close

के साँच्चिकै एलन मस्कले भने जस्तै ड्रग्सले कार्यस्थलमा अझ बढी उत्पादनशील बनाउन सघाउँछ ?

टेकपाना टेकपाना

चैत १२, २०८० १७:१५

के साँच्चिकै एलन मस्कले भने जस्तै ड्रग्सले कार्यस्थलमा अझ बढी उत्पादनशील बनाउन सघाउँछ ?

काठमाडौं । अर्बपति एलन मस्कलाई मानिसहरूले विभिन्न आधारमा चिन्ने गर्छन् । उनको विविध परिचय छ । केही मानिसहरूले भने उनलाई कार्यालयमा एलएसडी, कोकिन, एक्स्टेसी, र केटमाइन जस्ता लागु औषध प्रयोग गर्ने व्यक्तिका रूपमा पनि चिन्ने गरेका छन् । 

मस्कलाई यस्तो आरोप विभिन्न समयमा लाग्दै आएको छ । उनले धेरै समय यसको प्रतिवाद पनि गरिरहे । केही समय अघि त अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पेसएक्समा ड्रग प्रयोग भए/नभएको बारेमा अनुसन्धान समेत गरेको थियो । भलै त्यस अनुसन्धानबाट केही ठोस प्रमाण भने जुटेन । 

टेस्ला, स्पेसएक्स, एक्स, न्युरालिङ्क लगायतका बहुचर्चित कम्पनी चलाइरहेका उनले हालै भने डिप्रेसनका लागि केटमाइन लिइरहेको स्वीकारेका छन् । उनका अनुसार केटमाइनले उनलाई आफ्ना कम्पनीहरू राम्रोसँग चलाउन मद्दत गर्ने गर्छ ।


उत्पादकत्वलाई बढाउन ड्रग्ससँग नजिकिरहेको विषय यदि साँचो हो भने यसले वास्तवमै नयाँ ढर्रा तयार पार्ने निश्चित छ । किनकी मस्क ड्रग्सले काम राम्ररी गर्न मद्दत गर्छ भन्ने सोच राख्छन् । यद्यपि यो सोच सकारात्मक छैन । तर यस्तो सोच्नेमा मस्क एक जना मात्र होइनन् । अहिले धेरैले सोच्न थालेका छन् कि राम्रोसँग काम गर्न ड्रग्सले सहयोग गर्छ ।


अहिले आफ्नो कार्यसम्पादनमा सुधार ल्याउन धेरै प्रोफेसनल (पेसाकर्मी) ले एलएसडी, साइलोसिबिन र केटमाइन जस्ता लागु पदार्थ प्रयोग गरिरहेका छन् । उत्पादनशील र रचनात्मक हुन तथा ह्याङ्गओभरबाट मुक्त हुन केही स्टार्टअपमा लागिरहेकाहरूले समेत म्याजिक मसरुम प्रयोग गरिरहेका छन् । 

अझ केही कार्यकारीहरू लक्जरी साइकेडेलिक रिट्रिटहरूमा पनि भाग लिइरहेका छन् । त्यस्ता कार्यक्रमका क्रममा उनीहरू केही दिन जंगलमा घुम्न निस्किन्छन् । त्यसबाट सोच्ने क्षमता विस्तार हुने र प्रतिफल स्वरूप आफ्नो व्यापारमा सुधार गर्न सकिने उनीहरूले सोचेका हुन्छन् । यिनै कारण अहिले साइकेडेलिक्सको बजार उकालो लागिरहेको छ । र सन् २०२७ भित्रै यसको बजार आकार ११ अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ ।

समाजमा लागु पदार्थलाई प्राय: नकारात्मक सोचाइले हेर्ने गरिन्छ । जुन सोच अहिले पनि कायमै छ । सफलताका लागि लागु पदार्थ बाधक भएको बुझाइलाई अलि मत्थर पार्न कहिल्ये काँही विशेष चाडमा भने रमाइलोका लागि यसलाई लिने चलन छ । अब विश्वमा लागु पदार्थको प्रयोग यतिमा नरोकिने पूर्वानुमान भइरहेका छन् । 

यसको कारण कामको उत्पादकत्व बढाउने सहयोगी उपकरणका रूपमा यसलाई लिन थाल्नु हो । अधिक उत्पादक हुन र आफ्नो करियर अगाडि बढाउन लागु पदार्थ लिने प्रयोग शनैःशनै: बढिरहेको छ । जुन विश्वका ठुला कम्पनीहरूबाटै सुरु भइसकेको छ ।

