close

एसईई पछि सीटीईभीटी कोर्ष गर्न चाहुनुहुन्छ ? यस्ता छन् आईटीमा विकल्प

टेकपाना टेकपाना

बैशाख ५, २०८१ १५:५९

एसईई पछि सीटीईभीटी कोर्ष गर्न चाहुनुहुन्छ ? यस्ता छन् आईटीमा विकल्प

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) पछि आईटी पढ्न रुचि भएकालाई त्यति धेरै विकल्प छैन । कक्षा ११/१२ तथा ‘ए’ लेभलमा हुने ऐच्छिक कम्प्युटर र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का आईटी कोर्ष केही विकल्प हुन् ।

यीमध्ये सीटीईभीटीको प्राविधिक कोर्षमा भर्ना हुनु राम्रो विकल्प हो । ​सीटीईभीटीले कृषि, हस्पिटालिटी, स्वास्थ्य र इन्जिनियरिङ गरी चार विधामा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आईटीकाे पढाइ इन्जिनियरिङ अन्तर्गत हुन्छ । सीटीईभीटीले प्रि-डिप्लाेमा तथा डिप्लाेमा दुवै तहमा विभिन्न आईटी काेर्ष सञ्चालन गरिरहेको छ । 

प्रि-डिप्लाेमा तह १८ महिने काेर्ष हाे । यसमा १५  महिना पाठ्यक्रमकाे पढाइ र तीन महिना प्रयोगात्मक हुन्छ । प्रि-डिप्लोमा पढ्न एसईईमा जति प्राप्ताङ्क आए पनि फरक पर्दैन । डिप्लाेमा तह तीन वर्षको (६ सेमेस्टर) काेर्ष हाे । यसमा भएका कोर्ष अध्ययन गर्न भने एसईईमा न्यूनतम २.० जीपीए ल्याएको हुनुपर्छ । 

प्रि-डिप्लाेमा तह उत्तीर्ण गरेपछि स्नातक पढ्न पाइँदैन । त्यसका लागि विद्यार्थीले प्रि-डिप्लाेमा पढ्दै गर्दा नै कक्षा ११ र १२ पनि भर्ना हुनुपर्छ । तर, डिप्लाेमाका काेर्ष अध्ययन गरेपछि भने स्नातकमा सजिलै भर्ना पाइन्छ ।  

केके छन् आईटीका कोर्ष

सीटीईभीटीले विभिन्न प्राविधिक विषयहरू सञ्चालन गर्ने गर्छन् । तर आईटी कोर्षहरू भने त्यति धेरै छैनन् । प्रि-डिप्लाेमा तह (१८ महिने) मा कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन तथा सेक्रेटरियल म्यानेजमेन्टकाे पढाइ हुन्छ । 

डिप्लाेमा तह (तीन वर्षे) मा कम्प्युटर इन्जिनियरिङ र इन्फरमेसन टेक्नाेलाेजी (आईटी) पढाइ हुन्छ । यी काेर्ष देशभरका विभिन्न १०६ शैक्षिक संस्थामा सञ्चालन भइरहेको छ । जसमा सीटीईभीटीबाट सम्बन्धन तथा स्वीकृतिप्राप्त २३ विद्यालय, ११ आङ्गिक विद्यालय, प्राविधिक शिक्षा (टीईसीएस) मोडालिटी अन्तर्गत ६२ ओटा सामुदायिक विद्यालय  र साझेदारी (गाउँ/नगर) मोडालिटी अन्तर्गत १० शैक्षिक संस्था छन् ।

यद्यपि देशभर कूल एक हजार ११५ शैक्षिक संस्थामा सीटीईभीटीका अन्य काेर्षहरू समेत सञ्चालन भइरहेका छन् । त्यस्तै माथिका यी कोर्ष बाहेक अटाेमाेबाइल, आर्किटेक्चर, सिभिल, इलेक्ट्रिकल, मेकानिकल, जियाेम्याटिक इन्जिनियरिङ आदि पनि सीटीईभीटीले सञ्चालन गरिरहेको छ ।

सीटीईभीटी पछिको  भविष्य

विद्यार्थीमा प्राविधिक सीप विकास गरेर दक्ष जनशक्ति उत्पादन गर्नु सीटीईभीटीको उद्देश्य हो । यसकारण सीटीईभीटीका प्राविधिक कोर्षहरू उत्तीर्ण पछि विद्यार्थी सीपयुक्त हुन्छन् । डिप्लाेमा तह कक्षा १२ सरह हुने भएकाले लाेकसेवा अन्तर्गत प्राविधिकतर्फ नायब सुब्बासम्ममा भिड्न पाइन्छ । 

त्यसैगरी आफूले प्राविधिक ज्ञान लिएपछि स्वराेजगार हुने विकल्प त जहिल्यै खुला रहने नै भयो । थप उच्च शिक्षा अध्ययन गर्न मन लागे सजिलैसँग स्नातकमा भर्ना पाइन्छ । त्यस्तै डिप्लाेमा तह उत्तीर्ण गरेका विद्यार्थीले बीसीए, बीएससी आईटी, बीआईएम जस्ता आईटीसँग सम्बन्धित काेर्षहरूमा भर्ना हुन सक्छन् ।

छात्रवृत्ति र शुल्क

प्रि-डिप्लाेमा तह तथा डिप्लोमा तहका लागि सीटीईभीटीले प्रत्येक वर्ष विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिँदै आएकाे‍ छ । यसका लागि सीटीईभीटीले परीक्षा सञ्चालन गर्ने गर्छ । सामान्यतः सीटीईभीटीमा आईटी काेर्ष पढ्ने शिक्षण संस्था अनुसार ७५ हजारदेखि चार लाख रुपैयाँसम्म लाग्ने गर्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८१ १५:५९