close

कम चर्चित, तर बढी जरुरी गुगलका ५ टुल

गणेश सुवेदी गणेश सुवेदी

चैत १३, २०८० १३:५४

कम चर्चित, तर बढी जरुरी गुगलका ५ टुल

काठमाडौं । गुगल इन्टरनेटकै सबैभन्दा शक्तिशाली सर्च इन्जिन हो । तपाईँका हरेक जिज्ञासा र प्रश्नको जवाफ गुगलमा पाउन सक्नु हुन्छ । प्रविधिको तीव्र विकाससँगै मानिसका आवश्यकताहरू पनि बढिरहेका छन् । जसलाई ध्यानमा राखेर गुगलले आफ्नो सर्च इन्जिनसँगै अन्य विभिन्न उत्पादन जस्तो कि युट्युब, गुगल क्रोम, ड्राइभ, गुगल फोटोजमा पनि सञ्चालन गरिरहेको छ । 

यी गुगल एप प्रयोगकर्ताबीच निकै चर्चित छन् । तपाईंले पनि गुगलका अन्य धेरै उपयोगी एप आफ्नो दैनिक जीवनलाई सहज बनाउनका लागि प्रयोग गरिरहनु भएको होला । यी केही चर्चित एपसहित गुगलका अन्य ७५ एपहरू सञ्चालनमा छन्, जुन हाम्रो दैनिकीको लागि निकै उपयोगी छन् । 

आज हामी यस्तै गुगलका अन्य केही प्रोडक्टहरुको बारेमा कुरा गर्नेछौं, जसलाई हामीले धेरै प्रयोग नगरेका हुन सक्छौं, तर हाम्रो दैनिक जीवनमा उपयोगी हुन सक्छन्: 

१. गुगल अर्थ

गुगलले विकास गरेको भर्चुअल ग्लोब वा म्यापिङ सफ्टवेयर हो, गुगल अर्थ । जसको मद्दतले आफ्नो मोबाइल वा कम्प्युटर स्क्रिनबाट विश्व हेर्न सकिन्छ भन्दा फरक नपर्ला । सामान्य भाषामा भन्नुपर्दा गुगल अर्थ तपाईं हामीले स्कुल पढ्दा देखेको विश्वमानचित्र अथवा ग्लोबको एउटा डिजिटल स्वरूप हो । जसमा किताबको तुलनामा अथाह विवरण हेर्न पाइन्छ । यसमा स्याटलाइट इमेजरी, एरियल फोटोग्राफी तथा विभिन्न भौगोलिक डेटाहरूलाई समावेश गरिएकाले यसले वास्तविक जस्तै देखिने गरी नतिजा दिन्छ । 

यसले थ्रिडी भ्यु दिने भएकाले विद्यार्थीलाई पढाउन अथवा वैज्ञानिक अनुसन्धान गर्न यो टुल निकै सहयोगी छ । यसबाट आफूले हेर्न चाहेका ठाँउहरू मजाले हेर्न सकिन्छ । साथै कुनै दुई सहर वा देशबीचको दूरी हेर्न वा कुनै क्षेत्रलाई छनोट गर्न पनि यो एप प्रयोग गर्न सकिन्छ । 

एपसँगै सम्बन्धित ‍गुगलको अर्को टुल स्ट्रिट भ्यु पनि छ, जसको सहायताबाट सहरको कुनै पनि गल्लीलाई मजाले नियाल्न सकिन्छ । स्ट्रिट भ्युमार्फत सहरमा भएका ग्राउन्ड, पार्क, बिल्डिङ जस्ता स-साना विवरण राम्रोसँग हेर्न सकिन्छ ।

 यदि तपाईं कुनै नयाँ सहर घुम्न जादैँ हुनुहुन्छ वा कुनै नचिनेको स्थानमा जानुपर्ने छ भने ‘स्ट्रिट भ्यु’ले तपाईंलाई धेरै नै मद्दत गर्नसक्छ ।  

२. रिमोट डेस्कटप

रिमोट डेस्कटप गुगलले विकास गरेको यस्तो टुल हो, जसको सहायताले तपाईंले भौतिक रूपमा उपस्थित नभईकनै कसैलाई कम्प्युटरबाट गरिने काममा सहयोग गर्न सक्नुहुन्छ । यसका लागि गुगलमा गएर रिमोट डेस्कटप सर्च गर्नुभयो भने क्रोम रिमोट डेस्कटप भन्ने देखिन्छ ।

त्यसमा क्लिक गर्दा अर्को वेब एप खुल्छ । जहाँबाट एउटा रिमोट डेस्कटपको एक्सटेन्सन र एप डाउनलोड गरेर इन्स्टल गरिसकेपछि सेटअप पूरा हुन्छ । यसरी तपाईंले दुई ओटा कम्प्युटरमा एउटै ईमेल राख्नुभएको छ भने सजिलै अर्को कम्प्युटरमा पहुँच पाउन पनि सक्नुहुन्छ । तर अन्य कसैलाई सहायता दिन खोज्दै हुनुहुन्छ भने रिमोट सपोर्टमा गएर ‘शेयर दिस् स्क्रिन’मा रहेको ‘जेनेरेट कोड’ मा क्लिक गर्नुपर्ने हुन्छ । यहाँ क्लिक गरिसकेपछि एउटा कोड तयार हुन्छ ।

जसलाई शेयर गरेर सजिलै तपाईंले अरूको सहयोग लिन सक्नुहुन्छ । अरूलाई सहयोग गर्नु छ भने स्क्रिनको तल देखिने ‘कनेक्ट टु एनदर कम्प्युटर’ मा शेयर गरेको एक्सेस कोड राखेर सजिलै पहुँच पाउन सक्नुहुन्छ । यसरी एक्सेस गर्दा एप इन्स्टल/अनइन्स्टल तथा एड्मिनिस्ट्रेटिभ पर्मिसन चाहिने कामहरू भने गर्न सकिदैंन । जुन एक हिसाबले राम्रो कुरा पनि हो । 

