिको क्षेत्रमा भएको क्रान्तिले विश्वलाई नै नयाँ आकार दिएको छ । यसले आर्थिक विकासमा अर्थपूर्ण प्रभाव पार्दै आएको छ । नेपालमा पनि यो क्षेत्रले तमाम अवसर प्रदान गरेको छ,” उनले सुनाए ।  

विकसित तथा विकासोन्मुख मुलुकले सूचना तथा प्रविधि क्षेत्रलाई सदुपयोग गरेर आर्थिक तथा सामाजिक विकासमा अगाडि बढेको भन्दै नेपाल जस्तो अल्पविकसित मुलुकले पनि विकासका लागि यो क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । “अब हामी अलि कम विकसित मुलुकको सूचीबाट आफूलाई अपग्रेड गर्ने क्रममा रहेका छौं, यो अवस्थामा एआईको महत्त्वपूर्ण भूमिका हुनसक्छ” उनले भने । 

पछिल्लो अध्यावधिक: फागुन २०, २०८० १३:११