बिजनेस इन्साइडरका अनुसार टेक्सास विश्वविद्यालयको सेन्टर फर साइकेडेलिक रिसर्च एन्ड थेरापीका सहनिर्देशक ग्रेग फोन्जो धेरैजसो लागु पदार्थ विशुद्ध नकारात्मक नहुने तर्क गर्छन् । लागु पदार्थलाई नकारात्मकबाट सकारात्मक रूपमा हेर्ने दृष्टिकोण विकास हुनु असामान्य नभएको उनको बुझाइ छ । 

“कुनै पनि चिजबारे मानिसहरूले आफ्नो धारणा परिवर्तन गरिरहेका हुन्छन् ।  मानिसले उही चिजलाई कहिले नराम्रो सोच्छ भने कहिले राम्रो मानेर सोचिरहेको हुन्छ । तर वास्तवमा सत्य यी कुराको बीचमा हुने गर्छ । कुनै पनि ड्रग्स सबैका लागि राम्रो हुँदैन । तर सबै ड्रग्स खराब पनि हुँदैनन्,”  उनी भन्छन् ।

माइक्रोडोजिङः जसको अर्थ लागु औषधको कूल मात्राको थोरै भाग लिनु भन्ने हुन्छ । अहिले धेरै परिवार र कार्यालयमा काम गर्नेहरूका बीचमा माइक्रोडोजिङ लोकप्रिय प्रवृत्ति बन्दै गइरहेको छ । त्यस्ता मानिसहरू भन्छन् कि यसले रचनात्मकता, उत्पादकता र काममा राम्रो महसुस गराउँछ । वैज्ञानिक रूपमा भने यसको कथाव्यथा अलि भिन्न छ ।

माइक्रोडोजिङको असर के कस्तो हुन्छ भनेर ठ्याक्कै भन्नका लागि भने यसमा पर्याप्त अनुसन्धान नभएको विज्ञहरू बताउँछन् । यहाँसम्म की माइक्रोडोजिङले वास्तवमा काम गर्छ कि गर्दैन भनेर वैज्ञानिकहरू अझै निश्चिन्त छैनन् । 

सेन्टर अफ एक्सिलेन्स फर साइलोसिबिन रिसर्च एण्ड ट्रिटमेन्ट शेपर्ड प्राटका वरिष्ठ अनुसन्धानकर्ता म्याथ्यु जोनसन माइक्रोडोजिङले कसरी काम गर्छ भन्ने कुरामा वैज्ञानिक निर्णय अझै बाहिर नआएको बताउँछन् । उनका अनुसार यस विषयमा धेरै अनुसन्धान भएको छैन । 

“सर्वेक्षणहरूमा सहभागी हुँदा धेरैले काम सुधार गर्न र चिन्ता कम गर्न माइक्रोडोजिङले सहयोग गर्छ भन्ने गर्छन् । केही प्लेसबो-कन्ट्रोल्ड ट्रायलले भने वास्तवमा माइक्रोडोजिङले काम नगर्ने देखाएको छ,” उनी भन्छन्, “माइक्रोडोजिङ एउटा विज्ञान हो । अहिले वास्तवमै के भइरहेको छ भन्ने थाहा छैन ।” 

सैद्धान्तिक रूपमा माइक्रोडोजिङ अवधारणा पूर्ण छैन । आराम गर्न एक गिलास वाइन पिउनु वा फ्रेश हुन एक कप कफी पिउनु जस्तो माइक्रोडोजिङ होइन । ती दुवै क्रियामा तुरुन्तै नतिजा देखिन्छ । त्यसको साटो थाहा नपाउने तरिकामा लाग्ने गरी लागु पदार्थको थोरै मात्रा लिनु हो । ताकि लामो समयसम्ममा त्यसले फाइदा देओस् । 

तर कहिलेकाँही मानिसहरूले माइक्रोडोजिङको नाममा ठिक मात्रा नलिन सक्छन् । जसको असर बढी देखिन पनि सक्छ । किनकी त्यस्ता लागु पदार्थको मापन गर्नै गाह्रो छ । कार्यालयमा लागु पदार्थको बढी मात्रा लिँदा कस्तो हुन्छ भनेर मानिसले शेयर गरेको कथा अहिले अनलाइनमा छ्यापछ्याप्ती भेटिन्छन् ।