कम्प्युटरलाई भार पर्ने गह्रौं काम रिमोट्ली गर्दा केही ल्याग भएको जस्तो महसुस हुन्छ । तर यो भन्दा छिटो चाहिएमा उस्तै काममा प्रयोग हुने प्रिमियम टुल टिम भ्युअर र एनिडेस्क पनि प्रयोग गर्न सक्नुहुनेछ ।

३. स्नापसिड 

गुगलले विकास गरेको निःशुल्क फोटो एडिटिङ टुल हो, स्नापसिड । यो एन्ड्रोइडका साथै आईओएसका लागि पनि उपलब्ध छ । यसमा फोटो एडिटिङका लागि थुप्रै टुलहरू दिइएका छन् ।  

एप भित्र स्टाइलमा विभिन्न फिल्टरहरू दिइएका छन् । फोटोलाई थोरै इन्ह्यान्स गर्न यी फिचर नै काफी छन् । तर प्रोफेसनल तहको एडिटिङ गर्न टुलमा जानुपर्ने हुन्छ । यसमा विभिन्न टुल रहेका छन् । कुनै नचाहिने वस्तुलाई फोटोबाट हटाउन हिलिङ टुल, फोटोको कुनै भागको स्याचुरेसन, एक्सपोजर, टेम्प्रेचर मिलाउन ब्रस टुल पनि दिइएको छ । 

ट्युन इमेज भन्ने टुलबाट फोटोको हाइलाइट, स्याडो, एम्बियन्स, ब्राइटनेस, कन्ट्रान्स्ट जस्ता कुरा मिलाउन पनि सकिन्छ । यसबाट अन्य थुप्रै टुल पनि यहाँ देख्न सकिन्छ । जसले फोटोलाई प्रोफेसनल बनाउन मद्दत गर्छ । एडिट गरिसकेपछि फोटोमा लामो समय दबाउने हो भने पहिला कस्तो थियो र अहिले कस्तो भयो भनेर हेर्न सकिन्छ । फोटोशप जस्तो एडभान्स त यो टुल छैन, तैपनि मोबाइलबाट सामान्य फोटो एडिट गर्न चाहिं यो टुल पर्याप्त नै हुन्छ ।

४. स्कलर 

गुगलले विद्यार्थी, अनुसन्धानकर्तालाई लक्षित गरेर ल्याएको टुल हो, स्कलर । विशेष गरी स्नातक तह भन्दा माथि अध्ययन गरिरहेका विद्यार्थीहरू, जसले परियोजना वा अनुसन्धान गर्नुपर्ने हुन्छ, उनीहरूका लागि यो टुल निकै नै उपयोगी साबित हुन सक्छ । 

कलेजले दिने प्रोजेक्ट होस् वा रिसर्च पेपर अथवा थेसिस नै किन नहोस्, यो टुल तपाईंका लागि उपयोगी हुन्छ । गुगल स्कलरमा विभिन्न विषयका विज्ञहरू, वैज्ञानिक, अनुसन्धानकर्ताहरूले  विभिन्न विषयमा लेखेका लेख, जर्नल भेट्न सकिन्छ । जसलाई तपाईंले सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सक्नुहुन्छ । साथै तपाईंले यहाँबाट साइटेसन पनि गर्न सक्नुहुन्छ ।

यसबाहेक तपाईं नयाँ रिसर्चर हुनुहुन्छ र स्कलरमा साइन इन गर्नुभएको छ भने आफ्नो रिसर्च टपिकसँग मिल्ने आर्टिकल आउँदा तपाईंले ईमेलमा सूचना पनि पाउन सक्नुहुन्छ । यसरी प्रोफाइल बनाएर तपाईंले आफ्नो रिसर्च आउटपुट राख्न पनि सक्नुहुन्छ ।

५. जेमिनाई

जेमिनाई, पछिल्लो समयमा तपाईंले यो नाम निकै सुन्नु भएको होला । तपाईं मध्ये कतिले यो टुल प्रयोग पनि गरिरहनु भएको होला । जेमिनाई गुगलको एआई टुल हो । जसलाई भारी मात्राको डेटाबाट तालिम दिइएको छ । 

यो च्याटजीपीटी, कोपाइलट जस्तै टुल हो । जसबाट हामीले हाम्रो दैनिक जीवनमा आइपर्ने समस्याहरूको समाधान खोज्न सक्छौं । अथवा हामीलाई थाहा नभएका धेरै कुराहरू सिक्न सक्छौं । आफ्नो दैनिक रुटिन बनाउन, फिटनेसको योजना बनाउन, बजेट प्लानिङ गर्न, परीक्षाको तयारी गर्न लगायत अन्य विविध कामहरूको लागि यो टुल सहयोगी हुन सक्छ । 

यदि तपाईं कन्टेन्ट क्रियटर हुनुहुन्छ भने ब्रेनस्ट्रोमिङ अर्थात् बौद्धिक अभ्यास गर्न पनि यसको मद्दत लिन सक्नुहुन्छ । यति मात्र नभई यसले कविता, कथा लेख्न, ईमेल लेख्न वा कुनै मेसेजको रिप्लाई गर्न पनि सहयोग गर्छ । तथ्यको सन्दर्भमा भने यो अझै पनि विकासको चरणमा नै भएको हुँदा यसले दिने सबै विवरण सही नहुन पनि सक्छन् । हुन त यो समस्या अन्य च्याटबटमा पनि देख्न सकिन्छ ।   

पछिल्लो अध्यावधिक: चैत १३, २०८० १३:५७