close

१५ सेकेन्डको साउन्ड क्लिप पाए एआईले निकाल्न सक्छ तपाईंको नक्कली आवाज

टेकपाना टेकपाना

चैत १९, २०८० १५:३६

१५ सेकेन्डको साउन्ड क्लिप पाए एआईले निकाल्न सक्छ तपाईंको नक्कली आवाज

काठमाडौं । पछिल्लाे केही वर्षदेखि ओपनएआई जेनेरेटिभ एआईसम्बन्धी काममा सक्रिय छ । सबैभन्दा पहिले मानिसकै शैलीमा कुरा गर्न सक्ने च्याटबट सार्वजनिक गरेको कम्पनीले क्रमशः शब्दकै भरमा फोटो तयार पार्ने ड्याल-ई टुल ल्यायो । हालै मात्र कम्पनीले शब्दकै भरमा भिडिओ तयार पार्ने टुल ‘सोरा’ घोषणा गरेको छ । अहिले भने कम्पनीले १५ सेकेन्डको आवाजको भरमा दुरुस्तै आवाज तयार पार्ने टुल घोषणा गरेको छ । 

द भर्जका अनुसार अहिले कम्पनी केही सीमित प्रयोगकर्तामाझ ‘भ्वाइस इन्जिन’ परीक्षण गरिरहेको छ । यसका लागि कम्पनीले सन् २०२२ देखि नै तयारी थालेको थियो । तपाईंले च्याटजीपीटीको एप प्रयोग गर्दै आउनु भएको छ भने ‘भ्वाइस इन्जिन’को छनक त्यसमा पनि देख्न सक्नुहुन्छ ।

ओपन एआईका अनुसार तपाईंले उक्त टुललाई १५ सेकेन्डको स्याम्पल आवाज मार्पत तालिम दिनुपर्ने हुन्छ । त्यसपछि तपाईंले जुन शब्द पढ्न भन्नुहुन्छ त्यसपछि एआईले तपाईंकै आवाजमा उक्त शब्द पढिदिन्छ । कम्पनीले उक्त आवाज कुनै पनि कोणबाट एआईले तयार पारेको हो भन्ने नहुने कम्पनीको दाबी छ । यसलाई शैक्षिक प्रयोजनका लागि उपयोगी हुने कम्पनीले जनाएको छ ।

विशेषगरी पड्कास्ट अनुवाद गर्नका लागि पनि यो टुल प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । विशेषगरी विकट ठाउँका मानिसहरू अभ्यस्त भएको आवाजमा पड्कास्ट वा अन्य सामाग्री अनुवाद गर्ने र त्यसले सर्वसाधारणलाई समसामयिक विषय बुझ्न सघाउने कम्पनीले जनाएको छ । 

अहिले भने यो टुल सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउने छैनन् । तर, प्रयोगकर्ताले अहिले भ्वाइस इन्जिनले तयार पारेको स्याम्पल सुन्न सक्नेछन् । कम्पनीले आफ्नो साइटबाट भ्वाइस इन्जिनले तयार पारेका स्याम्पल सार्वजनिक गरेको छ । 

भ्वाइस इन्जिनका सकारात्मक पक्षको चर्चा चलिरहँदा यसबाट हुने अपराधका घटनाको विश्लेषण पनि भइरहेको छ । विशेषगरी अपरहण गरेको भन्दै फिरौती माग्ने किसिमका अपराधमा यसको दुरुपयोग हुने जोखिम उच्च भएको विश्लेषकले औंल्याएका छन् । यद्यपि यस्ता किसिमका अपराधमा यी टुल दुरुपयोग हुन नदिन के गर्न सकिन्छ भन्ने विषयमा खोज तथा अनुसन्धान गरिरहेको ओपन एआईले जनाएको छ । 

बेलायत र अमेरिकामा यो वर्ष निर्वाचन हुँदैछ । त्यसमा पनि ओपन एआईका टुलको दुरुपयोग हुने सम्भावना उच्च छ । त्यसैले यस्ता किसिमका घटनामा एआई टुल दुरुपयोग हुन नदिने कम्पनी के-कस्ता रणनीति अपनाउँछ हेर्न बाँकी छ ।

पछिल्लो अध्यावधिक: चैत १९, २०८० १५:३६