“केही मसरुममा बढी ड्राग्स हुन्छ त केही कम । यदि तपाईंले बढी ड्रग्स लिनु भएको मसरुम दिनु भयो भने अद्भुत अनुभव गर्न सक्नुहुन्छ । तर यो कुरा दिनमा तपाईंले के गरिरहनु भएको छ भन्ने कुरामा भर पर्छ,” न्यु योर्कमा क्लिनिकल थेरापिस्टका रूपमा काम गरिरहेकी क्याट्रिना मिशेल बताउँछिन् ।


त्यस्तै काममा सुधार ल्याउन भनेर कतिपयले म्याक्रोडोजबाट अलि माथि उठेर साइकेडेलिक्सको पनि सहारा लिन थालेका छन् । केही कर्पोरेटका प्रमुखहरूले आफ्नो नेतृत्व सीप निखार्न, धारणा परिवर्तन गर्न, त कतिपय अवस्थामा सामूहिक काममा सुधार ल्याउन साइकेडेलिक रिट्रिट खोजिरहेको बताउने गरिन्छ ।

त्यस्ता रिट्रिट गर्ने जर्निमेन कलेक्टिभ कम्पनीका सहसंस्थापकहरू रोब ग्रोभर र ग्यारी लोगा धेरै कम्पनीका प्रमुख कार्यकारी, उद्यमी र नेताहरूलाई सेवा गरेको बताउँछन् । उनीहरू म्याजिक मसरुमको रिट्रिटले व्यापार व्यवसायलाई अझ बढी सचेत र सजग बनाएर सञ्चालन गर्न सहयोग गर्ने तर्क गर्छन् ।

“जब नेताहरू रिट्रिटका कारण सचेत हुन्छन्, आफ्नो वरपर के भइरहेको छ भनेर उनीहरूले थाहा पाउँछन् । त्यसले उनीहरूलाई आफ्नो विचारमा स्पष्ट हुन, रचनात्मक हुन सहयोग गर्छ । नतिजा स्वरूप उनीहरूले अझ प्रभावकारी तरिकामा नेतृत्व गर्न सक्छन्," ग्रोभर भन्छन् ।

उनीहरूले दिने त्यस्ता रिट्रिटको शुल्क प्रति व्यक्ति १५ हजार डलरसम्म पर्न सक्छ । यदि कसैले त्यति रकम तिर्न तयार भए उनीहरूले चार महिना भित्रमा आफ्नो काम सम्पन्न गरिसक्छन् । जसमा सुरुको एक महिना दुई दिने रिट्रिटको लागि तयारी गर्न र त्यसपछि बाँकी रहेको तीन महिना फलोअपको समय हुन्छ ।

‍ग्रोभर र ‍लोगाको कम्पनीले दिने त्यस्ता रिट्रिट सुन्नमा जति रमाइलो छ, नतिजा आउँछ भन्नेमा त्यति नै ग्यारेन्टी भने छैन । किनकी त्यस्ता रिट्रिटले कतिपयलाई आफ्नो पहिलेको कामदेखि घृणा लाग्न सक्छ भने केही फेरि काममै फर्किन सक्छन् । तर क्लिनिकल थेरापिस्ट मिशेल भने ती ड्रग्सबाट ध्यान केन्द्रित हुने अपेक्षा राख्न नहुने तर्क गर्छिन् । तिनले मानसिक स्वास्थ्यलाई कसरी असर गर्छ भन्न नसकिने उनको भनाइ छ । यसकारण त्यस्ता ड्रग्सबाट ग्यारेन्टी नहुने धारणा हो ।

केही कार्यकारीहरू त्यस्ता रिट्रिटले आफ्ना सहकर्मी तथा साथीभाइसँगको सम्बन्ध राम्रो हुने र त्यसले अन्तत: व्यापारमा सहयोग गर्ने बताउँछन्  । तर त्यसरी सामूहिक रिट्रिट गर्दा ठ्याक्कै सोचे जस्तो भने नहुन सक्छ । यो निकै जटिल कार्यक्रम हो । 

