close

घरघरमा गुगल प्लस कोडसहितको डिजिटल ठेगाना प्लेट राख्ने पहिलो स्थानीय तह बन्यो कनकाई नगरपालिका

टेकपाना टेकपाना

चैत १२, २०८० ११:१५

घरघरमा गुगल प्लस कोडसहितको डिजिटल ठेगाना प्लेट राख्ने पहिलो स्थानीय तह बन्यो कनकाई नगरपालिका

काठमाडौं । कनकाई नगरपालिकाले डिजिटल ठेगाना प्रणालीमा आधारित ठेगाना प्लेट जडान कार्य सुरु गरेको छ । नगरपालिकाले आइतबार यसको सुरुवात गरेको हो ।

यस किसिमको ठेगाना प्रणाली प्रयोगमा ल्याउने कनकाई देशकै पहिलो स्थानीय तह भएको बताइएको छ । करिब एक महिना अघि परीक्षणको रूपमा सुरु भएको 'कता हो' नामक एप मार्फत तयार गर्न सकिने तथा एलमुनियम पातामा मेसिनमार्फत खोपिएर बन्ने विशेष किसिमको ठेगाना प्लेटमा घरधनीको नाम, २ शब्द र अङ्कको कता हो कोड, स्थानीय नाम तथा स्थानीय तहको नाम र वडा नम्बर रहन्छ । त्यस्तै नेपाल सरकारले जारी गरेको हुलाक वस्तु वितरणको लागि गुगल प्लस कोड समेत यस प्लेटमा राखिएको छ ।

त्यस अलावा प्लेटमा रहेको क्यूआर कोड मार्फत घरधनीको मोबाइलमा घण्टी (Door Bell) बजाउने सुविधा सहितको यस प्रकारको प्रणालीको विकास चर्चित जुम्ल्याहा अनुसन्धानकर्ता राम-लक्ष्मण संलग्न रहेको एड्रेसग्राफ नेपालले तयार पारेको हो ।

डिजिटल ठेगाना प्रणाली सुरु गर्न आयोजित एक कार्यक्रमका अवसरमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नेपालमै तयार पारिएको अत्याधुनिक ठेगाना प्रणाली सुरुवात गर्न पाउँदा खुसी लागेको बताए । स्वदेशी प्रविधिलाई स्थानीय तहहरूले आआफ्नो स्तरबाट प्रवर्द्धन गर्नुपर्ने कुरा समेत व्यक्त गरे ।

निकै कम समयमा डिजिटल ठेगाना प्रणालीको प्लेट तयार गर्न तथा त्यसलाई प्रयोग गर्न सकेकोमा प्रविधि विकासकर्तालाई धन्यवाद दिँदै नेपालभर सहरका लागि मात्र नभइ विकट स्थानको लागि समेत यो प्रविधि उत्तिकै उपयोगी रहनेमा आफू विश्वस्त रहेको उनले बताए । कार्यक्रममा 'कता हो' प्रणालीका प्रविधि अनुसन्धानकर्ता रामप्रसाद रिमालले ५ वर्ष लामो अनुसन्धान पश्चात् विकास भएको यो प्रणाली मार्फत नेपालभर जोसुकैले पनि मिनेटभरमा डिजिटल ठेगाना प्लेट तयार गर्न सक्ने र स्थानीय तहहरूले यसको लागि समन्वय गर्न सकेमा ठेगाना प्रदान गर्न सरकारको ठूलो बजेटको बचत हुन सक्ने उल्लेख गरे ।

यस प्रणालीको सहायताले जुनसुकै पनि ठाउँ पत्ता लगाएर त्यहाँसम्म सजिलै पुग्न सकिने बताइएको छ । यो प्रणालीलाई नक्सा नभएर जुनसुकै नक्सामा प्रयोग हुने अपरिहार्य पूर्वाधार भएको कम्पनीका प्रविधि अनुसन्धानकर्ता रामप्रसाद रिमालले जानकारी दिए । उनका अनुसार यो प्रणाली सुरुवात गर्ने स्थानीय तह कनकाई नगरपालिका देशमै पहिलो नगरपालिका हो ।

कनकाई नगरपालिकाले नगरलाई डिजिटल प्रविधि मैत्री नगर बनाउने अभियान अन्तर्गत कार्यपालिका कार्यालयलाई डिजिटल मैत्री बनाई सकेको छ । अब कनकाईका हरेक घरलाई डिजिटल प्रणालीमा जोड्‌ने अभियान सुरु भएको नगर प्रमुख पोखरेलले बताए ।

'कता हो' प्रणाली सुरुवातका लागि आयोजित कार्यक्रममा नगर प्रमुख पोखरेलले भने "१२ वर्ष अघि फ्रान्स भ्रमणमा गएको बेला गाडीमा चढेपछि आफू पुग्ने घर सम्म पुग्न डिजिटल प्रणालीले बाटो देखाएको थियो, त्यो बेला यो प्रविधि देख्दा म अचम्मित भएको थिएँ । आज त्यही प्रविधि, प्रणाली आफ्नै नगरमा सुरु गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ ।"

घरघरमा डिजिटल नम्बर प्लेट टाँस गर्न एउटा प्लेट बापत छ सय रुपैयाँ खर्च आएको बताइएको छ । तर नगरपालिकाले नागरिकको थोरै भएपनि साझेदारीमा प्रविधि प्रयोगको महत्व र आवश्यकतासँगै अपनत्व बोध गराउन एक सय रुपैयाँ मात्र लिने र बाँकी खर्च नगरपालिकाले व्यहोर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: चैत १२, २०८० ११:१५