किनकी त्यस्ता रिट्रिटले कहिल्यैकाँही व्यक्तिगत सम्बन्धमा पनि असर पार्न सक्छ । त्यसो हुँदा काम सुधार नहुने, बरु पुरै लथालिङ्ग हुने गर्छ । किनकी आफ्नो हाकिमसँग बसेर ड्रग्स लिनु एक प्रकारको दबाब पनि हो । 

मस्ककै नजिकका बोर्ड डाइरेक्टरहरूले केही पटक उनले जबरजस्ती आफूसँग ड्रग्स लिन लगाएको आरोप लगाउने गरेका छन् । त्यस हिसाबमा कामका लागि ड्रग्स लिनु राम्रो वातावरण भने होइन ।

माइकोमेडिटेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जस्टिन टाउनसेन्ड रिट्रिट सेवाका लागि साढे छ हजार डलरदेखि २३ हजार डलरसम्म शुल्क लिने बताउँछन् । उनी स्वयं त्यस्ता रिट्रिट गर्नु अघि सहज हुन पर्ने बताउँछन् । यदि कुनै कम्पनीले पाँच जना कार्यकारीलाई त्यस्ता पार्टीमा सहभागी गराउन चाहेको खण्डमा सही तरिकाले काम गरिएन भने गाह्रो हुने उनको भनाइ छ ।

“साइकेडेलिक रिट्रिटका क्रममा अति नजिकका सहकर्मीहरूले पनि आफ्ना वास्तविक भावनाहरू लुकाउन सक्दैनन् । जुन कार्यक्रम सबैको हकमा सही नहुन सक्छ,” उनी भन्छन् ।


यदि कार्यालयमा मालिकले ड्रग रिट्रlटमा जाने बारेमा सोध्छन् भने त्यसमा जानु नराम्रो भएको उनी बताउँछन् । तर त्यसअघि सुरक्षा, कानूनी विषय लगायतका आवश्यक विषय सोध्नु पर्ने उनको भनाइ छ । साथै  यदि उक्त रिट्रिट आफू अनुकुल भए ‘हुँदैन’ पनि भन्नु पर्ने उनको सुझाव छ ।

काममा प्रदर्शन बढाउनु र सामाजिकीकरण हुनुको दबाब नयाँ भने होइन । मानिसहरूले सधैं आफ्नो कामको प्रदर्शन बढाउन विभिन्न उपाय खोजिरहेका हुन्छन् । चाहे कफी खाने बहानामा होस् वा गैरकानूनी तरिकाले लागु पदार्थ लिने ।

यसबाहेक कार्यालयमा लागु पदार्थ प्रयोग गर्दा सामाजिक/आर्थिक दबाब पनि हुने गर्छ । गाँजा प्रयोग गर्नुलाई धेरै ठाउँमा साइलोसाइबिन भन्दा बढी अपराध मानिएको छ । साथै कामको सिलसिलामा धूम्रपान गर्दा समेत जागिर जाने सम्भावना हुन्छ ।

गत २०२१ मा दुई अर्ब डलर भन्दा बढी मूल्याङ्कन गरिएको एउटा अमेरिकी स्टार्टअपका सीईओले कम्पनीमा एलएसडीको माइक्रोडोज प्रयोग गरेको पाइएपछि जागिरबाट उनलाई हटाइएको थियो । त्यस अर्थमा कुनै प्रकारका लागु पदार्थ प्रयोग गर्नु गैरकानूनी हो र जोखिम पनि उत्तिकै छ ।

वरिष्ठ अनुसन्धानकर्ता जोनसन त्यस्ता रिट्रिटको विभिन्न प्रकारका जोखिम नबुझ्नु प्रमुख चिन्ताको विषय भएको बताउँछन् । तर ती जोखिम बेवास्ता गर्दै अहिले केही कम्पनीहरूले कार्य सम्पादन राम्रो गर्न भन्दै विभिन्न प्रकारका लागु पदार्थ प्रयोग गरिरहेकोमा कुनै सन्देह छैन । 

जसमा एलन मस्कले सञ्चालन गरिरहेका कम्पनीका धेरै कार्यकारी र कर्मचारीहरू पनि पर्छन् । माइकोमेडिटेसनका ‍सीईओ टाउनसेन्ड व्यंग्य गर्दै आफूलाई केही दिन मात्र दिए मस्कलाई नयाँ मान्छे बनाइदिने बताउँछन् ।

पछिल्लो अध्यावधिक: चैत १२, २०८० १८:३३